धरान (सुनसरी), २७ असारः सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रामधुनी मन्दिरमा निर्माण गरिएको १०८ धारा, धर्मशालालगायतका संरचनाले मन्दिर क्षेत्रको आकर्षण थप बढाएको छ । पछिल्ला वर्षहरूमा भएका पूर्वाधार विकाससँगै नेपालका विभिन्न जिल्लाका साथै भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ ।
त्रेतायुगमा भगवान् श्रीरामले वनवासका क्रममा धुनी बालेर एक रात विश्राम गरेको र आफ्ना खराउ यहीँ छाडेको धार्मिक विश्वाससँग जोडिएको रामधुनी मन्दिर पछिल्ला वर्षमा धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विस्तार हुँदै गएको छ । रामधुनी जङ्गलको बीचमा रहेको यस मन्दिरमा दैनिक दर्शनार्थी पुग्ने गरेका छन् । रामनवमी, विवाहपञ्चमी, ऋषिपञ्चमी, शिवरात्रि, तीजलगायत पर्वमा भक्तजनको उहाँ उल्लेख्य घुइँचो लाग्ने गरेको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीका अनुसार सङ्घीय सरकार, रामधुनी नगरपालिका तथा अन्य निकायको सहयोगमा मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउने काम भइरहेको छ । उहाँका अनुसार सङ्घीय सरकारको रु एक करोड ३५ लाखबाट निर्माण गरिएको १०८ धारा अहिले मन्दिर परिसरको प्रमुख आकर्षण बनेको छ । धारा निमार्ण भएपछि यहाँ मन्दिरमा आउने तिर्थालुले स्नान गर्न पाउनुका साथै यसले धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
त्यसैगरी रामधुनी मन्दिर परिसरमा सङ्घीय सरकार र रामधुनी नगरपालिकाको आधा आधा लगानी गर्ने गरी रु दुई करोडको लगानीमा धर्मशाला निर्माण भइरहेको छ । साथै कोशी प्रदेश पर्यटन कार्यालय विराटनगरको रु ५० लाखबाट तपस्वीथानमा सिँढी तथा सीताकुण्ड आसपास टायल बिछ्याउने काम सम्पन्न भएको छ । गुठी संस्थानको रु पाँच लाख सहयोगमा यस अघि सीताको मूर्ति निर्माण गरिएको समितिका अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
अध्यक्ष कार्कीका अनुसार मन्दिर परिसरमा प्रवेशद्वार, कमलकुण्ड वरिपरि रेलिङ, घेराबार तथा अन्य आवश्यक संरचना निर्माण भइसकेका छन् । साथै रामदरबार, अष्टचिरञ्जीवी मन्दिर, श्रीयन्त्र मन्दिर, श्रीचन्द्र बाबा वनस्खण्डी तथा प्रीतमदास मन्दिर निर्माणको काम पनि अघि बढेको छ ।
इटहरीबाट घुम्न आउनुभएका सन्जोग श्रेष्ठले मन्दिर परिसरमा निर्माण गरिएको १०८ धाराले रामधुनीको आकर्षण थप बढाएको बताउनुभयो । यस्ता पूर्वाधारले धार्मिक पर्यटन प्रवद्र्धनमा सकारात्मक योगदान पुग्ने उहाँको भनाइ छ । व्यवस्थापन समितिका अनुसार मन्दिरमा भक्तजनको आगमन बढ्दै गएको छ । प्राकृतिक वातावरण, धार्मिक आस्था र नयाँ पूर्वाधारको संयोजनले रामधुनी मन्दिर पूर्वी नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको स्थानीय बताउँछन् ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया