श्रावण २४, २०८३ आइतबार August 9, 2026

बेनी अस्पतालमा डायलिसिस सेवा विस्तार

सङ्घीय सरकारले उपलब्ध गराएको दुई वटा मध्ये एक वटा डायलिसिस मेसिन बिग्रीएपछी..............

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी । म्याग्दीको बेनीमा रहेको प्रदेश अस्पतालमा डायलिसिस सेवा विस्तार भएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा अस्पतालले डायलिसिस सेवा विस्तार गरेपछि म्याग्दीका मृगौलाका बिरामीहरूलाई सहज भएको छ । डायलाइसिसका लागि पोखरा, पर्वत, बागलुङ र काठमाडौँका अस्पताल जाँदा हुने झन्झट, समय र खर्चको बचत भएको धवलागिरी गाउँपालिका–४ बाँसबोटका सन्तोषकुमार पुर्जाले बताउनुभयो ।

विसं २०७७ साउन २५ गते पाँच वटा उपकरणबाट सुरु भएको बेनी अस्पताललाई प्रदेश सरकारले हालै थप तीन वटा डायलिसिस उपकरण उपलब्ध गराएको थियो । चालु रहेका नौ वटा मेसिनको सहायताले दैनिक ४५ जनालाई डायलिसिस सेवा उपलब्ध गराउन सकिने अस्पतालका प्रमुख डा हेमन्त बाँस्तोलाले बताउनुभयो ।

“यसअघि ३७ जनाले डायलिसिस सेवा लिइरहेको बेनी अस्पतालमा हाल ४० जना पुगेका छन्”, उहाँले भन्नुभयो, “प्रतीक्षा सूचीमा रहेका १० जना मृगौलाका बिरामीलाई बेनीमै डायलिसिस सेवा उपलब्ध गराउन सम्पर्क गरेका छौँ ।”

एक जना अमेरिकामा रहेका म्याग्दीका मृगौला रोगीले बेनीमै डायलिसिस गराउन सम्पर्कमा आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर बानियाँले बताउनुभयो । सङ्घीय सरकारले उपलब्ध गराएको दुई वटा मध्ये एक वटा डायलिसिस मेसिन बिग्रीएको छ ।

दुई वटा मेसिनलाई जगेडामा राखिएको छ । यसअघि प्रादेशिक जनस्वास्थ्य कार्यालयको भवनको भुईँ तलाको साँघुरो कोठामा डायलिसिस सेवा सञ्चालन भएको थियो । अस्पतालको यसअघि भण्डारण कक्ष रहेको भवनमा डायलिसिस कक्ष स्थानान्तरण गरिएको हो ।

बेनीका योगनाथ शर्माले फराकिलो भवनमा डायलिसिस गराउन सहज भएको बताउनुभयो । थप स्वास्थ्यकर्मीलाई डायलिसिस सेवा सञ्चालनसम्बन्धी तालिम, निर्माणाधीन भवनलाई पूर्णता दिएर त्यहीँबाट सेवा सञ्चालन गर्न र मृगौला रोगीहरूले एक पटक बिमा गरेर जीवनभर सेवा पाउने व्यवस्था मिलाउन आवश्यक रहेको शर्माले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया