श्रावण १९, २०८३ मंगलबार August 4, 2026

बजारमा फेरि ग्यास अभाव

१ तारिखमा नयाँ मूल्य प्राप्त भए पनि निगमले हालसम्म नयाँ मूल्यसूची सार्वजनिक गरेको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । देशका विभिन्न सहरमा फेरि ग्यास अभाव भएको छ । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको पर्याप्त आपूर्ति भइरहेको दाबी गरे पनि उपभोक्ता खाली सिलिण्डर बोकेर घण्टौँ लाइन बस्न बाध्य भएका हुन् । काठमाडौं उपत्यकासहित चितवन, विराटनगर, धरानलगायत क्षेत्रमा डिलर र सप्लायर्सले ग्यास दिन नसक्दा उपभोक्ता उद्योगकै गेटमा पुग्न थालेका हुन् । कतिपयले एउटा सिलिण्डर साट्न एक साताभन्दा बढी कुर्नुपरेको गुनासो गरेका छन् । सरकारले गत असार ३१ गतेदेखि पुनः १४.२ किलोग्राम तौलको पूरा सिलिण्डर बिक्री-वितरण गर्ने व्यवस्था लागू गरेको दुई सातामै बजारमा अभाव देखिएको हो ।

यसअघि ग्यास संकट चर्किएपछि निगमले २०८२ फागुनदेखि आधा भरिएको ७.१ किलो सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको थियो । अहिले फेरि पूरा तौलको सिलिण्डर लागू भएपछि बजारमा माग एकाएक बढेको हो ।

काठमाडौंका टोल-टोलका ग्यास डिपो र डिलरमा ग्यास नपाएपछि सर्वसाधारण बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यास उद्योगसम्म पुग्न थालेका छन् । उद्योगको वितरण केन्द्रबाहिर बिहानैदेखि उपभोक्ता लाइनमा बसेका देखिन्छन् । यस्तै, चितवनको भरतपुर, पूर्वमा विराटनगर र धरानका डिलरमा समेत ग्यासका लागि पालो कुर्नुपर्ने अवस्था बनेको छ । धरानमा त उपभोक्ताको सिलिण्डरमै पालो नम्बर लेखेर वितरणको प्रतीक्षा गराइँदै आएको छ ।

तर, नेपाल आयल निगम भने अभाव नभएको दाबीमा अडिग छ । निगमका अनुसार भारतबाट दैनिक मागअनुसार ग्यास आयात भइरहेको छ र बजारमा कृत्रिम रूपमा अभावको हल्ला फैलाइएको छ । यता, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि निगमले काठमाडौं उपत्यकामा टेकुस्थित कार्यालयबाट नेपाल, एचपी, एभरेस्ट, सुगम र श्रीराम ब्राण्डका ग्यास बिक्री गर्ने विशेष व्यवस्था लागू गरेको छ । तर, त्यहाँ पनि उपभोक्ताको लामो लाइन देखिएको छ ।

यद्यपि, बजारमा देखिएको संकटलाई ग्यास बिक्रेता महासंघ नेपालले भने आपूर्ति अभाव नभई ‘प्यानिक मार्केट’को परिणाम भनेको छ । महासंघका अनुसार आधा भरिएको सिलिण्डरको व्यवस्था हुँदा महिनौँसम्म बजारमा थन्किएका करिब ४८ देखि ५० हजार टन बराबरका खाली सिलिण्डर अहिले एकैपटक रिफिलका लागि बजारमा आए । त्यसमाथि धेरै उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिण्डर एकैचोटि भर्न थालेपछि माग अस्वाभाविक रूपमा बढेको महासंघले जनाएको छ ।

महासंघका अनुसार अहिले सबैभन्दा बढी समस्या एउटा मात्रै सिलिण्डर भएका विद्यार्थी, साना परिवार र दैनिक उपभोगमा निर्भर उपभोक्ताले भोगिरहेका छन् । सामान्य अवस्थामा दैनिक तीन-चार सय सिलिण्डर बिक्री हुने डिलरमा अहिले १,५०० देखि १,८०० वटासम्म माग आइरहेको छ ।

आयल निगम भन्छ- अभाव छैन, एक सातामा बिक्री वितरण सहज हुनेछ

खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट विभिन्न पाँच कम्पनीको ग्यास सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ । निगमले शनिबारदेखि काठमाडौं उपत्यकामा बजारीकरण गर्ने नेपाल, एचपी, एभरेष्ट, सुगम र श्रीराम ग्यासका सिलिण्डर सम्बन्धित उद्योगमार्फत बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको हो । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ती उद्योगले बिहान ११ देखि साँझ ५ बजेसम्म १४ दशमलव दुई केजीका ग्यास सिलिण्डरको बिक्री वितरण गर्नेछन् ।

गत जुलाईमा मात्रै करिब ४९ हजार मेट्रिकटन ग्यास आयात भएको निगमले जनाएको छ । उद्योगीले यही साउन १ गतेदेखि १५ गतेसम्म २६ दशमलव पाँच मेट्रिकटन ग्यास आयात गरेका छन् । ‘ग्यासको अभाव होइन, माग अनुसारको ग्यास आपूर्ति भइरहेको छ, सात दशमलव एक किलो ग्यास भएको सिलिण्डरबाट १४ दशमलव दुई किलोमा ‘स्वीच’ हुँदा तत्काल समस्या देखिएको हो’, प्रवक्ता ठाकुरले भन्नुभयो, ‘बढीमा एक सातामा ग्यासको बिक्रीवितरण सहज हुनेछ ।’

निगमले एलपी ग्यासको आयात तथा बिक्रीवितरण नियमित भइरहेको जनाउँदै निगमले आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न एवं अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ । उपभोक्ताबाट बजारमा ग्यास अभाव भएको भन्ने गुनासो आइरहेको तर्फ उद्योगीको ध्यानाकर्षण गराउँदै निगमले ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन उद्योगीलाई निर्देशन दिएको छ । निगमले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिन तथा खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको विवरण राखी ग्यासको बिक्री व्यवस्थित बनाउन बिक्रेतालाई अनुरोध गरेको छ । दैनिक रूपमा मागअनुसार ग्यासको आपूर्ति भइरहेको स्पष्ट पार्दै निगमले ग्यास नपाएको अवस्थामा हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

मूल्य बढाउने तयारी हो ?

नेपाल आयल निगमले यसपालि १ तारिखमा नयाँ मूल्य प्राप्त भए पनि निगमले हालसम्म नयाँ मूल्यसूची सार्वजनिक गरेको छैन । सामान्यतया प्रत्येक अंग्र्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गर्ने गर्दछ । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्रत्येक महिनाको अन्तिम दिन र १५ तारिखमा नयाँ मूल्य प्राप्त हुने र सोही आधारमा निगमले मूल्य समायोजन गर्ने प्रचलन छ । स्वचालित मूल्य प्रणालीअनुसार दुई रुपैयाँसम्म मूल्य घटाउने वा बढाउने अधिकार निगम व्यवस्थापनलाई हुन्छ । सोभन्दा बढी मूल्य हेरफेर गर्नुपर्ने अवस्थामा निगमको सञ्चालक समितिको बैठक बस्नुपर्ने कानुनी व्यवस्था छ ।

शनिबार प्राप्त नयाँ मूल्यमा ठूलो परिवर्तन भएकाले सञ्चालक समितिको बैठक बसेर निर्णय भएपछि मात्र नयाँ मूल्यसूची सार्वजनिक गरिने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताउनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति सचिव निगमको सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था छ । हाल निगमको सञ्चालक समिति अध्यक्षमा मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी हुनुहुन्छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले आइओसीबाट प्राप्त नयाँ मूल्यसूचीमा पनि मूल्य वृद्धि भएको निगमको भनाइ छ । भारतबाट मूल्य बढेर आएका कारण नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्ने निश्चित देखिएको छ, तर निगमले कहिलेसम्म नयाँ मूल्य सार्वजनिक गर्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार