असोज ६, २०८३ मंगलबार September 22, 2026

पुँजी बजारको डाटा सेन्टरमा साइबर आक्रमण

आक्रमणकारीले डाटा नियन्त्रणमा लिने प्रयास गरे पनि हालसम्म कुनै पनि डाटा चोरी वा नोक्सान भने नभएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं  । नेपालको पुँजी बजारको पूर्वाधारमा एकपटक फेरि गम्भीर समस्या देखिएको छ । ७२ वटा ब्रोकर कम्पनीहरूको ट्रेड म्यानेजमेण्ट सिस्टम (टिएमएस) र सर्भर होस्ट गरिएको डाटा हब प्रालिमा र्‍यान्समवेयर (साइबर) आक्रमण भएको हो । डाटा हबमा साइबर आक्रमणपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबारको नियमित सेयर कारोबार पूर्णरूपमा स्थगित गर्नुपरेको हो । पूर्णतः विद्युतीय प्रणालीमा निर्भर भइसकेको देशको एक मात्र सेयर बजार डाटा सेन्टरमा आएको प्राविधिक समस्याका कारण बन्द नै गर्नुपरेको हो ।

थापाथलीस्थित शिखर बिज सेन्टरमा रहेको ‘डाटा हब प्रालि’ले ब्रोकर कम्पनीहरूलाई सर्भर तथा टिएमएस होस्टिङ सेवा प्रदान गर्दै आएको छ । डेटा हबका अनुसार असोज ४ गते बिहान करिब ५ः३० बजे टिएमएस होस्टिङ पूर्वाधारमा ‘र्‍यान्समवेयर’ आक्रमण भएको पुष्टि भएको थियो । र्‍यान्समवेयर एक प्रकारको घातक मालवेयर हो, जसले प्रणाली र डाटालाई लक गरी नियन्त्रणमा लिन्छ र पुनः पहुँचका लागि रकम माग गर्दछ ।

आक्रमणकारीले डाटा नियन्त्रणमा लिने प्रयास गरे पनि हालसम्म कुनै पनि डाटा चोरी वा नोक्सान भने नभएको दाबी गरिएको छ । ‘घटना हुनुअघि सम्पूर्ण पूर्वाधारको सबैभन्दा पछिल्लो ब्याकअप जेठ ४ गते बिहान ४ बजे लिइएको थियो, उक्त ब्याकअपलाई हामीले सुरक्षित गरी अलग्गै राखेका छौँ’ डेटा हबले भनेको छ ।

टिएमएस विकासकर्ता कम्पनी वाईको प्रालिलाई पत्राचार गर्दै डाटा हबले साइबर आक्रमण भएको जानकारी गराएको थियो । ब्रोकरहरूको प्रणाली नेप्सेको मुख्य कारोबार प्रणालीसँग प्रत्यक्ष जोडिएकाले उक्त मालवेयर नेप्सेको प्रणालीमा समेत फैलिन सक्ने उच्च जोखिम थियो ।

डेटा सेन्टरमा आइतबार बिहानदेखि आएको प्राविधिक समस्या समाधान नभएकाले कारोबार रोकिएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार यथास्थितिमा कारोबार सञ्चालन गर्दा कारोबार प्रणालीमा समेत क्षति पुग्नसक्ने देखिएकाले कारोबार नै स्थगित गरिएको हो । टिएमएस विकास वाईको प्राइभेट लिमिटेडले गरेको हो । ‘स्थगनका लागि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत निवेदन दिएको सन्दर्भमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार कारोबार स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ । यसअघि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत सोमबारको नियमित कारोबार सत्र स्थगित गरिदिन नेप्सेसमक्ष निवेदन दिएको थियो ।

डेटा हबका अनुसार आक्रमण हुनुभन्दा करिब डेढ घण्टाअघि अर्थात् असोज ४ गते बिहान ४ः०० बजेसम्मको सम्पूर्ण पछिल्लो ब्याकअप सुरक्षित र अलग (आइसोलेट) राखिएकाले मुख्य डेटा जोगिएको छ । टिएमएस प्रणाली नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा अन्य वित्तीय प्रणालीहरूसँग प्रत्यक्ष रूपमा जोडिएकाले अन्य सञ्जालमा फैलिन नदिन उच्च सतर्कता अपनाइएको कम्पनीले जनाएको छ ।

प्रणालीलाई पूर्णरूपमा क्लिन गरिसकिएको भए पनि पुनः अनलाइन ल्याउनुअघि शतप्रतिशत सुरक्षित छ/छैन भन्ने पुष्टि गर्न फरेन्सिक अनुसन्धान भइरहेको छ । फरेन्सिक जाँच र सुधारात्मक उपायहरू पूरा नभएसम्म बजार पुनः सञ्चालन गर्दा जोखिम कायमै रहने नेप्सेले जनाएको छ ।

एकाएक बजार बन्द हुँदा लगानीकर्ता आक्रोशित

करिब ८० लाख लगानीकर्ता र साढे ४५ खर्ब रुपैयाँ बराबरको बजार पुँजीकरण रहेको पुँजीबजार एकाएक ठप्प हुँदा लगानीकर्ताहरू भने आक्रोशित बनेका छन् । हरेक मिनेटको मूल्य उतारचढावका आधारमा खरिद-बिक्री योजना बनाउने लगानीकर्ताहरू पूर्वसूचनाबिनै बजार बन्द हुँदा आक्रोशित बनेका हुन् । नेप्सेले कारोबार स्थगनप्रति क्षमा मागेको छ । नेप्सेको सूचनामा समस्या समाधान हुन ठ्याक्कै कति समय लाग्छ वा आगामी कारोबार सत्र (मंगलबार) प्रभावित हुन्छ कि हुँदैन भन्ने खुलाइएको छैन । लगानीकर्ताहरूले बारम्बार सुरक्षित, आधुनिक र विश्वस्तरीय प्रविधि भित्र्याउन तथा प्रतिस्पर्धाका लागि नयाँ स्टक एक्सचेन्जको आवश्यकता रहेको औँल्याउँदै आएका छन् । घटनाबारे सम्बन्धित पक्षहरूसँग बुझ्ने र अध्ययन गर्ने काम भइरहेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताउनुभयो ।

नेपालको पुँजी बजारमा अनलाइन कारोबारको विस्तारसँगै प्रविधिमा निर्भरता तीव्र रूपमा बढेको छ । तर, सोमबारको घटनाले मुख्य प्रणालीमा समस्या आउँदा तत्काल सञ्चालनमा ल्याउन सकिने वैकल्पिक प्रणाली तथा ‘डिजास्टर रिकभरी’ संरचना व्यवहारमा कति प्रभावकारी छ भन्ने प्रश्न पुनः सतहमा ल्याएको छ । हाल नेपालको पुँजी बजारको आकार ४५ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको छ । हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया