श्रावण २३, २०८३ शनिबार August 8, 2026

ग्यासको कोटा बढाउन भारतसँग आग्रह

बजारमा एकै पटक माग बढ्दा अभाव भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, साउन २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले साउनयता उच्च माग भएकाले एलपी ग्यासको अभाव भएको बताउनुभएको छ । पूरा सिलिन्डर बिक्री थालेपछि बजारमा ठुलो मात्रामा एकै पटक माग बढेकाले अभाव भएको उहाँले बताउनुभयो । प्रतिनिधि सभाको आकस्मिक, शून्य तथा विशेष समयमा उठाइएका प्रश्नको जवाफका क्रममा उहाँले बजारमा एकै पटक माग बढ्दा अभाव भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “२०८३ साउन महिनादेखि पूरा सिलिन्डर वितरण प्रारम्भ भएपश्चात् ग्यासको मागमा एकै पटक वृद्धि हुन गई बजारमा केही असहजता सिर्जना भएको देखिन्छ । बढ्दो माग र आपूर्तिबिच सन्तुलन ल्याउन मन्त्रालयले सरोकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने कार्य गरिरहेको छ ।”

हाल ५८ ग्यास उद्योगको भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन रहेको पनि उहाँले बताउनुभयो । माग अत्यधिक भएकाले वितरणमा देखिएका समस्या समाधानका लागि भारत सरकारलाई कोटा बढाउन आग्रह गरिएको बताउँदै मन्त्री कुमारीले परराष्ट्र मन्त्रालयमार्फत आवश्यक सहजीकरणका लागि आग्रह गरिएको जानकारी दिनुभयो ।

उहाँले आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गरिरहेको बताउनुभयो । विभागले पछिल्लो समय ४५ भन्दा बढी ग्यास डिपोको अनुगमन गरेको पनि उहाँले जानकारी दिनुभयो । नेपाल आयल निगम तथा ग्यास उद्योगीसँगको समन्वयमा आयात, भण्डारण तथा वितरण कार्यलाई थप पारदर्शी बनाउन सुधारको कार्य भइरहेको पनि उहाँको भनाइ छ ।

आपूर्ति सहज बनाउन माग 

मन्त्री कुमारीको जवाफअघि सभामा सांसदहरूले ग्यास आपूर्ति सहज बनाउन माग गर्नुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा रानामगरले ग्यास आपूर्तिमा समस्या भइरहेको भन्दै सहजीकरणको माग गर्नुभयो । रास्वपाकै रमेश प्रसाईंले जनताको घरमा ग्यास अभाव भएको भन्दै ग्यास आपूर्ति सहज बनाउन आग्रह गर्नुभयो । कृत्रिम अभाव सिर्जना गरिएको भए सरकारले कारबाही गर्नुपर्ने माग पनि प्रसाईंले गर्नुभयो ।

रास्वपाकै कमल सुवेदीले ग्यास अभाव चर्किएको भन्दै आपूर्ति सहज बनाउन माग गर्नुभयो । अभाव कृत्रिम भएको जिकिर गर्दै उहाँले कालोबजारी गरी आपूर्ति शृङ्खला नै प्रभावित पार्ने काम भइरहेकाले तत्काल बजार अनुगमन गरी सहजीकरणको मागसमेत गर्नुभयो । शून्य समयमा सांसदहरूले ग्यास आपूर्ति सहजीकरणसँगै विपत् व्यवस्थापन र तयारीलगायतमा सरकारको ध्यानाकर्षणसमेत गराउनुभएको थियो ।

कृषकलाई खेतीको समयमा पनि रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै सत्तारूढ दलकै सांसदले सरकारको आलोचना गर्नुभएको छ । सत्तारूढ रास्वपाका सांसद रवीन्द्र पटेलले  पछिल्लो समय किसानले रासायनिक मल पाउन नसकेको गुनासो बढिरहेको बताउनु

भयो । कोटा प्रणालीमा आधारित भएर मल वितरण भएको र त्यसमा पनि माग अनुसार पाउन नसकेको गुनासो उहाँले गर्नुभयो । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया