असोज ९, २०८३ शुक्रबार September 25, 2026

वधशालाको फोहोर अब मोहर

वधशालाबाट निस्कने कुनै पनि वस्तु खेर जान नदिने सरकारको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, साउन २१ गते । बर्सौंदेखि नेपालका अधिकांश वधशालाबाट निस्कने रगत, हड्डी, बोसो, छाला, सिङ, खुर र रौँलाई फोहोरका रूपमा मात्र हेरिँदै आएको छ । यी सहायक उत्पादन कतै खुला स्थानमा फालिन्छन्, कतै नदीनालामा बगाइन्छन् त कतै उचित व्यवस्थापनको अभावमा दुर्गन्ध, वातावरणीय प्रदूषण र सार्वजनिक स्वास्थ्यमा समस्या निम्त्याउने गरेका छन् । तर अब यही फोहोरलाई आर्थिक अवसरमा रूपान्तरण गर्ने सरकारी प्रयास सुरु भएको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को चरणबद्ध रूपमा देशभर कार्यान्वयनसँगै वधशालाबाट निस्कने सहायक उत्पादनको उपयोग र प्रशोधन गर्न सक्ने उद्योगहरू खोज्न थालिएको जानकारी दिनुभयो । उहाँले यस्ता उद्योग सञ्चालन गर्न इच्छुक वधशाला सञ्चालक, मासु व्यवसायी र प्रशोधन उद्योगलाई सरकारले सुरु गरेको तथ्याङ्क सङ्कलनमा सहभागी हुन आग्रह गर्नुभयो । “सरकारको उद्देश्य वधशालाबाट निस्कने कुनै पनि वस्तु खेर जान नदिने हो,” मन्त्री चौधरीले भन्नुभयो ।

नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोजकुमार शाहीका अनुसार मासु बिक्रीपछि बाँकी रहने अधिकांश सामग्री विभिन्न उद्योगका लागि बहुमूल्य कच्चा पदार्थ बन्न सक्छ । छालाबाट जुत्ता, झोला तथा अन्य छालाजन्य सामग्री उत्पादन गर्न सकिन्छ । त्यसै गरी हड्डीबाट बोन मिल, जैविक मल र पशु आहार बनाउन सकिन्छ । “बोसो साबुन तथा कस्मेटिक उद्योगका लागि कच्चा पदार्थ बन्न सक्छ भने रगतलाई प्रशोधन गरी मल र पशु आहार उत्पादनमा प्रयोग गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “सिङ र खुर हस्तकला उद्योगका लागि पनि उपयोगी सामग्री हुन् ।”

मन्त्रालयका अनुसार यस्ता सहायक उत्पादनको वैज्ञानिक उपयोगले वातावरणीय प्रदूषण घटाउनुका साथै वधशालाका लागि अतिरिक्त आम्दानीको स्रोतसमेत सिर्जना गर्ने छ । यसबाट नयाँ उद्योग स्थापना, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । नेपालमा मासुको माग बर्सेनि बढ्दै गए पनि त्यस अनुसार वधशाला आधुनिकीकरण हुन सकेको छैन । अझै पनि धेरै स्थानमा खुला ठाउँमै पशु वध गर्ने, स्वास्थ्य परीक्षणबिनै मासु बिक्री गर्ने तथा फोहोरको उचित व्यवस्थापन नगर्ने अवस्था रहेको छ । यही कारण उपभोक्ताको स्वास्थ्य, खाद्य सुरक्षा र वातावरणीय व्यवस्थापनबारे पटक पटक प्रश्न उठ्दै आएका छन् ।

सरकारले ऐनको प्रभावकारी कार्यान्वयनबाट यी समस्या समाधान हुने विश्वास लिएको छ । ऐन पूर्ण रूपमा लागु भएपछि वध गरिने प्रत्येक पशुको स्वास्थ्य परीक्षण अनिवार्य हुने छ । मासु उत्पादन, ढुवानी र बिक्रीवितरणमा स्वच्छता तथा गुणस्तरका मापदण्ड कडाइका साथ लागु गरिने छन् । यसबाट उपभोक्ताले सुरक्षित, स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अपेक्षा गरिएको छ ।

यसअघि सुर्खेत, हेटौँडा र बुटवलका केही वधशालामा ऐन कार्यान्वयनको अभ्यास भइसकेको छ । अब २०८३ मङ्सिर १ गतेदेखि काठमाडौँ, भक्तपुर र ललितपुरका सबै स्थानीय तहमा ऐन लागु गरिने छ ।

त्यसपछि २०८३ माघ १ गतेदेखि उपत्यकाबाहिरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा यसको विस्तार गरिने छ । सरकारले २०८४ साउन १ गतेदेखि देशभर ऐन पूर्ण रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखेको छ ।

पशु सेवा विभागले ऐन कार्यान्वयनका लागि आवश्यक कार्ययोजना तयार गरी मन्त्रालयमा बुझाइसकेको छ । सङ्घ, प्रदेश र स्थानीय तहबिच आवश्यक समन्वय पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ । विश्वका धेरै देशमा वधशालालाई मासु उत्पादन केन्द्र मात्र नभई बहुआयामिक औद्योगिक प्रणालीका रूपमा विकास गरिएको छ । त्यहाँ पशुका अधिकांश अङ्ग पुनः प्रयोग गरिन्छ र फोहोरको मात्रा न्यूनतम राखिन्छ ।

सरकारी योजना प्रभावकारी रूपमा कार्यान्वयन भएमा वधशालाबाट निस्कने फोहोर वातावरणको बोझ मात्र रहने छैन । यो उद्योगका लागि कच्चा पदार्थ, व्यवसायीका लागि अतिरिक्त आम्दानी, स्थानीय तहका लागि प्रभावकारी फोहोर व्यवस्थापन तथा उपभोक्ताका लागि सुरक्षित खाद्य प्रणाली निर्माणको आधार बन्ने अपेक्षा गरिएको छ ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः स्वास्थ्यमन्त्री मेहता
२०८३ असोज ९, शुक्रबार
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार