काठमाडौँ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ । संसद्लाई प्रविधिमैत्री बनाउने र सांसदहरूले उठाएका जनसरोकारका विषयको सुनुवाइलाई प्रभावकारी बनाउने उद्देश्यले सभामुख डोलप्रसाद अर्यालले बैठक बोलाएका हुन् ।
सिंहदरबारस्थित कार्यव्यवस्था हलमा दिउँसो १२ बजे बस्ने बैठकमा मुख्य गरी डिजिटल संसद्को अवधारणाबारे छलफल हुने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
संसद्को शून्य समय, आकस्मिक समय र विशेष समयमा सांसदहरूले उठाउने जनसरोकारका विषयलाई अब डिजिटल प्रणालीमार्फत सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग जोड्ने तयारी गरिएको छ । यस्तो प्रणाली कार्यान्वयनमा आएपछि सांसदहरूले उठाएका विषयमा सरकारले के निर्णय गर्यो, कार्यप्रगति कस्तो छ र कहिले सम्बोधन भयो भन्ने कुरा ट्र्याक गर्न सहज अपेक्षा रहेको सचिवालयले जनाएको छ ।
आजै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । संसद् बैठकका लागि परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले उत्तर दिने कार्यसूची रहेको छ ।
आजको बैठकमा एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गर्ने कार्यसूची पनि रहेको सचिवालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया