मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

प्रदेश सभासदस्य यादव सहित २७ जना कोरोना सङ्क्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुहुँदै सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गर्न आग्रह गरेका छन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले समेत पुष्टि गरे । कोरोना सङ्क्रमित यादवले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।

प्रदेशसभा सदस्य यादवसहित जिल्लामा नयाँ २७ जनामा कोरोना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । रुपनी गाउँपालिका एक जनप्रतिनिधि र ३ जनासहित रुपनी गाउँपालिकाका ११ जना, राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका ४ जना कर्मचारीसहित राजविराजका ९ जना सङ्क्रमित भएका छन् ।

यस्तै तिलाठी कोइलाडी गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीका छोरा, श्रीमती र आमा, राजविराजमा कार्यरत सिरहाका ३० वर्षीय चिकित्सक र ३५ वर्षीय नर्स तथा शम्भुनाथ नगरपालिका–६ का एक जना पुरुष सङ्क्रमित हुनु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीमा पाँच दिन अघि सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा हालसम्म १ हजार ४०१ जना कोरोना सङ्क्रमित भएकोमा १ हजार ११२ जना निको भएका छन् । मृत्यु हुनेमा ३ महिलासहित २१ जना छन् । ­­­रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया