देवीघाट (नुवाकोट), भदौ २९ गते । भोटेकोशी हिमबाढीले बगरमा परिणत नुवाकोटका देवीघाट र ढुङ्गे बजारका बासिन्दा कसैका आँखा ओभाना छैनन् अहिले । हेर्दाहेर्दै सर्वस्व गुमाएका यहाँका बासिन्दाले आँसु थाम्दै गेग्य्रानले पुरिएका घरभित्र बचेखुचेका सम्पत्ति खोज्न थालेका छन् । यसै पनि भदौ १० गते आएको बाढीले अधिकांश घर बगाएको छ । हिलोले पुरे पनि बग्नबाट बचेका घरहरू सुरक्षाकर्मीको सहयोग लिएर स्थानीयले खोतल्न थालेका हुन् ।
नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले स्थानीय वडाको रोहबरमा घरधनी र सुरक्षाकर्मीले घर खोतल्ने कार्य जारी राखेका जानकारी दिनुभयो । “हामीले पहिलो चरणमा उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरेका छौँ । त्यसपछि खानेपानी, बिजुली, टेलिफोन, तुइन र बेलिब्रिज बनाएर ‘रोड कनेक्टिभिटी’ जोड्ने प्रयास गरेका छौँ । उद्धार गरेकालाई ‘होल्डिङ सेन्टर’ मा राखेका छौँ,” उहाँले भन्नुभयो, “अहिले तीन/चार दिनदेखि वडाको रोहबरमा घरधनी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सहायताले घरहरू उत्खनन गरेर बचेखुचेको सम्पत्ति र शव छन् कि भनेर खोजी कार्य जारी राखिएको छ । बाढीले चार तलासम्म घर पुरेको पाइएकाले कति दिनमा कसरी खोजी कार्य सकिन्छ, भन्न सकिने अवस्था छैन ।”
ढुङ्गे बजारका रामहरि रिजालले मनमा पीडा र आँखामा आँसु लिएर भए पनि केही बँचेको छ कि भनेर खोज्न थोलेको बताउनुभयो । दुई तलासम्म पुरिएको घरमा उहाँ डोजरको सहायताले उत्खनन गर्दै हुनुहुन्थ्यो । बाढीले तल्लो तलामा राखिएको चामल, दाल, चिनी सबै बगाएर हिलो भरिएपछि सफाइ गर्न लागेको उहाँले बताउनुभयो ।
ढुङ्गे बजारकै जनक अधिकारी पनि आफ्नो चार तलाको घर बगाएपछि आफैँ खोतलेर बचेका भाँडाकुँडा सफा गर्दै हुनुहुन्थ्यो । “सबै सामान बगाएर लगे पनि भान्साका भाँडाकुँडा भेटिएपछि माया लाग्दो रहेछ,” उहाँले सुनाउनुभयो । देवीघाटकै गोपी नेपालीले एक तलाको घर बगाएकाले खोजेर केही नभेटिने अवस्था रहेको बताउनुभयो । “मेरो एक तलाको घर थियो । सबै बगाएर लग्यो । अब खोजेर केही भेटिँदैन,” उहाँले भन्नुभयो, “अहिले घर भएको ठाउँ बगर बनाएको छ । अब अन्त कतै स्थानान्तरण गरे हुन्थ्यो ।” सीता ढकालले भने देवीघाटमा रहेको साढे तीन तलाको घरबाट अधिकांश सामान बगाएकाले खोज्नसमेत मन नलागेको मनभरिको पीडा सुनाउनुभयो ।
बाढीले देवीघाट र ढुङ्गे बजारमा कति घर बगाएर लग्यो, कति घर बचेका छन् भन्नेबारेमा यकिन तथ्याङ्क नआएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो । “बाढीले कति घर बगायो ? कति घरमा क्षति गर्यो ? कतिको मृत्यु र बेपत्ता भए ? सबै विवरण वडाले लिइरहेको छ । अबको दुई/तीन दिनमा सबै विवरण प्राप्त हुने छ,” उहाँले भन्नुभयो, “सबै तथ्याङ्क आएपछि मात्र होल्डिङ सेन्टरमा अस्थायी रूपमा बस्ने र आफैँ व्यवस्थापन गरेर बस्नेहरूको विवरण दिन सकिन्छ ।”गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया