काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यही असोज ३ र ४ गतेदेखि देशभरका ६ हजार ७४३ वडाबाट सुरु हुन लागेको महाधिवेशन प्रक्रियामार्फत पार्टीले आफ्नो तल्लो तहदेखि केन्द्रीय तहसम्म ठूलो संख्यामा नयाँ र युवा पुस्तालाई नेतृत्वमा स्थापित गराउने रणनीतिक योजना अगाडि बढाएको छ । पार्टीको परिमार्जित विधानले युवा सहभागितालाई अनिवार्य र वैधानिक रूपमा सुनिश्चित गरेपछि यसपटकको महाधिवेशनप्रति युवा नेता तथा कार्यकर्तामा व्यापक उत्साह देखिएको छ । असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने १५औँ केन्द्रीय महाधिवेशनमा सहभागी हुने करिब सात हजार प्रतिनिधिमध्ये ३५ वर्षमुनिका युवाहरूको संख्या मात्रै करिब पाँच सयको हाराहारीमा हुने भएको छ ।
नेपाली कांग्रेसको विधान (एघारौँ संशोधन) २०१७ को दफा ११ को उपदफा २ मा महाधिवेशन प्रतिनिधिसम्बन्धी विशेष व्यवस्था गरिएको छ । जसअनुसार प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ कम्तीमा चार महिलासहित १४ जना, श्रमिक वा पेसागत क्षेत्रबाट दुईजना, अपांगता भएका व्यक्ति एकजना र समानुपातिक आधारमा १० जना प्रतिनिधि निर्वाचित हुनेछन् । यसका साथै विधानले ३५ वर्षमुनिका युवाका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित तीनजना प्रतिनिधि महाधिवेशनमा अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था गरेको छ ।
यस व्यवस्थाअनुसार देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट मात्रै ४९५ जना युवाहरू महाधिवेशन प्रतिनिधिका रूपमा केन्द्रीय तहको राजनीतिमा प्रवेश गर्नेछन् । जसमा १६५ जना महिलाको सहभागिता अनिवार्य गरिएको छ । यसबाहेक पार्टीको वडा तहदेखि जिल्ला कार्यसमितिसम्म ३० वर्षमुनिका युवाका लागि र प्रदेश समितिमा ३५ वर्षमुनिका युवाका लागि छुट्टै क्लस्टर बनाएर प्रतिनिधित्व अनिवार्य गरिएको छ । केन्द्रीय कार्यसमितिमा समेत ३५ वर्षमुनिका युवाको सिट विधानबाटै सुरक्षित गरिएको छ । परिमार्जित विधानले एकातिर पुराना र अनुभवी नेताहरूको मार्गदर्शन र अर्कातिर नयाँ पुस्ताको जोसलाई जोडेर पार्टीलाई नयाँ दिशामा लैजाने ऐतिहासिक अवसर दिएको छ ।
साढे तीन लाख नयाँ नेतृत्व चुनिँदै
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार यस पटकको अधिवेशनबाट वडादेखि प्रदेश तहसम्म गरी कुल तीन लाख ३५ हजार ५८ जना निर्वाचित नेतृत्व चयन हुँदै छन् । देशभरका ६ हजार ७४३ वडामा दुई लाख ९६ हजार ६९२ जना, ७५३ स्थानीय तहमा १० हजार ५४२ जना, ३३० प्रदेशसभा क्षेत्रमा १५ हजार १८० जना र १६५ प्रतिनिधिसभा क्षेत्रमा नौ हजार ७५ जना नेतृत्वमा आउनेछन् । यस्तै, जिल्ला कार्यसमितिमा एक हजार ३८६ जना, सातै प्रदेश कार्यसमितिमा २०३ जना र महासमिति सदस्यका रूपमा एक हजार ९८० जना निर्वाचित हुनेछन् ।
निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र पारदर्शी बनाउन केन्द्रीय निर्वाचन समितिले देशभर नौ हजार ९४ जना निर्वाचन अधिकृत र मतदान अधिकृतहरू परिचालन गरेको छ । केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवाल र सदस्य राजु नेपालका अनुसार रसुवा, नुवाकोट र धादिङ बाहेकका ७४ जिल्लामा निर्वाचनका सामग्री र प्रक्रिया सुरु भइसकेका छन् । पार्टीमा हालसम्म आठ लाख ७० हजार क्रियाशील सदस्यहरूको नामावली दर्ता भइसकेको छ ।
यस पटकको निर्वाचनलाई महिलामैत्री बनाउन उपत्यकाका १५ निर्वाचन क्षेत्रमा १८ जना र उपत्यकाबाहिर एकजना गरी १९ जना कानुन व्यवसायी महिलालाई निर्वाचन अधिकृतका रूपमा खटाइएको छ । असोज १९ गते हुने केन्द्रीय महाधिवेशनको मतदानका लागि काठमाडौंको राष्ट्रियसभा गृह र प्रज्ञा प्रतिष्ठान तय गरिएका छन् । केन्द्रीय कार्यसमितिका १६९ पदका लागि २१ किसिमका मतपत्र प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ ।
आन्तरिक किचलो यथावत्
एकातर्फ पार्टी सभापति गगन थापाको नेतृत्वमा रहेको संस्थापन पक्ष असोज ३ गते वडा अधिवेशन, असोज ७ गते पालिका, असोज १० गते प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्दै असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गराउन पूर्णरूपमा केन्द्रित छ । निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले ७७ वटै जिल्लामा निर्वाचन अधिकृतहरू पुगिसकेकाले भ्रममा नपरी चुनावमा होमिन अपिल गर्नुभएको छ । अर्कातिर पूर्वसभापति शेरबहादुर देउवाले भने विशेष महाधिवेशनको वैधतासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै असोज ३ को निर्वाचन बहिष्कार गर्न ६ बुँदे अपिल जारी गर्नुभएको छ । उहाँले आगामी मंसिर २१, २२ र २३ गते नियमित महाधिवेशन गराउने दाबी गर्दै आफ्ना पक्षधर नेता–कार्यकर्ताहरूलाई समानान्तर तयारीमा जुट्न आह्वान गर्नुभएको छ ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया