काठमाडौं । नेकपा (एमाले)को उपल्लो तहमा पुनः पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रवेश भएको छ । दुई कार्यकाल राष्ट्रपति बनिसक्नु भएकी भण्डारीलाई एमालेले वरिष्ठ नेता बनाएको हो । बिहीबार बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेको थियो । सचिवालयको प्रस्तावलाई पार्टीको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको हो । गत जेठमा एमालेले भण्डारीलाई पुनः सदस्यता दिएको थियो । त्यसअघि एमालेले राष्ट्रपति भएर देशको अभिभावकत्व गरिरहेको व्यक्ति पार्टी राजनीतिमा आउन नमिल्ने तर्क गर्दै भण्डारीको सदस्यता रोकेको थियो ।
सात वर्षभन्दा बढी राष्ट्रपति भएर बाहिरिएपछि २०८२ असार दोस्रो साता उहाँले पुनः पार्टी राजनीतिमै फर्किने घोषणा गर्नुभएको थियो । जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ पार्टी सदस्यता नवीकरण गरेको बताउनुभएको थियो । तर, पार्टीभित्रको शक्ति सन्तुलनमा उहाँको निर्णायक भूमिका हुने देखिएपछि अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले नै भण्डारीको पुनः राजनीतिक सक्रियतालाई रोकेका थिए । पार्टीभित्रको सन्तुलन पुनः बिग्रिएपछि अध्यक्ष ओली भण्डारीलाई पार्टीमा सक्रिय हुने बाटो खोल्न तयार हुनुभएको हो । भण्डारीले ११औँ महाधिवेशनअघि नै पार्टीमा सक्रिय भएर नेतृत्वमा आउने योजना बनाउनुभएको थियो । तर, सदस्यता नै नभएपछि भण्डारी सक्रिय हुन पाउनुभएको थिएन ।
भण्डारीको सक्रियताले तेस्रोपटक अध्यक्ष हुने ओलीको चाहनामा ब्रेक लाग्ने आशंकामा उहाँको सदस्यता रोकिएको थियो । २०८२ भदौमा भएको विधान महाधिवेशनमा विधानमा भएको दुई कार्यकालको व्यवस्था र ७० वर्षे उमेरहदको व्यवस्था हटाएर ओलीले तेस्रोपटक अध्यक्ष हुने बाटो खोल्नुभएको थियो । तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरू भने भण्डारीलाई सदस्यता दिनुपर्ने र दुई कार्यकाल तथा ७० वर्षे उमेरहद कायम राख्नुपर्ने पक्षमा थिए । गत वर्ष साउनकै केन्द्रीय समितिको बैठकले भण्डारीको सदस्यता खारेज नै गर्ने निर्णय गरेको थियो । २०८२ मंसिरमा भएको ११औँ महाधिवेशनमा विद्या भण्डारीले आफ्नै समूह बनाएर उम्मेदवारसमेत उठाएको चर्चा चलेको थियो, जसको नेतृत्व गरेर ओलीसँग ईश्वर पोखरेल चुनाव लड्नुभएको थियो ।
तत्कालीन एमाले महासचिव मदन भण्डारीको २०५० जेठ ३ मा चितवनको दासढुंगामा भएको रहस्यमय दुर्घटनापछि भण्डारी सक्रिय राजनीतिमा आउनुभएको थियो । उहाँ दुईपटक पार्टीको उपाध्यक्ष पनि हुनुभयो । उहाँ २०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा रक्षामन्त्रीसमेत बन्नुभएको थियो । ०५५ सालदेखि ०७२ सालसम्म १७ वर्षसम्म उहाँले अखिल नेपाल महिला संघको अध्यक्ष पदसमेत ओगट्नुभएको थियो । राष्ट्रपति हुनुपूर्व उहाँ एमाले उपाध्यक्ष हुनुहुन्थ्यो । संवैधानिक व्यवस्थाअनुसार नै राष्ट्रपति भएपछि भण्डारीले एमालेको सदस्यता त्याग्नुभएको थियो । एमालेको विधानमा भने वरिष्ठ नेताको व्यवस्था छैन । सचिवालयले गरेको निर्णय केन्द्रीय कमिटीले तत्काल अनुमोदन गर्ने र पछि विधान महाधिवेशनले विधानमा ‘वरिष्ठ नेता’ को पद कायम गर्ने रणनीति अपनाइएको हो ।
स्थायी कमिटीमा सात नेता मनोनीत, बादलको वरीयता घट्यो
एमालेले सात नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । ललितपुरमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले ईश्वर पोखरेलसहित सात नेतालाई स्थायी समितिमा मनोनीत गर्ने निर्णय गरेको हो । एमाले सचिवालय बैठकले गरेको प्रस्तावलाई केन्द्रीय समितिले अनुमोदन गरेको हो । स्थायी समितिमा मनोनीत हुनेमा पोखरेलसहित प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशिनाथ अधिकारी रहनुभएको छ ।
यसैगरी, एमालेले केही केन्द्रीय सदस्यसमेत मनोनीत गरेको छ । केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य कोटामा उनीहरूलाई मनोनीत गरिएको हो । सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रस्ताव गर्नुभएको नाम केन्द्रीय कमिटीले अनुमोदन गरेको हो । जसमध्ये काशीनाथ अधिकारी, देवराज घिमिरे, विमला घिमिरे, शिवमाया तुम्बाहाम्फे, हरि घिमिरे, प्रेम डंगोल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, शान्तिलाल महत, नन्दलाल देवकोटा, पाल्तेन शेर्पा, पुष्पा श्रेष्ठ, विनोद पाण्डे, जानुका सिंखडा हुनुहुन्छ । त्यस्तै, कौशला खत्री, महमुद इश्तियाक राई, प्रमोद यादव, डा. अब्दुल हुसेन, भवानी खापुङ, दीपक साउद, जया गोले, बाबी चाम्लिङ, श्रीप्रसाद शर्मा, धर्म निरौला, ध्रुवराज विष्ट, अर्जुन राई, धर्म गिरी र जी गुरुङ रहनुभएको छ । यता, विद्या भण्डारी वरिष्ठ नेता बनेसँगै उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को वरीयताक्रम घटेको छ । भण्डारी वरिष्ठ नेता बनेसँगै यसअघि अध्यक्ष ओलीपछि दोस्रो वरीयतामा रहनुभएका बादल तेस्रोमा पुग्नुभएको हो ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया