श्रावण ३१, २०८३ आइतबार August 16, 2026

प्रधानमन्त्री-गृहमन्त्रीमाथि राजीनामाको दबाब

झण्डै दुई साताको अन्तरालमा बसेको प्रतिनिधिसभा बैठक फेरि पाँच दिनका लागि स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई पक्षबीचको झडपपछि उत्पन्न परिस्थितिले सरकारमाथि तीव्र दबाब परेको छ । मधेसमा भइरहेका पछिल्ला घटनालाई लिएर सरकारको आलोचना भइरहेको छ भने विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन् । विपक्षी दल नेकपा एमालेले सुनसरी घटनामा प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङको राजीनामा माग गरेको हो ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिएर प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्नुभएको हो । उहाँले काठमाडौंमा गोली चल्दा तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने र थुनामा बस्नुपर्ने हो भने सुनसरीमा गोली चल्दा अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने र थुनामा बस्नुपर्छ कि पर्दैन ? भनेर प्रश्न गर्नुभएको छ । अर्यालले भन्नुभयो, ‘काठमाडौंमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने र थुनामा बस्नुपर्ने तर अहिले सुनसरीमा गोली चल्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले थुनामा बस्नुपर्छ कि पर्दैन ? यो हाम्रो प्रश्न हो । यसमा नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? दंगा नियन्त्रण दमनले होइन, संवाद र विश्वासबाट हुनुपर्छ । शान्ति सुरक्षा कायम गर्न राज्य असफल भएको छ ।’

कप्तानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सुनसरीको कप्तानगञ्जमा भएको दुःखद घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस प्रमुख सचेतक वासना थापाले कप्तानगञ्जमा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको ज्यान गएको घटनाको सरकारले जिम्मा लिनुपर्ने बताउनुभएको हो । घटनामा दर्जनौँ नागरिक घाइते भएको र शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको टिप्पणी गर्दै प्रमुख सचेतक थापाले भन्नुभयो, ‘नागरिकको ज्यान जानेगरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? यसको जवाफ सरकारले सदनमा दिनुपर्छ । घटनाको निष्पक्ष र विश्वसनीय छानविन हुनुपर्छ र यसको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ ।’ प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि प्रश्न गर्दै थापाले भन्नुभयो, ‘हिजो आक्रोश पोख्ने प्रधानमन्त्री आज मौन हुनुहुन्छ, सदनमा आँसु झार्ने गृहमन्त्री पनि आज मौन हुनुहुन्छ । के सरकारले लगाएको कालो चस्माले मृत्यु र पीडाको रङ पनि फरक–फरक देख्छ ?’ नेतृत्व भनेको केवल प्रशासन चलाउनु मात्र नभई संकटका बेला राष्ट्रको मनोबल सम्हाल्नु र नागरिकको अभिभावक बन्नु पनि भएको उहाँले उल्लेख गर्नुभयो ।

‘जेन-जी’ आन्दोलनको नजिर प्रधानमन्त्री बालेन्द्रमा पनि लागू हुन्छ : महर

एमालेका प्रमुख सचेतक ऐन महरले सुनसरी घटनाको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताउनुभएको छ । सुनसरी घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ माग गर्दै महरले भन्नुभयो, ‘राज्यबाट गोली चलेको प्रधानमन्त्रीले आफैँ फेसबुकबाट स्वीकार्नुभएको छ । राज्यको सुरक्षा निकायबाट चलेको गोलीको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिने कि नलिने ? हिजो भदौ २३-२४ को घटनामा उहाँहरूले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई दोषी देखाउनुभयो । जेल हाल्ने कोसिस गर्नुभयो । यो घटनामा विगतको नजिरको कारणले प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन ? उहाँलाई प्रधानमन्त्री बनाएको अँध्यारो कोठामा बस्नका लागि हो ?’

बहुमतको दम्भ नदेखाउन सरकारलाई प्रचण्डको चेतावनी

विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमतको दम्भ र अहंकार नदेखाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई चेतावनी दिनुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्नुभएका संयोजक दाहालले प्रतिपक्षलाई अवमूल्यन गरेर अघि बढ्दा राष्ट्र अप्ठ्यारोमा पर्ने र त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिनुभएको हो । प्रधानमन्त्रीको कार्यशैली र प्रतिपक्षीप्रतिको दृष्टिकोणमाथि कडा टिप्पणी गर्दै दाहालले भन्नुभयो, ‘हामीसँग ठूलो अनुभव भएका नेता र बुद्धिजीवीहरू हुनुहुन्छ, संवाद गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई के कुराले रोकेको छ ? कतै उहाँभित्रको अहंकारले त संवाद रोकिएको होइन ? नेतृत्वले दम्भ पालेर मुलुक चल्दैन ।’ नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीमा संर्घषको इतिहास बुझेका र जटिल मोडमा समाधान निकाल्न सक्ने क्षमता भएका नेताहरू रहेको दाबी गर्दै दाहालले भन्नुभयो, ‘जति संवादबाट टाढा जानुहुन्छ र प्रतिपक्षीलाई अवमूल्यन गर्नुहुन्छ, त्यति नै राष्ट्र र हामी सबै अप्ठ्यारोमा पर्दै जानेछौँ । प्रतिपक्षलाई बेवास्ता गरेर अघि बढ्दा उत्पन्न हुने परिणामको जिम्मेवारी सरकारले लिनुपर्छ ।’ संख्या अस्थायी भए पनि राष्ट्रप्रतिको जिम्मेवारी र लोकतन्त्रप्रतिको निष्ठा स्थायी विषय भएको उहाँको भनाइ छ ।

देशको परिस्थिति सहज नभएको विश्लेषण

पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका नेकपाका संयोजक दाहालले देशको परिस्थिति सहज नभएको जिकिर गर्नुभएको छ । जनताले जसरी अभिमत प्रकट गरेका थिए, त्यसअनुरूप वर्तमान सरकारले काम गर्न नसकेको जिकिर गर्दै उहाँले भन्नुभयो, ‘अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैन । हामीले आफ्नो आफ्नो मत राखेका छौँ, यो राम्रो कुरा हो । गत निर्वाचनमा हामीले जसरी आफ्ना कुरा राख्यौँ, जनताले जसरी आफ्नो अभिमत प्रकट गरे । यसबीचका सरकारका क्रियाकलापले जनताको अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन । बरु दिन प्रतिदिन परिस्थिति अझै असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ ।’

रविको प्रशंसा गर्दै आरेनले भने- ‘देश चलाउन नसके बालेनले हात उठाए हुन्छ’

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले देश चलाउन नसके हात उठाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद राईले देश चलाउन नसके पदबाट राजीनामा दिन प्रधानमन्त्री शाहलाई सुझाव दिनुभएको हो । देशमा घटना भइरहेको समयमा प्रधानमन्त्री नदेखिएको टिप्पणी गर्नुभएका सांसद राईले काम गर्न नसके हात उठाउन सुझाव दिँदै भन्नुभयो, ‘सरकार कालो कोठाभित्र लुकेर चिह्याइरहेको छ । देश चलाउन नसक्ने हो भने हात उठाए हुन्छ । रास्वपामा १८२ सांसद छन्, कोही-कसैले देश लिड गरेर जाला ।’ सांसद राईले सुनसरीको कप्तानगञ्ज घटनाको विषयलाई लिएर सरकार लाचार बनिरहेको समयमा सर्वदलीय बैठकको पहल गरेको भन्दै रास्वपा सभापति रवि लामिछानेको प्रशंसासमेत गर्नुभयो ।

सुनसरीमा गोली कसले चलाएको हो जान्न पाउनुपर्छ : खुश्वु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटना र त्यसमा भएको मानवीय क्षतिको विषयमा सरकारसँग जवाफ माग गर्नुभएको छ । नागरिकको ज्यान जानेगरी सुनसरीमा भएको गोली प्रहारको घटनामा कसको संलग्नता र आदेश छ भन्ने कुरा सार्वजनिक हुनुपर्ने माग गर्दै सांसद ओलीले भन्नुभयो, ‘सुनसरीको कप्तानगञ्जमा गोली कसले चलाएको हो ? कसको आदेशमा नागरिकमाथि हतियार प्रहार भयो ? मेयरले बिजुली लाइन काटेपछि गोली चलेको भन्छन्, सिडियोले गोली चलाउने आदेश दिएको छैन भन्छन्, नेपाल प्रहरीले हवाई फायर मात्रै गरेको भनेको छ, त्यसो भए गोली कसरी चल्यो ? सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्छ ।’

रास्वपाकै सांसदले भने- ‘यो सरकारबाट परिवर्तन महसुस भएन’

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धिप्रसाद पन्तले सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउनुभएको छ । सांसद पन्तले जनआन्दोलनको जग र परिवर्तनको नारासहित गठन भएको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभएको हो । सरकारमा सहभागी दलकै सांसद भएर पनि आफूले परिवर्तनको कुनै ठोस अनुभूति गर्न नसकेको उल्लेख गर्दै सांसद पन्तले भन्नुभयो, ‘परिवर्तनको नारामा बनेको यो सरकारमा स्वयं मैले त परिवर्तन महसुस गर्न पाएको छैन भने आम जनताले कसरी परिवर्तनको अनुभूति गर्न पाउनु ? सरकारले जनचाहनाअनुसार आफ्नो कार्यशैलीमा सुधार ल्याउनुपर्छ ।’

संसद् बैठकमा प्रधानमन्त्री र गृहमन्त्री दुवै अनुपस्थित

दुई साता स्थगित भएर बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ दुवै अनुपस्थित भएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको सांसदहरूले खोजी गरेका थिए । कांग्रेसकी सांसद वासना थापाले एउटा नेपाली युवाको मृत्यु हुँदा संवेदनशीलता कहाँ हरायो ? भनेर प्रश्न गर्नुभयो । नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले पनि प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिप्रति प्रश्न उठाएका छन् ।

मधेसका रास्वपा सांसदहरूले उठाए गृहमन्त्रीको भूमिकामाथि प्रश्न

सत्तारूढ दल रास्वपाका मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूले गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि प्रश्न उठाएका छन् । सभापति रवि लामिछानेसँगको भेटमा मधेसका सांसदहरूले गृहमन्त्रीको शैलीप्रति गुनासो गरेका हुन् । सुनसरीबाट सुरु भएको पछिल्लो घटनाक्रममा गृहमन्त्री गुरुङले सम्बन्धित क्षेत्रका सांसदहरूसँग छलफलसमेत नगरेको उनीहरूको टिप्पणी छ । सभापति लामिछानेसँगको भेटमा सहभागी मधेसका एक सांसदले भने, ‘सुनसरीबाट सुरु भएको घटना अहिले मधेसमा फैलिएको छ । त्यहाँका जिल्लाका सांसदसँग गृहमन्त्रीले कुराकानी पनि गर्नुभएको छैन । सभापतिलाई गृहमन्त्रीप्रतिको आक्रोश राख्यौँ ।’ सभापति लामिछानेले पछिल्लो घटनामा संवदेनशील भएको बताउनुभएको छ । यसैबीच, झण्डै दुई साताको अन्तरालमा बसेको प्रतिनिधिसभा बैठक फेरि पाँच दिनका लागि स्थगित भएको छ । साउन १९ गते बस्नेगरी सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक स्थगित गर्नुभएको हो ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार