असोज ४, २०८३ आइतबार September 20, 2026

महँगीको मारमा उपभोक्ता

प्रदेशगत आधारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति सबैभन्दा बढी मधेस प्रदेशको ६.९४ प्रतिशत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । यस वर्ष महान् चाड दशैँ-तिहार, छठ सर्वसाधारणका लागि निकै बोझिलो बन्ने भएको छ । किनभने गत वर्षको तुलनामा महँगी ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/०८४ पहिलो महिनाको तथ्यांकअनुसार साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.६८ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत थियो । समीक्षा अवधिमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.१८ प्रतिशत र शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.८८ प्रतिशतले बढेको छ । प्रदेशगत आधारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति सबैभन्दा बढी मधेस प्रदेशको ६.९४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशको ४.६१ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८१, तराई ६.६४, पहाड ५.९५ र हिमालको ५.१० प्रतिशत रहेको छ ।

दुर्ई खर्ब बढी रेमिट्यान्स

आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले बढेर दुई खर्ब १५ अर्ब पाँच करोड पुगेको छ । त्यसो त अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले बढेर एक अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २५.० प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४२ हजार छ सय ९३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २७ हजार सात सय ४८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४४ हजार चार सय ६६ र २३ हजार छ सय ४४ थियो ।

सो अवधिमा चालु खाता ९४ अर्ब ५९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७८ अर्ब २९ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ६२ करोडले बचतमा रहेको छ । त्यस्तै सो अवधिमा एक अर्ब एक करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटीमात्र) ६९ करोड थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर ८९ अर्ब ३० करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६४ करोडले बचतमा रहेको शोधनान्तर समीक्षा अवधिमा ५९ करोडले बचतमा रहेको छ । २०८३ असारमा ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १.२ प्रतिशतले बढेर २०८३ साउनमा ३९ खर्ब ४६ अर्ब २३ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असारमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ साउनमा २.१ प्रतिशतले बढेर २५ अर्ब ८४ करोड पुगेको छ । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.८ महिनाको वस्तु आयात र १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

करिब दुई खर्बको आयात

आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा कुल वस्तु निर्यात ६१.७ प्रतिशतले बढेर ३८ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९५.७ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ७१.०, २८७.८ र १८.१ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा भटमास तेल, पाम तेल, पोलिष्टर धागो, जुटका सामान, पार्टिकल बोर्डलगायतका वस्तुको निर्यात बढेको छ भने औषधि (आयुर्वेदिक), प्रशोधित छाला, खोटो, जडीबुटी, नेपाली कागज तथा त्यसबाट निर्मित वस्तुलगायतको निर्यात घटेको छ । त्यस्तै आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा कुल वस्तु आयात ३१.० प्रतिशतले बढेर एक खर्ब ८७ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ११.४ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः २२.६, १३.४ र ६९.० प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, खाने तेल, तेलहन, कच्चा भटमासको तेललगायतको आयात बढेको छ भने धान तथा चामल, सुन, अलकत्रा, कोइला, मेडिकलका सामान तथा पार्टपुर्जालगायतको आयात घटेको छ । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा २४.९ प्रतिशतले बढेर एक खर्ब ४८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २.५ प्रतिशतले बढेको थियो ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया