श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

‘जय नेपाल पार्टी’को उदय : राजावादी शक्तिमा विभाजन कि नयाँ ध्रुवीकरण ?

पार्टी दर्तापछि देशभर संगठन विस्तार गर्दै गाउँ-गाउँसम्म संरचना निर्माण गरिने र आगामी स्थानीय निर्वाचनलाई पहिलो राजनीतिक परीक्षा बनाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ गठनको घोषणा गरेसँगै राज संस्था र हिन्दूराष्ट्रको माग राख्दै सतहमा आएका दलहरूबीच तरंग पैदा भएको छ । धवलशमशेर राणाको नेतृत्वमा नयाँ दल गठनसँगै राजसंस्था र हिन्दूराष्ट्रको पक्षधर राजनीतिक धार थप विभाजित भएको देखिएको छ । राप्रपाभित्र लामो समयदेखि देखिएको नेतृत्व विवाद, कार्यशैलीप्रतिको असन्तुष्टि तथा एजेण्डा कार्यान्वयनमा देखिएको कमजोरीलाई आधार बनाएर नयाँ दलको उदय भएको विश्लेषण भइरहेको छ ।

जय नेपाल पार्टीले आफूलाई राजसंस्था र हिन्दू अधिराज्यको ‘नयाँ राजनीतिक प्लेटफर्म’का रूपमा प्रस्तुत गरेको भए पनि यसले आगामी निर्वाचनमा कति जनसमर्थन जुटाउन सक्छ भन्ने प्रश्न खुला नै छ । विशेषतः राप्रपाको परम्परागत मत आधारमा यसको प्रभाव, राजावादी शक्तिहरूबीचको ध्रुवीकरण तथा नयाँ दलको संगठन निर्माणको गतिले आगामी राजनीतिक समीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने राजनीतिक विश्लेषकहरूको आँकलन छ ।

राणाले हिन्दू अधिराज्य, संवैधानिक राजसंस्थाको पुनःस्थापना र लोकतान्त्रिक शासन प्रणालीलाई आफ्नो दलको प्रमुख राजनीतिक एजेण्डा बनाउने घोषणा गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत राणाले राप्रपाबाट अलग भएर नयाँ राजनीतिक यात्राको सुरुआत गरिएको जानकारी दिनुभएको हो । उहाँले पार्टीलाई आगामी साउन २८ गते निर्वाचन आयोगमा दर्ता गराउने तयारी भइरहेको जानकारी दिँदै देशको वर्तमान राजनीतिक दिशाप्रति असन्तुष्ट नागरिकलाई नयाँ विकल्प दिने उद्देश्यले दल स्थापना गरिएको जिकिर गर्नुभयो ।

राणाले नेपालबाट हिन्दूराष्ट्रको व्यवस्था हटाउनु ऐतिहासिक रूपमा गलत निर्णय भएको दाबी गर्दै त्यसलाई शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट पुनःस्थापना गरिने स्पष्ट पार्नुभयो । उहाँका अनुसार आन्दोलन, सडक संघर्ष तथा संसदीय प्रक्रियासहित उपलब्ध सबै संवैधानिक माध्यम प्रयोग गरी हिन्दू अधिराज्य पुनःस्थापनाका लागि पार्टीले अभियान सञ्चालन गर्नेछ ।

‘यो पार्टीको मूल विचार नेपाललाई सनातन धर्म सापेक्ष हिन्दू अधिराज्यका रूपमा पुनःस्थापित गर्नु हो । किराँत, बौद्धलगायत सबै धर्म र संस्कृतिलाई सम्मान गर्दै नेपाललाई विश्वकै एकमात्र हिन्दू अधिराज्यका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो’, उहाँले भन्नुभयो ।

राणाले आफूहरूले सक्रिय राजनीतिक हस्तक्षेप गर्ने राजसंस्था नभई अभिभावकीय, राष्ट्रिय एकताको प्रतीक तथा राष्ट्ररक्षकको भूमिकामा रहने संवैधानिक राजसंस्थाको पुनःस्थापना चाहेको स्पष्ट पार्नुभयो । ‘राजनीति नेपाली जनताका छोराछोरीले गर्ने हुन् । राजसंस्था भने अभिभावक, राष्ट्रिय एकताको केन्द्र र राष्ट्ररक्षकका रूपमा रहने व्यवस्था हाम्रो अवधारणा हो’, उहाँले भन्नुभयो ।

‘राप्रपाले एजेण्डा बेच्यो’

नयाँ पार्टी गठनको मुख्य कारण स्पष्ट पार्दै राणाले राप्रपामाथि आफ्ना मूल एजेण्डाप्रति इमानदार नभएको आरोप लगाउनुभयो । उहाँका अनुसार राप्रपाले तीन दशकभन्दा बढी समय राजसंस्था र हिन्दूराष्ट्रको नाममा जनमत मागे पनि अवसर प्राप्त हुँदा आफ्नै एजेण्डा कार्यान्वयन गर्न नसकेको आरोप लगाउनुभयो । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो । तर, जनताले अवसर दिँदा आफ्नै एजेण्डालाई अगाडि बढाउन सकेन । नेताहरूको व्यक्तिगत स्वार्थले मूल विचारलाई नै तिलाञ्जली दिइयो’, उहाँले आरोप लगाउनुभयो ।

उहाँले पछिल्लो निर्वाचनमा राप्रपाका अधिकांश उम्मेदवारको जमानत जफत हुनु पनि जनताले राजसंस्था वा हिन्दूराष्ट्रलाई अस्वीकार गरेको नभई राप्रपाको कार्यशैलीप्रतिको असन्तुष्टिको परिणाम भएको दाबी गर्नुभयो । ‘नेपाली जनताले हिन्दू अधिराज्य वा राजासहितको प्रजातन्त्रलाई नकारेका होइनन् । जनताले राप्रपाको कार्यशैलीलाई अस्वीकार गरेका हुन्’, उहाँले भन्नुभयो ।

पत्रकार सम्मेलनमा राणाले हिन्दूराष्ट्र पुनःस्थापनालाई आफ्नो राजनीतिक अभियानको केन्द्रबिन्दु बनाउने उद्घोष गर्नुभयो । उहाँले नेपालका अधिकांश नागरिक हिन्दू तथा ओमकार परिवारसँग सम्बन्धित रहेको उल्लेख गर्दै धर्म निरपेक्षताको औचित्यमाथि प्रश्न उठाउनुभयो । ‘यो देशमा ८२ प्रतिशत हिन्दू र ९४ प्रतिशत ओमकार परिवारका नागरिक छन् । यस्तो अवस्थामा कसको स्वार्थका लागि धर्म निरपेक्षता ल्याइयो ? भन्ने प्रश्न उठेको छ ।

आन्दोलनबाट होस् वा सदनबाट, हिन्दू अधिराज्य पुनःस्थापना गरेरै छाड्छौँ’, उहाँले भन्नुभयो । यद्यपि, उहाँले नयाँ पार्टीले कुनै पनि धर्म वा समुदायप्रति विभेद नगर्ने स्पष्ट पार्दै नेपाल सबै धर्मावलम्बीको साझा देश रहेको बताउनुभयो ।

‘यो देश सबै धर्म र संस्कृति मान्नेहरूको साझा देश हो । संख्याका आधारमा कसैप्रति विभेद गरिने छैन । सबैलाई सम्मान गर्दै बहुसंख्यक नेपालीको आत्मसम्मान र राष्ट्रिय पहिचानको संरक्षण गर्ने उद्देश्यले हिन्दूराष्ट्रको पक्षमा उभिएका हौँ’, उहाँले स्पष्ट पार्नुभयो ।

राणाले हिन्दू अधिराज्य धार्मिक मुद्दा मात्र नभई आर्थिक विकाससँग पनि जोडिएको विषय भएको दाबी गर्नुभयो । उहाँका अनुसार हिन्दूराष्ट्र कायम भए नेपाल विश्वभरका हिन्दूहरूको प्रमुख धार्मिक गन्तव्य बन्नसक्ने, धार्मिक पर्यटन विस्तार हुने तथा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ । ‘विश्वभरका हिन्दूहरूको गन्तव्य मुलुक बनाउन सकियो भने धार्मिक पर्यटनमार्फत ठूलो आर्थिक सम्भावना सिर्जना हुन्छ’, उहाँले भन्नुभयो ।

युवा र महिला केन्द्रित संगठन निर्माण

नयाँ पार्टीलाई युवा तथा महिला केन्द्रित लोकतान्त्रिक संगठनका रूपमा विकास गरिने घोषणा गर्दै राणाले केन्द्रीय समितिको औसत उमेर ४५ वर्ष कायम गर्ने लक्ष्य सार्वजनिक गर्नुभयो । उहाँले जिल्ला तथा निर्वाचन क्षेत्रबाटै प्रतिनिधित्व सुनिश्चित गर्दै संगठन निर्माण गरिने जानकारी दिनुभयो । पार्टीभित्र नेतृत्वले निर्णय लाद्ने प्रवृत्तिको अन्त्य गर्दै सामूहिक नेतृत्व र आन्तरिक लोकतन्त्रलाई संस्थागत गरिने उहाँको भनाइ थियो ।

‘हरेक विषयमा गहन छलफल हुनेछ । सकेसम्म सर्वसम्मतिबाट, नभए बहुमतबाट निर्णय गरिनेछ । यो कुनै व्यक्तिको पार्टी होइन, सबै सदस्यको साझा पार्टी हुनेछ’, उहाँले भन्नुभयो । उहाँका अनुसार युवालाई नेतृत्वमा ल्याउने, महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने तथा स्थानीय तहबाटै नेतृत्व विकास गर्ने नीति पार्टीले अवलम्बन गर्नेछ ।

‘खुसी पार्टी’ बनाउने घोषणा

अन्य दलभित्र बढ्दो आन्तरिक विवाद, गुटबन्दी र असन्तुष्टिको सन्दर्भ उल्लेख गर्दै राणाले आफ्नो दललाई ‘खुसी पार्टी’ बनाउने घोषणा पनि गर्नुभयो । ‘राजनीतिक दलभित्र नै मानिसहरू असन्तुष्ट छन् । हामी यस्तो वातावरण बनाउँछौँ जहाँ कार्यकर्ता र नेता खुसी भएर काम गर्न सकून्’, उहाँले भन्नुभयो । राणाले आफ्नो अध्यक्षतामा पार्टी दर्ता हुने जानकारी दिँदै व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई पार्टीको सर्वमान्य नेताका रूपमा अघि बढाउने तयारी रहेको जानकारी दिनुभयो । उहाँले यस विषयमा थप संगठनात्मक प्रक्रिया पूरा गरिने बताउनुभयो ।

पार्टी दर्तापछि देशभर संगठन विस्तार गर्दै गाउँ-गाउँसम्म संरचना निर्माण गरिने र आगामी स्थानीय तहको निर्वाचनलाई पहिलो राजनीतिक परीक्षा बनाइने राणाले बताउनुभयो । स्थानीय तहमा उम्मेदवार चयन गर्दा नेतृत्वको व्यक्तिगत निर्णयभन्दा जनमतलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो । ‘हामी जनताले चाहेको व्यक्तिलाई नै उम्मेदवार बनाउनेछौँ । यहाँ मेरो-तेरो भन्ने हुँदैन’, उहाँले भन्नुभयो । हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया