धम्बोझी, असार २१ गते । कोहलपुरको मैटहवामा ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रमको औपचारिक रुपमा सुरु गरिएको छ ।
फिफा मास्टर विप्लव गौतमले एन्फा बाँकेका फुटबल प्रशिक्षक युवराज शाहीलाई बल हस्तान्त्रण गर्दै प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
उद्घाटन समारोहमा बाँकेको फुटबल विकासमा महत्वपुर्ण सहयोग गरेको भन्दै गौतमलाई बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले सम्मान गर्नु भएको थियो ।
बिरबल फुटबल एकेडेमीले कोहलपुर नगरपालिका वडा नम्बर ३ मैटहवा स्थित ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम संचालन गरिरहेको छ । जहाँ १६ वटा निजी तथा सामुदायिक विद्यालयका १ सय ७० भन्दा बढी बालबालिकाहरुलाई हरेक हप्ताको शनिबार, आइतबार र विदाको दिन विहान नि:शुल्क रुपमा फुटबल प्रशिक्षण गराईन्छ ।
बिरबल फुटबल एकेडेमीको अध्यक्ष आशादेवी शाहीले उद्घाटन समारोहमा सहभागि सम्पुर्णलाई धन्यवाद दिदै फुटबलको माध्यमबाट बालबालिकालाई खेलमा अभिरुची जगाउने प्रयास गरिएको बताउनु भयो ।
प्रमुख अतिथी गौतमले बिरबल फुटबल एकेडेमीले सुरुआत गरेको ग्रासरुट प्रशिक्षण कार्यक्रम निकै फलदायी हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘फुटबलमा बालबालिको रुची जगाउनु पर्छ । उहाँहरुले फुटबल खेल्न आनन्द मान्नु भयो भने यस प्रति आर्कषण बढदै जान्छ । यसले नेपाली फुटबललाई विकासको जग बसाल्न सहयोग गर्छ ।’’
वर्तमान नेपाली फुटबलको अवस्थाको बारेमा बताउँदैं गौतमले भन्नु भयो, ‘‘एन्फा अहिले प्रतिबन्धमा छ । तर नेपाली फुटबल एन्फा भन्दा धेरै माथी छ । नेपाली फुटबलको नेतृत्वमा बसेका व्यक्तिहरु भन्दा हजारौ जनाले यसरी गाउँघरमा, जिल्ला जिल्लामा फुटबलको विकासको लागि काम गरिरहनु भएको छ । उहाँहरुको समर्पण महत्वपुर्ण छ नेपाली फुटबलका लागि ।’’
बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले गौतमले बाँकेको फुटबल विकासमा धेरै सहयोग गर्नु भएको बताउनुभयो ।
उहाँले भन्नु भयो, ‘‘गौतम जी हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं । यहाँको साथ र सहयोगले हामीलाई सधै फुटबलमा सक्रिय रहन उर्जा मिल्ने गरेको छ । उहाँले कोहलपुर आएर ग्रासरुट फुटबल प्रशिक्षणको उद्घाटन गर्नु हाम्रो लागि खुसी कुरा हो ।’’गोप
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया