भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

सानेपाको प्रस्ताव चुनदेवीद्वारा अस्वीकार

सभापति गगन थापा पक्षसँग वार्ता गरेर एउटै महाधिवेशन गर्नका लागि पहल गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गत वर्ष पुस अन्तिममा काठमाडौंमा भएको विशेष महाधिवेशनबाट सुरु भएको नेपाली कांग्रेसको विवाद वारपारको अवस्थामा पुगेको छ । पार्टीमा जारी विवाद समाधानका लागि संस्थापन पक्षले गरेको निर्णय संस्थापनइतर (निवर्तमान सभापति शेरबहादुर देउवा) पक्षले अस्वीकार गरेसँगै विवाद वारपारको स्थितिमा पुगेको हो । आइतबार सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा १५औँ महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो । तर, संस्थापनइतर (देउवा समूह) ले विशेष महाधिवेशनमार्फत निर्वाचित गगन थापा नेतृत्वको संस्थापनले गरेको निर्णय नमान्ने निर्णय गरेको छ । तर, देउवा समूहले पुसमा भएको विशेष महाधिवेशन अवैधानिक भएको जिकिर गर्दै उक्त महाधिवेशनबाट आएको समितिले गरेका निर्णय नमान्ने निर्णय गरेको हो ।

सोमबार बिहान निवर्तमान सभापति शेरबहादुर देउवानिवास चुनदेवीमा बसेको बैठकले राजनीतिक छलफल र समझदारीबेगर विशेष महाधिवेशनबाट आएको कार्यसम्पादन समितिले गरेका निर्णय नमान्ने निर्णय गरेको जानकारी दिँदै नेता दीपक खड्काले भन्नुभयो, ‘बैठकले विशेष महाधिवेशनबाट आएको समितिले गरेका निर्णय अवैधानिक हुने भएकाले नमान्ने निर्णय गरेको छ । एकपक्षीय रूपमा तय गरिएको अधिवेशनमा भाग नलिने र १४औँ महाधिवेशनबाट आएको समितिले तय गरेको असोज १५ गतेदेखिको अधिवेशनको कार्यतलिका अनुरूप अधिवेशन गर्ने निर्णय भएको छ ।’ खड्काका अनुसार बैठकले महाधिवेशनका लागि आवश्यक पर्ने निर्वाचन समिति, अनुशासन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समिति पनि गठन गर्ने र पूर्णता दिने निर्णय पनि गरेको छ ।

इतर समूहले आइतबार मात्रै निर्वाचन समितिको संयोजकमा यगराज पोखरेललाई नियुक्त गरेको थियो । पार्टीको आधिकारिकतासम्बन्धी यसअघि सर्वोच्च अदालतले गरेको फैसलामा पुनरावलोकनको अनुमति प्राप्त भइसकेकाले त्यसबारे फैसला आउने बेलासम्म कुरेर आफ्ना गतिविधि अगाडि बढाउने इतर समूहको अडान छ । देउवा र डा.शेखर समूहले १५औँ महाधिवेशनका लागि गत पुस मसान्तसम्म नवीकरण भएका क्रियाशील सदस्यलाई मान्यता दिनुपर्ने र १४औँ महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशनपछि बनेको केन्द्रीय समितिमा समावेश गर्ने माग राखेको थियो । त्यो माग कार्यसम्पादन समितिले पूरा गरे पनि इतर समूहको बैठकले विशेष महाधिवेशनको वैधानिकतामै प्रश्न उठाउँदै संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म गर्ने महाधिवेशनमा सहभागी नहुने निर्णय गरेको छ । संस्थापनइतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने पनि निर्णय गरेको छ ।

संस्थापनइतर समूहले आफूहरू कुनै पदका लागि नभई पार्टीलाई जोगाउने अभियानमा अघि बढेकाले उमाकान्त चौधरीले यसअघि प्रस्तुत गरेको १५औँ महाधिवेशनको कार्यतालिकालाई अघि बढाउने निर्णय गरेको जनाएको छ ।

छुट्टै महाधिवेशन गर्ने देउवा पक्षको निष्कर्ष

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने निर्णय गरेको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयमा सोमबार देउवा पक्षको १५औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा बसेको बैठकले छुट्टै महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा संयोजक डा. कोइरालाले सबैलाई मिलाएर अघि बढ्नको लागि महाधिवेशन गर्न लागिएको दाबी गर्दै भन्नुभयो, ‘नेपाली कांग्रेसको शक्ति यसको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्टामा निहित छ । विधि, विधान, वैधानिकता र एकताको मार्गमा दृढतापूर्वक उभिएर मात्र पार्टीलाई पुनः सशक्त, विश्वसनीय र नागरिकको आशाका केन्द्रका रूपमा स्थापिन गर्न सक्छौँ ।’ सभापति गगन थापा पक्षसँग वार्ता गरेर एउटै महाधिवेशन गर्नका लागि पहल गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘समूह छुट्टिन्छ भने हामी के गर्न सक्छौँ, वार्ताबाहेक हामीसँग विकल्प छैन । वार्ता गरेर उनीहरूलाई मूल बाटोमा स्वागत गर्न चाहन्छौँ ।’

असोज ३ बाट हुने अधिवेशनमा सहभागी नहुन आह्वान

कांग्रेसको शेरबहादुर देउवा समूहले आगामी असोज ३ गतेबाट हुने १५औँ महाधिवेशनका कुनै पनि गतिविधिमा सहभागी नहुन आफू पक्षका नेता कार्यकर्तालाई आह्वान गरेको छ । इतर पक्षबाट १५औँ महाधिवेशनको तयारी गरिरहनु भएका संयोजक डा. शशांक कोइरालाले संस्थापनले गर्ने महाधिवेशनमा सहभागी नहुन अपिल गर्दै भन्नुभयो, ‘१४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मंसिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेपाली कांग्रेसका साथीहरूमा हार्दिक अनुरोध गर्दछौँ ।’

पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य-मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राख्दै आफूहरूले सुरुदेखि नै सहमति, सहकार्य र एकताको आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्न निरन्तर प्रयास गरेको दाबी गर्दै कोइरालाले भन्नुभयो, ‘तर, दुर्भाग्यवश ती प्रयासहरूलाई सकारात्मक रूपमा ग्रहण गरिएन । हामीले विशेष महाधिवेशनको नाममा पार्टीभित्र थप विवाद सिर्जना नगर्न, लोकतान्त्रिक प्रक्रियालाई कमजोर नबनाउन र संगठनात्मक एकतालाई क्षति नपुर्‍याउन आग्रह गरेका थियौँ । पार्टीको आधिकारिकतासम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरिएको कार्यतालिका स्थगन गरेर वार्ता र संवादमार्फत सहमतिमा पुग्ने वा सम्मानित सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न ।’

इतर समूहमा दुई कित्ता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आइतबार गरेको निर्णयले गत पुस अन्तिममा भएको विशेष महाधिवेशनमा सहभागी नभएका र न्यायका लागि अदालतको ढोका ढकढक्याइरहेका असन्तुष्ट समूहलाई पार्टी मूलधारमा फर्कने बाटो खुलेको छ । विशेष गरेर निवर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, नेता शशांक कोइरालानिकट नेताहरू र पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह लगायतका नेताहरूलाई सानेपा छिर्ने बाटो खुलेको छ । तर, सबै असन्तुष्ट नेताहरू सानेपामा नफर्किने भएका छन् । संस्थापन पक्षको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयले संस्थापनइतर पक्ष दुई भागमा विभाजित भएको छ । ३० भन्दा बढी केन्द्रीय सदस्यहरू सानेपा फर्कन तयार भएका छन् । तर, अझै केही सिनियर नेताहरू भने अडानमा कायम छन् । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट नेताहरूले भने आफूहरू कांग्रेसको संस्थापन धारमा फर्कन तयार भएको बताएका छन् ।

खड्कानिकट नेता रामहरि खतिवडाले भन्नुभयो, ‘आइतबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय ठीक छ । पार्टी मिलाउनुपर्छ । अब एकताको अधिवेशन गर्न सक्नुपर्छ ।’ असन्तुष्ट समूह रहनुभएका नेता श्याम घिमिरेले पनि डिजिटल अध्यावधिक नगरे पनि पुससम्म क्रियाशील नवीकरण गरेकाले महाधिवेशनमा भाग लिन पाउने तथा केन्द्रीय नेताहरूलाई केन्द्रीय नेतृत्वको हैसियत र महाधिवेशन आयोजक बन्न पाउने अवसरले आफूहरूको माग र मुद्दा सम्बोधन भइसकेको जिकिर गर्नुभएको छ । विगतमा आफूहरूले नै उठाएको मुद्दा सम्बोधन हुने भए पनि असन्तुष्ट समूहका केही नेताहरू अझै पनि एकताको महाधिवेशन गर्न सकिने पक्षमा छैनन् । ३ असोजमा वडा अधिवेशन तोकिएको र त्यसको तीन दिनअघि मात्र कुन हालतमा केन्द्रीय सदस्य बन्न जाने भन्ने प्रश्न इतर समूहका नेताहरूको छ । अझै असन्तुष्ट नेताहरूले राजनीतिक सहमति खोजेका छन् । निवर्तमान सभापति शेरबहादुर देउवाको सम्मानजनक बहिर्गमन खोजेका छन् । देउवाकै नेतृत्वमा एकताको १५औँ महाधिवेशन हुनुपर्ने इतर समूहको अडान छ ।

महाधिवेशनमा भाग नलिने डा. शेखर समूहको तयारी

असन्तुष्ट समूहमा रहनुभएका नेता डा. शेखर कोइराला समूहले पनि संस्थापन पक्षले आइतबार गरेको आह्वानप्रति असन्तुष्टि जनाएको छ । उनीहरूले पनि पुराना र शीर्ष नेतृत्वको व्यवस्थापनमा प्रश्न उठाएका छन् । समूहले ३ गते देखिको वडा अधिवेशनमा पनि सहभागिता नजनाउने र केन्द्रीय नेतृत्वमा पनि नजाने निर्णय गरेको छ । समूहका नेता सञ्जय गौतमले सभापति गगन थापाको आह्वानको तुक नै नभएको जिकिर गर्नुभएको छ । उहाँले एकताको महाधिवेशन नहुने भएकाले कुनै पनि महाधिवेशनमा आफूहरू सहभागी नहुने उल्लेख गर्नुभएको छ । चुनदेवी समूहले तोकेको मितिमा हुने भनिएको महाधिवेशनमा पनि कोइराला समूह सहभागी हुने सम्भावना नरहेको उहाँको दाबी छ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया