श्रावण १०, २०८३ आइतबार July 26, 2026

इबोला प्रकोपले बढायो विश्व चिन्ता

अधिकांश नयाँ सङ्क्रमित पहिलेदेखि निगरानीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अबुजा, साउन ८ गते । कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै एक हजारभन्दा बढी मानिसको ज्यान लिएको छ । यो गति सन् २०१४/२०१६ को इतिहासकै सबैभन्दा भीषण इबोला महामारीको तुलनामा झण्डै तीन गुणा तीव्र रहेको तथ्याङ्कले देखाएको छ र यसले स्वास्थ्य अधिकारीलाई थप चिन्तित बनाएको छ ।

कङ्गोको स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबारसम्म हालको प्रकोपमा दुई हजार ५३६ जना सङ्क्रमित पुष्टि भएका छन् भने एक हजार ३३ जनाको मृत्यु भइसकेको छ । यो प्रकोप गत मे १५ मा औपचारिक रूपमा घोषणा गरिएको थियो । सन् २०१४/२०१६ को महामारीमा २८ हजारभन्दा बढी सङ्क्रमण र ११ हजारभन्दा बढी मृत्यु भएका थिए ।

त्यसबेला पहिलो सङ्क्रमण देखिएदेखि एक हजार जनाको मृत्यु हुन करिब आठ महिना लागेको थियो । तर यस वर्षको प्रकोपमा त्यही सङ्ख्या दुई महिनाभन्दा केही बढी अवधिमै पुगेको छ । त्यस्तै, दुई हजार ५०० सङ्क्रमितको आँकडा पनि अघिल्लो महामारीको तुलनामा करिब तीन गुणा छिटो पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार इबोला रोग इबोला भाइरस समूहका विभिन्न प्रकारका भाइरसबाट फैलिन्छ ।

तीमध्ये इबोला भाइरस, सुडान भाइरस र बुन्डिबुग्यो भाइरसले ठूला प्रकोप निम्त्याउने गरेका छन् । यस वर्षको प्रकोप बुन्डिबुग्यो भाइरसका कारण फैलिएको हो । यो दुर्लभ प्रकारको भाइरस भएकाले यसको स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन । सन् २०१४/२०१६ को महामारी भने सबैभन्दा सामान्य मानिने इबोला भाइरसका कारण फैलिएको थियो ।

हालको प्रकोप मुख्यरूपमा कङ्गोमै सीमित रहेको छ । केही सङ्क्रमण युगान्डामा देखिए पनि अधिकांश प्रभावित क्षेत्र युगान्डा सीमावर्ती पूर्वी कङ्गोका पाँच प्रान्तमा केन्द्रित छन् । यसको विपरीत, सन् २०१४–२०१६ को महामारी लाइबेरिया, सियरा लियोन र गिनीसहित पश्चिम अफ्रिकाका धेरै मुलुकमा फैलिएको थियो । त्यस बेला संयुक्त राज्य अमेरिका र युरोपमा पनि सीमित सङ्ख्यामा सङ्क्रमण पुष्टि भएका थिए ।

यस वर्षको प्रकोपमा हालसम्म करिब ४० प्रतिशत मृत्युदर रहेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार अधिकांश बिरामीले लक्षण देखिएपछि ढिलो स्वास्थ्य संस्थामा पुगेका कारण मृत्यु बढेको हो । अघिल्लो महामारीमा भने मृत्युदर करिब ६६ प्रतिशत पुगेको थियो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार इबोला भाइरस समूहका भाइरस मध्ये इबोला भाइरस सबैभन्दा घातक मानिन्छ ।

उपचार नपाएमा यसबाट सङ्क्रमित मध्ये ९० प्रतिशतसम्मको मृत्यु हुन सक्ने जोखिम रहने उल्लेख गरिएको छ । स्वास्थ्य अधिकारीहरूले हालको प्रकोप अझै चरम अवस्थामा नपुगेको चेतावनी दिएका छन् । उनीहरूका अनुसार पहिलो सङ्क्रमितको स्रोत अझै पहिचान हुन सकेको छैन । अधिकांश नयाँ सङ्क्रमित पहिलेदेखि निगरानीमा रहेका सम्पर्क सूचीभन्दा बाहिरबाट भेटिनु, साथै भाइरसको प्रकार पहिचानमा भएको ढिलाइले प्रकोप नियन्त्रणलाई अझ चुनौतीपूर्ण बनाएको छ ।

सन् २०१४/२०१६ को इबोला महामारी करिब तीन वर्षसम्म चलेको थियो । पहिलो सङ्क्रमण डिसेम्बर २०१३ मा देखिए पनि मार्च २०१४ मा मात्र प्रकोप पुष्टि भएको थियो र त्यसलाई जुन २०१६ मा समाप्त भएको घोषणा गरिएको थियो । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
२०८३ श्रावण १०, आइतबार
बाल साहित्यका सात कथा सङ्ग्रह एकसाथ सार्वजनिक
२०८३ श्रावण १०, आइतबार
पार्टी एकता सहमतिउन्मुख : सभापति थापा
२०८३ श्रावण १०, आइतबार
एपिएफ स्कूलका लेखा अधिकृत गुरुङ र व्यवसायी लामा न्यायिक हिरासतमा
२०८३ श्रावण १०, आइतबार
प्रश्नपत्र चुहावटः यसरी सम्भव भयो २४ घण्टाभित्रै आरोपित पक्राउ
२०८३ श्रावण १०, आइतबार
सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन
२०८३ श्रावण १०, आइतबार
जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव
२०८३ श्रावण १०, आइतबार