श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

६० केजीमुनि खगेन्द्र रोकामगर, ७० केजीमुनि दानबहादुर दर्लामी र ९० केजीमुनि रविन नेपालले प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । बक्सिङ टोलीले बिसौँ एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसामस्थित गुवाहटीमा गर्ने भएको छ । यसका लागि सात खेलाडीसहित नौ सदस्यीय नेपाली टोली सोमबार भारत जाँदैछ ।

जापानको आइचीरनागोयामा आगामी असोज ३ गतेदेखि सुरु हुने एसियाली खेलकुदमा चार पुरुष र तीन महिला मुक्केवाजले नेपालको चुनौती पेस गर्नेछन् । पुरुष ५५ केजीमुनि चन्द्रबहादुर थापा, ६० केजीमुनि खगेन्द्र रोकामगर, ७० केजीमुनि दानबहादुर दर्लामी र ९० केजीमुनि रविन नेपालले प्रतिस्पर्धा गर्नेछन् ।  महिला ५१ केजीमुनि रमिशा श्रेष्ठ, ५४ केजीमुनि अस्मिता तामाङ र ६५ केजीमुनि कुसुम तामाङ सहभागी हुनेछन् ।

खेलाडीले स्पोट्र्स अथोरिटी अफ इन्डिया (साइ) अन्तर्गत नेसनल सेन्टर अफ एक्सिलेन्समा ४० दिन तयारी प्रशिक्षण गर्ने नेपाल बक्सिङ महासङ्घका सचिव पुष्करराज पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार टोली त्यतैबाट जापान जानेछ ।

रविनबाहेक सबैको पहिलो एसियाड सहभागिता हो । रविनले १९औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए । चन्द्र सन् २०२५ मा दुबईमा भएको आइबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कास्य पदक विजेता पनि हुन् । चन्द्रको कास्य पदक नेपाली बक्सिङको इतिहासमा हालसम्मकै ठूलो हो । प्रशिक्षकमा राज श्रेष्ठ तथा दीपक महर्जन छन् । व्यवस्थापकमा नेपाल बक्सिङ महासङ्घका महासचिव मानबहादुर भण्डारी रहेका छन् । भण्डारी केहीसमय पछि भारत जानेछन् ।

एसियाली खेलकुदमा समग्रमा बक्सिङले तीन फरक संस्करणमा हालसम्म छ कास्य पदक जितेको छ । बक्सिङले दक्षिण कोरियाको सिओलमा सन् १९८६ मा भएको १०औँ संस्करणमा पहिलोपटक पदक जितेको थियो । त्यसबेला दलबहादुर रानामगर, तुलबहादुर थापा, सुशील पोखरेल र मनोजबहादुर श्रेष्ठले कास्य पदक जितेका थिए । बाँकी दुई संस्करणमा बक्सिङले पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो ।

सन् १९९० मा चीनको बेइजिङमा भएको ११औँ संस्करणमा चित्रबहादुर गुरुङ तथा सन् २०१० मा चीनकै ग्वाङझावमा भएको १६औँ एसियाडमा हालका टोलीका प्रशिक्षकमध्येका दीपकले नेपाललाई कास्य पदक दिलाएका थिए । दक्षिण कोरियाको इन्चोनमा भएको १७औँ संस्करणदेखि बक्सिङ पदकविहीन छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेलगायतले आज यहाँ आयोजित एक कार्यक्रमका बीचमा बिदाइ गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया