असोज ७, २०८३ बुधबार September 23, 2026

हट्यो परम्परागत बेथिति

अनलाइन सरुवा प्रणाली सुगम क्षेत्रमा कार्यरत कर्मचारीलाई दुर्गम र दुर्गममा रहेका कर्मचारीलाई सुगममा सरुवा गर्ने सशक्त माध्यम बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज ७ गते । निजामती कर्मचारीको अनलाइन सरुवा प्रणाली कार्यान्वयनमा आएसँगै विगतमा पहुँचवाला कर्मचारी सधैँ सिंहदरबार आसपास बस्ने प्रवृत्तिको अन्त्य भएको छ । गत साउनदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको अनलाइन सरुवा प्रणालीले यसअघि पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरुवा गराउने परम्परागत बेथितिको अन्त्य गरेको हो ।

निश्चित अवधि पुगेपछि अनलाइन प्रणालीले नै कर्मचारीको सरुवा गर्ने, कर्मचारी र रिक्त कार्यालयबारे अवगत गराउने भएकाले गर्दा दबाब र प्रभावका आधारमा अवधि नपुग्दै कर्मचारी सरुवा गर्ने अभ्यास अहिले पूर्णतः बन्द भएको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणालीबाट कर्मचारी सरुवा हुने व्यवस्था कार्यान्वयनमा आएसँगै अहिले भनसुनका भरमा कर्मचारी सरुवाको परिपाटी अन्त्य भएको जनाएको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव धोलकराज ढकालले अनलाइन सरुवा प्रणाली अहिले कार्यान्वयनमा आएसँगै सरुवा प्रणालीमा दबाब र प्रभावको अन्त्य भएको बताउनुभयो ।

मन्त्रालयका अनुसार अहिलेसम्म अनलाइन प्रणालीबाट एक हजार ८२२ जना कर्मचारीको सरुवा भइसकेको छ । अनलाइन सरुवा प्रणालीबाट साप्ताहिक रूपमा १०३ जना कर्मचारी सरुवा हुने गरेका छन् । प्रणालीमा दर्ता भएका कर्मचारी भने सात हजार ५०६ जना रहेका छन् । तयार भएका सरुवा पत्रहरू एक हजार ८१९ रहेका छन् । अहिलेसम्म सरुवा प्रणालीमा एक हजार ६८० कार्यालय सहभागी रहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

सहसचिव ढकालले भन्नुभयो, “अनलाइन सरुवा प्रणाली कार्यान्वयनमा आएसँगै कर्मचारी सरुवा प्रणालीमा विगतको जस्तो अनावश्यक भिडभाड छैन । जान चाहेको कार्यालयमा दरबन्दी रिक्त हुँदा प्रणालीले नै सरुवा गर्छ । दरबन्दी रिक्त नभए अर्को विकल्पको कार्यालयमा सरुवा हुने गरेको छ ।” उहाँका अनुसार यसअघि कर्मचारी एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा हुन दुर्गम जिल्लाका कार्यालयबाट काठमाडौँ आई महिनौँसम्म होटलमा बसेर शक्तिकेन्द्र धाउनुपर्ने बाध्यता थियो । अहिले त्यस्तो बाध्यताको अन्त्य भएको छ ।

गत जेठमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट इलाका प्रशासन कार्यालय पर्वत सरुवा हुनुभएका नायब सुब्बा डा. प्रकाश भट्टराईले अनलाइन सरुवा प्रणाली सुगम क्षेत्रमा कार्यरत कर्मचारीलाई दुर्गम र दुर्गममा रहेका कर्मचारीलाई सुगममा सरुवा गर्ने सशक्त माध्यम बनेको बताउनुभयो । सरकारले अब अनलाइन सरुवा प्रणालीलाई पूर्वानुमानयोग्य बनाउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “सरकारले अनलाइन प्रणालीबाट गरिएको सरुवाले कर्मचारी सरुवा प्रणालीलाई व्यवस्थित गरेको छ । यसको निरन्तरता हुनु पर्छ । निश्चित समय दुर्गममा बसेपछि सुगममा आउने सुनिश्चित प्रणालीले नै गर्नु पर्छ ।”

अनलाइनबाटै प्राथमिकता निर्धारण 

मन्त्रालयले अनलाइन सरुवा प्रणाली कार्यान्वयनमा ल्याएसँगै कर्मचारीको योग्यता, विशेष क्षमता, अनुभव, ज्येष्ठतालगायत विषयमा डाटा प्रोसेसिङ हुने गरी कर्मचारीको प्राथमिकता निर्धारण गरेको छ । सरुवा प्रणालीमा आबद्ध भएका कर्मचारीको डिजिटल प्रोफाइल तयार भएको छ । कर्मचारीका व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत आबद्ध हुने भएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुने व्यवस्था गरिएको छ ।

सरुवासम्बन्धी पत्रहरू पनि प्रणालीबाटै स्वचालित रूपमा तयार हुने व्यवस्था मिलाइएको छ । अनलाइन सरुवा सफ्टवेयरलाई राष्ट्रिय किताबखानाको सफ्टवेयरसँग आबद्ध गरी कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

सरकारले कार्यान्वयनमा ल्याएको शासकीय सुधार अन्तर्गत एक सय कार्यसूचीमा कर्मचारी सरुवा प्रणालीलाई प्रविधिमैत्री बनाउने उल्लेख भए अनुसार मन्त्रालयले कर्मचारीको अनलाइन सरुवा प्रणाली कार्यान्वयनमा ल्याएको हो । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया