असोज २, २०८३ शुक्रबार September 18, 2026

दुई हजारभन्दा बढी निजामती कर्मचारीको दरबन्दी कटौती

रक्षा मन्त्रालयमा साबिकमा ८३ वटा पद रहेकोमा १८ वटा दरबन्दी कटौती गरी ६५ पद कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज २ गते । सत्र वटा सङ्घीय मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्पन्न भएको छ । यो सर्वेक्षणले दुई हजार चार निजामती कर्मचारीको दरबन्दी कटौती हुने देखिएको छ । प्रारम्भिक विवरण अनुसार विशिष्ट श्रेणीका १० जना सचिव र ७२ सहसचिव गरी विभिन्न पदका निजामती कर्मचारीको दरबन्दी कटौती गरिएको हो । सरकारले प्रशासनिक सुधारमा मितव्ययिता कायम गर्दै कार्यसम्पादन प्रभावकारी बनाउने उद्देश्यले सबै सङ्घीय मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको छ ।

कुल अठार मन्त्रालयमध्ये परराष्ट्र मन्त्रालयको ओएनएम बाँकी छ । ओएनएम सम्पन्न भएका मन्त्रालयमा सचिवदेखि कार्यालय सहयोगीसम्म दुई हजार ४७९ कर्मचारीको दरबन्दी कटौती भएको राष्ट्रिय किताबखानाको तथ्याङ्कमा उल्लेख छ । परराष्ट्र मन्त्रालयको भने केही दरबन्दी मिलाउन बाँकी भएको बताइएको छ । ओएनएम गरिएका मन्त्रालयमा कुल १९ हजार ६४२ दरबन्दी रहेको थियो । त्यसलाई आवश्यकताका आधारमा विभिन्न पद थपघट गरी १७ हजार १६३ दरबन्दी कायम गरिएको छ ।

निजामती प्रशासनलाई चुस्त बनाउन सरकारले गत वैशाखमा नयाँ कार्यविभाजन नियमावली स्वीकृत गरी साबिक २१ वटा मन्त्रालयबाट घटाएर १८ वटा कायम गरेको थियो ।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा नै मन्त्रालयसहित विभाग, कार्यालय र दरबन्दी कटौती गरी निजामती प्रशासनलाई सक्षम र प्रभावकारी बनाउने उल्लेख गरेको थियो । किताबखानाका निर्देशक सुधन ख्वखलीले परराष्ट्र मन्त्रालयबाहेक अहिलेसम्म सत्र वटा मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न भई किताबखानामा अभिलेखीकरण भइसकेको बताउनुभयो । उहाँका अनुसार साबिकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा विभिन्न पदका गरी ९५२ दरबन्दी रहेकोमा दरबन्दी कटौती गरी हाल ९४९ दरबन्दी कायम गरिएको छ । त्यस्तै रक्षा मन्त्रालयमा साबिकमा ८३ वटा पद रहेकोमा १८ वटा दरबन्दी कटौती गरी ६५ पद कायम गरिएको छ ।

सबैभन्दा बढी दरबन्दी कटौती भएको मन्त्रालयमा कृषि, वन तथा पर्यावरण मन्त्रालय वा अन्तर्गतका निकायमा गरी दुई हजार १८७ दरबन्दी कटौती भएको छ । अब उक्त मन्त्रालय अन्तर्गत तीन हजार ७९२ दरबन्दी कायम गरिएको छ । उक्त मन्त्रालय अन्तर्गत साबिकमा छ हजार २४२ दरबन्दी कायम रहेका थिए ।  सरकारले यस अवधिमा प्रदेश र स्थानीय तहका समान प्रकृतिका कार्यालय र एउटै काममा दोहोरो र तेहोरोपना परेका कार्यालयलाई एउटै कार्यालयमा गाभेको थियो ।

कटौती सङ्घीयताको मर्म अनुसार  

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहालले सङ्घीयता कार्यान्वयनका क्रममा साबिक केन्द्र सरकारसँग रहेको अधिकार प्रदेश र स्थानीय तहमा गएकाले सरकारले सङ्घमा कर्मचारीको दरबन्दी घटाउँदै लगेको बताउनुभयो । सरकारले पटक पटक प्रतिफल नदिने तर कर्मचारीको तलब, सवारीसाधन र कार्यालयलगायतमा आर्थिक भार थपिरहेका संस्थान र कार्यालय खारेज गर्ने घोषणा गरेको थियो ।    गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया