काठमाडौं। पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वेले फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा ऐतिहासिक स्थान बनाएको छ।
अमेरिकाको मेटलाइफ रङ्गाशालामा आइतबार सम्पन्न प्रि–क्वाटरफाइनल खेलमा नर्वेका स्टार फरवार्ड अर्लिङ हालान्ड नायक बने। उनले खेलको अन्तिम ११ मिनेटभित्र दुई गोल गर्दै नर्वेलाई सनसनीपूर्ण जित दिलाए।
पहिलो हाफमा दुवै टोलीले केही राम्रो अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। ब्राजिलले बलमाथि बढी नियन्त्रण कायम राखे पनि नर्वेको सुदृढ रक्षापंक्तिलाई भेद्न असफल रह्यो।
खेलको ७९औँ मिनेटमा आन्द्रेस सेलड्रुपको उत्कृष्ट पासलाई सदुपयोग गर्दै हालान्डले गोल गरेपछि नर्वेले अग्रता लिएको थियो। त्यसपछि निर्धारित समयको ९०औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै नर्वेको जित लगभग सुनिश्चित गरे।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा ब्राजिलले पेनाल्टीको अवसर पायो। कप्तान नेयमारले पेनाल्टीलाई गोलमा परिणत गर्दै अन्तर घटाए पनि त्यसपछि बराबरी गोल फर्काउन सकेनन्।
ब्राजिलले अन्तिम मिनेटहरूमा लगातार दबाब बनाए पनि नर्वेका खेलाडीले उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै अग्रता जोगाए। नर्वेले प्रतियोगिताको बलियो दाबेदार मानिएको ब्राजिललाई स्तब्ध पार्दै अन्तिम आठमा स्थान सुरक्षित गर्यो।
यस हारसँगै पाँच पटकको विश्व विजेता ब्राजिलको विश्वकप यात्रा प्रि–क्वाटरफाइनलबाटै समाप्त भएको छ भने नर्वेले क्वाटरफाइनलमा आत्मविश्वासका साथ अर्को चुनौती सामना गर्नेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया