असोज ६, २०८३ मंगलबार September 22, 2026

अन्डमानमा विकसित चक्रवातको असर नेपालमा पर्न सक्ने

असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भीषण वर्षा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज ६ गते । अन्डमान सागरआसपास विकसित भएको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने तरखरमा छ । त्यसको असर नेपालसम्म आइपुग्ने भएकाले समग्र देशव्यापी रूपमा उच्च सतर्कता अपनाइएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

मौसम विज्ञान विभागले उच्च चासोका साथ दिनरात यसको अनुगमन गरिरहेको मौसम विज्ञान विभागमा महानिर्देशक डा. अर्चना श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चक्रवात कहाँ कसरी ल्यान्डफल हुन्छ, भारततिर गएर नेपाल फर्कन्छ वा सिधै यतै आउँछ भन्ने विषयले नेपालमा त्यसको असर निर्धारण गर्ने भएकाले उच्च सतर्कताका साथ धेरै मौसमी मोडेलको अनुगमन गरिरहेका छौँ ।”

उहाँका अनुसार भारतका विभिन्न सहरमा यो वर्षको मनसुन अन्त्य भइसकेको छ । त्यसैले यो नेपालतिर कायम रहेको मनसुनी हावासँगै बङ्गालको खाडी हुँदै यता आउने सम्भावना प्रबल छ । विभागले विशेष मौसम बुलेटिन जारी गर्दै असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भीषण वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । विभागका अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मका छ जिल्लाबाहेक सबै जिल्लामा उक्त प्रणालीको असर पर्ने देखिएको छ ।

देशका अधिकांश स्थानमा मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ । उत्तर अन्डमान सागर र आसपासका क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र यतिबेला बङ्गालको खाडीको मध्य भूभागआसपास आइपुगेको छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्रका रूपमा पश्चिमबाट उत्तरपश्चिम दिशातिर सर्ने देखिएको छ । बुधबार भारतको दक्षिण उडिसा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रनजिकबाट जमिनतर्फ प्रवेश गर्ने अनुमान गरिएको छ । प्रणाली बङ्गालको खाडी हुँदै आएको खण्डमा यसले हिन्द महासगार क्षेत्रमा बन्ने यसले वर्षकै ठुलो चक्रवातको स्वरूप ग्रहण गर्ने अनुमान विश्व मौसम सङ्गठनले व्यक्त गरेको छ । उक्त चक्रवातको नाम ‘अर्र्नव’ भनेर बङ्गलादेशले प्रस्तावसमेत गरेको छ ।

पूर्वतयारी सुरु 

देशभरका जिल्ला प्रशासन कार्यालयलाई अहिलेदेखि नै पूर्वतयारी गर्दै सतर्क रहन भनिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । सोही अनुसार दुई पटक प्राधिकरणको मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठक बसेको छ । त्यहाँ सम्भावित प्रभावित क्षेत्रका देशभरका स्थानीय तहसँगै पर्यटन विभाग, कृषि मन्त्रालयका पदाधिकारीलाई सम्भावित चक्रवातबारे अवगत गराउँदै आवश्यक सावधानीको पहल थाल्न भनिएको श्रेष्ठले बताउनुभयो । मङ्गलबार पनि कमान्ड पोस्टको बैठक बसेर थप छलफल गरेको छ । उच्च हिमाली भेगमा भारी हिमपात हुने भएकाले आरोहणका लागि पुगेका पर्यटकलाई जहाँ भए पनि सुरक्षित स्थानमा रहन भनिएको छ । ८ गतेदेखि उता सकेसम्म यात्रा नगर्न र मौसम बुझेर मात्र हिँड्न भनिएको छ ।

विभिन्न जिल्लामा पनि चक्रवातको सम्भावित असर न्यूनीकरण गर्न तयारी सुरु भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलका अनुसार विशेष गरी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय तहलाई भनिएको छ ।  गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया