असार १८, २०८३ बिहिबार July 2, 2026

अस्पताल आउने बिरामीले अब अनलाइनबाटै टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने

रगत परीक्षणलगायतको रिपोर्ट पनि मेसिनबाटै लिने व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । बिरामीको उच्च चापका कारण लामो समय लाइन बस्नुपर्ने भरतपुर अस्पताल आउने बिरामीले अब अनलाइनबाटै टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने भएका छन् ।

दैनिक तीन हजार हाराहारी बिरामी आउँदा चाप थेग्न कठिन भइरहेका बेला अस्पतालले प्रविधिको प्रयोग गरी बिरामीलाई सहज बनाउन लागेको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार अस्पतालमा रहेको पुरानो मेसिनलाई मर्मतसंहार गरी थप अर्को मेसिन जडान गरेर आजदेखि परीक्षणका रूपमा टिकट काट्न र रिपोर्ट लिन मिल्ने व्यवस्था गर्न लागिएको हो। मोबाइल वा कम्प्युटरबाट टिकट काट्न, विवरण लिन र भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको उनले जानकारी दिए।

पहिला पनि अस्पतालले अनलाइन टिकट काट्ने व्यवस्था गरेको भए पनि अस्पतालमा आएर लाइन बसेर टिकट प्रिन्ट गर्नुपर्ने बाध्यता थियो। प्रभावकारिताका आधारमा मेसिन थप गर्दै लगिने उनले बताए। हाल अस्पतालमा १० वटा काउन्टरबाट टिकट काट्ने गरिएको छ। क्रमशः नसक्नेका लागि एकदुई वटा मात्रै काउन्टर राख्ने योजना रहेको उनले बताए। उनले भने, “म अस्पताललाई काउन्टरलेस बनाउने योजनामा छु, नसक्नेहरूका लागि एकदुई वटा काउन्टरमा झार्नुपर्छ।”

मोबाइल एपबाट समेत काम गर्न मिल्ने गरी योजना बनाएको डा. बगालेले बताए। स्वास्थ्य बिमा कार्ड स्क्यान गरेर बीमाको बाँकी रकम र मान्य अवधिसमेत हेर्न मिल्ने व्यवस्था अस्पतालले गरेको छ। आजदेखि परीक्षण थाले पनि मेसिन र भौतिक रूपमा काउन्टरबाट टिकट काट्ने दुवै कामसँगै हुनेछ। क्रमशः काउन्टर घटाउँदै लैजाने उनले बताए।

रगत परीक्षणलगायतको रिपोर्ट पनि मेसिनबाटै लिने व्यवस्था गरिएको छ। परीक्षण गर्दा दिइएको रसिदमा रहेको बारकोड मेसिनमा राखेर रिपोर्ट आउने व्यवस्था गरिएको छ। यहाँ चितवनसहित छिमेकी जिल्लाबाट बिरामी आउने गर्छन्। निजी अस्पतालमा स्वास्थ्य बिमा बन्द भएपछि यहाँ बिरामीको चाप बढ्दै गएको छ। अस्पताल आउने ७० प्रतिशतभन्दा बढी बिरामी बीमाका हुन्छन्। सबै सुविधा अस्पतालमै हुने भएपछि टाढाटाढाबाट पनि बिरामी आउने गरेका छन्। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया