काठमाण्डौं । अमेरिकाको मियामी स्टेडियममा भएको रोमाञ्चक क्वाटरफाइनल खेलमा नर्वेलाई २–१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ ।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि थपिएको समयमा निर्णायक गोल गर्दै इग्लयान्डले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । पहिलोपटक क्वार्टरफाइनलमा पुगेको नर्वेले सुरुवाति अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
खेलको ३६औं मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । नर्वेले त्यसलाई जोगाउन सकेन । त्यसको ११ मिनेटपछि पहिलो हाफको इन्जुरी समयमा इंग्ल्यान्डका जुड बेलिंघमले बराबरी गोल फर्काए ।
दोस्रो हाफका दुवैतर्फबाट गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको तेस्रो मिनेटमा बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र इंग्ल्यान्डले सेमिफाइनलमा स्थान पक्का गर्यो ।
इंग्ल्यान्ड विश्वकप इतिहासमा चौथोपटक सेमिफाइनलमा पुगेको हो । सन् १९६६ मा च्याम्पियन बनेको इंग्ल्यान्ड सन् १९९० र २०१८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । सन् २०२२ मा भने क्वार्टरफाइनलमा रोकिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया