असोज ४, २०८३ आइतबार September 20, 2026

झन्-झन् गिजोलिँदै संविधान संशोधनको बहस

राष्ट्रियसभामा शून्य रहेको रास्वपाले संविधान संशोधन गर्न कांग्रेस, एमाले र नेकपालगायत दललाई सँगै उभ्याउनुपर्ने चुनौती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संविधानको उमेर बढेसँगै संशोधनको बहस पनि चर्किँदै गएको छ । शनिबार संविधान दिवस मनाइरहँदा संशोधनको विषयले झन् चर्चा पाएको हो । उसो त संविधान बनेलगत्तै संशोधनको विषय उठ्दै आएको थियो । पछिल्ल्लो समय त झन् बहस संविधान संशोधन मात्रै होइन परिमार्जन वा पुनर्लेखन भन्नेतर्फ पनि मोडिएको छ । दलहरूले निर्वाचन प्रणालीको पुनरावलोकन, स्थानीय तहको संख्या कटौती, संवैधानिक निकायको औचित्य, न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबीचको शक्ति बाँडफाँट, नियन्त्रण र सन्तुलनका विषय संविधान संशोधन गरेर मिलाउनुपर्ने बताइरहेका छन् । गत २३-२४ भदौको ‘जेन-जी’ आन्दोलनपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाएको छ । तर, रास्वपाले राष्ट्रिय सहमति जुटाउनुको साटो अन्य दलहरूलाई पेलेर लैजाने नीति अवलम्बन गर्दा संविधान संशोधनको बहस गिजोलिएको छ । प्रतिनिधिसभामा झण्डै दुईतिहाइनजिक रहेको रास्वपा एक्लैले संविधान संशोधन गर्न भने सक्दैन ।

संविधान संशोधनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा बहुमत पुग्नुपर्ने हुन्छ । राष्ट्रियसभामा शून्य रहेको रास्वपाले संविधान संशोधन गर्न कांग्रेस, एमाले र नेकपालगायत दललाई सँगै उभ्याउनुपर्ने चुनौती छ । तर, दलहरूसँगको संवाद सघन हुनुभन्दा पनि आशंका बढेको छ । पुराना भनिएका दलहरूले सत्तारूढ रास्वपा र सरकार नै संविधानप्रति प्रतिबद्ध रहे/नरहेकामै प्रश्न उठाइरहेका छन् । यद्यपि, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भने दिवसका अवसरमा आयोजित कार्यक्रममा संविधानको अक्षर र भावनामा पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ ।

रास्वपाले बाचापत्रमै भनेको थियो- संविधान संशोधन गर्छौं । त्यही बाचापत्रअनुसार नै बालेन सरकारले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र कार्यदल नै बनाएको थियो । कार्यदलले विभिन्न चरणमा छलफल गरेर सरकारलाई प्रतिवेदन बुझाइसकेको छ ।

गत फागुन २१ को चुनावमा जाँदा कांग्रेस, एमाले, नेकपासहित सबैजसो दलहरूले संविधान संशोधनको एजेण्डा बनाएका थिए । तर, जब सरकारले संविधान संशोधनको मुद्दालाई औपचारिक बहसमा ल्यायो- हिजो संविधान संशोधन गर्नुपर्छ भनेका दलहरू नै ‘ब्याक’ भएर उल्टै शंका गरिरहेका छन् । २०७२ असोज ३ गते संविधानसभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । संविधान जारी भएको ११ वर्ष पूरा भएको छ । शनिबार देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको थियो ।

शहीदहरूको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौं : प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले संविधान जति नै राम्रो भए पनि त्यसलाई चलाउने हातहरू इमानदार भएनन् भने त्यो कागजको खोस्टोमै सीमित हुने बताउनुभएको छ । संविधान दिवसका अवसरमा शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार संविधानको अक्षर र भावना, दुवैप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको बताउनुभयो । आफूहरू पुरानो बाटो नहिँड्ने उहाँले बताउनुभयो । ‘संविधान जति राम्रो भए पनि, त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो कागजको खोस्टो बन्छ । यो संविधानको अक्षर र भावना, दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ,’ उहाँले भन्नुभयो, ‘म प्रष्ट भन्छुः यो सुरुवात हो, अन्त्य होइन । भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ । तर, त्यो जरो उखेल्ने हातहरू अब झन् बलिया छन्, झन् धेरै छन् । सुशासन नारा होइन, काम हो । र हामी काम गरिरहेका छौँ ।’

संविधान दिवस हरेक वर्ष आउने भए पनि संविधान पूरा हुने दिन आफैँले ल्याउनुपर्ने उहाँले बताउनुभयो । ‘संविधान जारी भएको दिन हरेक वर्ष आउँछ । तर, संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ’, उहाँले भन्नुभयो, ‘जनताले सुशासन मागेका छन्, विकास मागेका छन्, समृद्धि र सामाजिक न्याय मागेका छन् । यो सरकारको हरेक कदम त्यही आकांक्षातर्फ केन्द्रित छ र रहनेछ । यो संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्ण प्रतिबद्ध छौँ- म यो बाचा आज फेरि दोहोर्‍याउँछु । शहीदहरूको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौँ ।’

संविधानमै लेखिएको व्यवस्थाले समीक्षा मागेको छ : सभापति लामिछाने

रास्वपाका सभापति रवि लामिछानेले संविधानको समीक्षा गर्दा समाजको पिँधमा रहेका मानिसहरूलाई केन्द्रमा राखिनुपर्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा सभापति लामिछानेले जारी गरेको शुभकामना सन्देशमा उहाँले आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने कार्य अझै पूरा हुन नसकेको बताउनुभयो । ‘संविधानले परिकल्पना गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक यथार्थ बनेमा मात्र लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता सिद्ध हुनेछ’, उहाँले भन्नुभयो, ‘संविधानलाई जीवन्त दस्तावेज हो, राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा यसका अन्तर्वस्तु परिष्कृत र संशोधन हुनसक्छन् ।’ संविधानमै लेखिएको व्यवस्थाले समीक्षा मागेको उहाँको भनाइ थियो ।

संविधानका नाममा ध्रुवीकरण गर्नुहुँदैन : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालमा अब संविधानका नाममा कुनै पनि द्वन्द्व हुन नहुने बताउनुभएको छ । शनिबार काठमाडौं-३० को कांग्रेस वडा कार्यालय पुगेका थापाले संविधानमा आवश्यक संशोधन गर्न सकिने बताउनुभएको हो । अपरिपक्व ढंगले नभई सुझबुझका साथमा परिपक्व ढंगले संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने उहाँको भनाइ छ । ‘संविधान भनेको कमा, फुलिस्टप पनि परिवर्तन गर्नुहुँदैन भनेर अडिएर बस्ने कुरा पनि होइन । संविधानका आधारभूत कुराहरूलाई जोगाउने हो र हाम्रो अनुभवले जे कुरा सिकाएको छ, कतिपय कुराहरू बदल्नुपर्ने छ,’ उहाँले भन्नुभयो, ‘मैले पढेँ, सुनेँ संविधान बनाउने शक्तिहरू एकजुट हौँ भन्ने कुरा आइरहेको छ । हिजो हामी को–को मिलेर संविधान बनायौँ, संविधान बनाउने बेलामा हुँदै नभएको शक्तिलाई अलग गरौँ भन्ने कुरा पनि गर्नुहुँदैन । संविधानका नाममा ध्रुवीकरण गर्नुहुँदैन ।’ हिजो संविधान बनाउने एमाले, माओवादी, मधेस केन्द्रित दल मात्रै नभएर रास्वपासँग पनि मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

मुलुक जोगाउन संविधानका पक्षधरहरू एकताबद्ध हुनुपर्छ : अध्यक्ष ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्नुपर्नेमा जोड दिनुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना दिँदै उहाँले मुलुकलाई जोगाउन संविधानका पक्षधर शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको हो । संविधान निर्माणका कठिन घडी सामना गर्दै आफ्नो पार्टी नेतृत्वको सरकारले छोटो समयमै कानुन निर्माण तथा संरचनात्मक विकासमार्फत संविधान कार्यान्वयनको चरणमा लगेको उहाँले दाबी गर्नुभयो । ओलीले नेपाललाई कुबाटोमा धकेल्न विभिन्न प्रकारका शक्तिहरू सक्रिय रहेको आरोपसमेत लगाउनुभयो । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमामा उहाँले भन्नुभयो, ‘केही नेपाललाई कुबाटोमा धकेल्न विभिन्न प्रकारका शक्तिहरू सक्रिय छन् ।’

संविधानका अक्षर मात्र होइन, जनताको जीवनमा अनुभूत हुनेगरी कार्यान्वयन गर्नुपर्छ : संयोजक प्रचण्ड

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताउनुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना दिँदै उहाँले संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन पूरा गर्न सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताउनुभएको हो । संविधानका मूल्य र जनअधिकारलाई कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘राजनीतिक परिवर्तनलाई आर्थिक-सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘संविधानका अक्षर मात्र होइन, यसको आत्मालाई जनताको दैनिक जीवनमा अनुभूत हुनेगरी कार्यान्वयन गर्नुपर्छ ।’

संविधानको पूर्ण पालना र जवाफदेही प्रशासन आजको आवश्यकता : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जवाफदेही प्रशासन आजको आवश्यकता रहेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले निर्दिष्ट गरेका व्यवस्थाको पूर्ण परिपालनाबाट सुदृढ, सभ्य र जवाफदेही प्रशासन वर्तमान आवश्यकता रहेको बताउनुभएको हो । ‘आमनागरिकमा विधिको शासन प्रत्याभूत गर्न जरुरी छ । साथै, संविधानबाट प्राप्त अवसर र उपलब्धिहरू संरक्षण तथा संस्थागत गर्न एवं सुशासन र समृद्धितर्फ अगाडि बढ्न हामी सम्पूर्ण नेपालीहरूको साझा सहमति आजको आवश्यकता हो’, राष्ट्रपति पौडेलले भन्नुभएको छ । संविधानको पूर्ण कार्यान्वयन नै राष्ट्रिय संकल्प हुनुपर्ने उहाँले बताउनुभयो । हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया