धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडकखण्ड दुईतर्फी सञ्चालनमा आए पनि सडक विभागले पहिरो र त्रिशूली नदीको कटानबाट सडकलाई सुरक्षित बनाउन दीर्घकालीन योजना अघि बढाउने भएको छ । तत्काल सडक सञ्चालनमा ल्याइए पनि कृष्णभीरको जोखिम पूर्णरूपमा हटिनसकेकाले प्राविधिक अध्ययन र आवश्यक संरचना निर्माणलाई निरन्तरता दिने विभागको तयारी छ ।
सडक विभागका सिडिई सुरेश पौडेलका अनुसार अहिले सडक सञ्चालनमा ल्याउनु तत्कालीन समाधान मात्रै हो । कृष्णभीरलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउन सडकको माथिल्लो भागबाट आउने पानीको व्यवस्थित निकासदेखि तल्लो भागमा त्रिशूली नदीले गर्ने कटान नियन्त्रणसम्मका काम आवश्यक छन् ।
‘माथिबाट वाटर म्यानेजमेन्ट कसरी गर्ने भन्ने एउटा चुनौती छ । भोलि जतिखेर पनि माथिको स्लोप फेलियर भएर पहिरो जानसक्ने सम्भावना छ’, पौडेलले भन्नुभयो, ‘साना–साना पहिरो गएर एक–दुई घण्टासम्म सडक अवरुद्ध हुने सम्भावनालाई पनि कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा छलफल सुरु भइसकेको छ ।’
विभागले कृष्णभीरको दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो स्लोपबाट पानीको निकास व्यवस्थित गर्ने, सम्भावित पहिरो नियन्त्रणका संरचना निर्माण गर्ने तथा त्रिशूली नदीको कटानबाट सडकलाई जोगाउने उपायबारे अध्ययन थालेको छ । आवश्यक परीक्षण, प्राविधिक डिजाइन र अन्तिम योजना तयार गर्न भने केही समय लाग्ने पौडेलले बताउनुभयो ।
सुरुङ र नदीपारिको वैकल्पिक सडकको विकल्प
कृष्णभीरको दीर्घकालीन समाधानका रूपमा सुरुङ निर्माण गर्ने वा त्रिशूली नदीपारि वैकल्पिक सडक निर्माण गर्ने विकल्पमाथि समेत छलफल भइरहेको सडक विभागले जनाएको छ ।
भौगोलिक रूपमा जोखिमयुक्त क्षेत्रमा रहेका कारण पहिरो र नदी कटानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न वैकल्पिक संरचनाको आवश्यकता देखिएको विभागको भनाइ छ । तर, सुरुङ वा वैकल्पिक सडक निर्माणका लागि अध्ययन, डिजाइन, स्रोत व्यवस्थापन र निर्माण प्रक्रियामा लामो समय लाग्ने भएकाले हाल सञ्चालनमा ल्याइएको सडकलाई तत्काल सुरक्षित र भरपर्दो बनाउने कामलाई प्राथमिकता दिइने भएको छ ।
पौडेलका अनुसार हाल सञ्चालनमा आएको सडकलाई कम्तीमा तीन वर्ष सुरक्षित रूपमा सञ्चालनयोग्य बनाउने गरी आवश्यक संरचना निर्माण र मर्मत सम्भारका काम गर्नुपर्ने अवस्था छ ।
बर्खापछि कालोपत्रे गरिने
सडक विभागले बर्खा सकिएलगत्तै हाल ग्राभेल गरिएको कृष्णभीर सडकखण्ड कालोपत्रे गर्ने तयारीसमेत गरेको छ । कालोपत्रेका लागि अस्फाल्ट वा अन्य उपयुक्त प्रविधि प्रयोग गर्ने विषयमा प्राविधिक छलफल भइरहेको पौडेलले जानकारी दिनुभयो । सडक सञ्चालनमा आएसँगै ट्राफिक सुरक्षाका थप मापदण्ड लागू गर्ने तयारीसमेत विभागले गरेको छ । सडकको अवस्था, सवारी चाप र जोखिमलाई ध्यानमा राखेर आवश्यक सुरक्षा व्यवस्थापन गरिने जनाइएको छ ।
विभागका अनुसार तत्कालका लागि सडक सञ्चालनको समस्या समाधान भए पनि कृष्णभीरको माथिल्लो भीर र तल्लो क्षेत्रमा त्रिशूली नदीको कटानको जोखिम भने कायमै छ । त्यसैले सडक सञ्चालनमा आएपछि काम सकिएको नठानी जोखिम न्यूनीकरणका लागि आवश्यक प्राविधिक अध्ययन तथा संरचना निर्माणलाई निरन्तरता दिनुपर्ने अवस्था छ ।
११ दिनपछि दुईतर्फी सञ्चालन
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर सडकखण्ड करिब ११ दिनको प्रयासपछि दुईतर्फी सञ्चालनमा आएको हो । सडक निर्माण तथा मर्मतका क्रममा सोल ड्रेन, ग्रेड कटिङ, सबग्रेड र सडक सुरक्षाका मापदण्ड अपनाउनुपर्ने भएकाले काम सम्पन्न गर्न केही समय लागेको नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काले बताउनुभयो ।
खड्काका अनुसार अहिले मालवाहक, सार्वजनिक तथा निजी सवारीसाधनसँगै ग्यास बुलेटसमेत सहज रूपमा आवतजावत गरिरहेका छन् । तर, सडक दुईतर्फी सञ्चालनमा आए पनि माथिल्लो भीरबाट पहिरो वा माटोका अवशेष खस्ने जोखिम भने कायमै रहेको उहाँले बताउनुभयो । ‘डेब्रिज माथिबाट आउनसक्छ, पानी परेपछि नआउला भन्न सकिन्न । तर, आयो भने काटेर, फ्याँकेर केही समय होल्ड गरी फेरि सडक सञ्चालन गर्न सकिन्छ,’ खड्काले भन्नुभयो ।
वर्षाका क्रममा माथिल्लो भागबाट डेब्रिज खस्ने सम्भावना रहे पनि त्यसलाई तत्काल व्यवस्थापन गर्न सकिने अवस्था रहेको उहाँको भनाइ छ । उहाँका अनुसार तत्काल सडक सञ्चालनका लागि आवश्यक काम भने सम्पन्न भइसकेको छ ।
विश्व बैंकको टोलीले क्षतिको अध्ययन गर्ने
बाढीबाट पृथ्वी राजमार्गका विभिन्न खण्डमा भएको क्षतिको मूल्यांकन गर्न विश्व बैंकको प्राविधिक टोलीले स्थलगत निरीक्षण गर्ने भएको छ । खड्काका अनुसार बाढीका कारण कृष्णभीरसहित शीतलबजार, पोखरेभीर, पांग्रे, गलौँदीलगायत क्षेत्रमा सडकमा क्षति पुगेको छ । विश्व बैंकको प्राविधिक टोलीले ती क्षेत्रको स्थलगत अवस्था अध्ययन गरी सडकलाई थप व्यवस्थित र सुरक्षित बनाउने उपायबारे मूल्यांकन गर्नेछ ।
निरीक्षणका क्रममा सडक विभाग, परामर्शदाता तथा निर्माण व्यवसायीको टोलीसमेत सहभागी हुने खड्काले जानकारी दिनुभयो । बाढी र पहिरोका कारण पटक–पटक जोखिममा पर्ने पृथ्वी राजमार्गको दीर्घकालीन सुधारका लागि स्थलगत अध्ययनबाट प्राप्त सुझावका आधारमा थप संरचना निर्माण तथा जोखिम न्यूनीकरणका उपाय अघि बढाइने अपेक्षा गरिएको छ ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया