काठमाडौं, २४ साउन। आगामी बिहिवार राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठक बस्ने भएको छ ।
आसन्न २०औं एसियाली खेलकुदमा सहभागिता, १०औं राष्ट्रिय खेलकुदको आयोजना, कर्मचारी भर्ति तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को विवादमाथि छलफल गर्नका लागि बोर्ड बैठक बोलाइएको हो ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताले यही साउन २८ गते बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयको डकुमेन्टेसन हलमा बस्ने गरि १२५औं बोर्ड बैठक बोलाएको जानकारी दिएका छन ।
राखेपका अध्यक्ष शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बस्ने बैठकका लागि ९ वटा एजेन्डा तय गरिए पनि छलफल एसियाली खेलकुद, राष्ट्रिय खेलुकद, कर्मचारी भर्ति र एन्फाको विवादमाथि केन्द्रित हुने जनाइएको छ ।
सदस्यसचिव मेहताले बोर्ड सदस्यहरुलाई बैठकमा उपस्थित हुन पठाएको पत्र अनुसार पहिलो एजेन्डामा यही सेप्टेम्बर १९ (असोज ३० देखि अक्टोबर ४) असोज १८० सम्म जापानको नागोयामा हुने २०औं एसियाली खेलकुद राखिएको छ ।
एसियाली खेलकुदमा नेपालका तर्फबाट सहभागिता जनाउने खेल, खेलाडी, प्रशिक्षक र अफिसियलहरुको संख्या तथा नाम अनुमोदन गर्ने, एसियाली खेलकुदको सञ्चालन तथा व्यवस्थापन निर्देशिका पास गर्ने, तयारी तथा सहभागिताको विषयमा बजेट र मान्यता तय गर्ने विषयमा छलफल हुने एजेन्डामा उल्लेख छ ।
राखेपले यसअघि नै एसियाली खेलकुदमा पहिलो पटक दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित २२ खेलमा १३६ खेलाडी र ३२ प्रशिक्षकसहित १६८ जनालाई सहभागी गराउने निर्णय गरिसकेको छ ।
यसैगरी दुई वर्षअघि नै सुर्खेतलाई केन्द्र बनाएर कर्णाली प्रदेशमा गरिनुपर्ने १० औं वृहत राष्ट्यि खेलकुद महोत्सव आयोजनाको विषय एजेन्डाको दोस्रो बूँदामा छ । २०७९ सालमा पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा नवौं वृहत राष्ट्रिय खेलकुद आयोजना गरिएको थियो । त्यही प्रतियोगिताको समापन समारोहमा १०औं संस्करण २०८१ साल मंसिरमा कर्णाली प्रदेशमा गर्ने घोषणा गरिएको थियो । तर, पटकपटक मिति सारे पनि १०औं राष्ट्रिय खेलकुद अहिलेसम्म हुन सकेको छैन् ।
बैठकमा १०औं वृहत राष्ट्रिय खेलकुदमा समावेश गरिने खेल, आयोजनाको मिति, राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका र प्रतियोगिताको बजेट तथा मान्यता सम्बन्धमा छलफल हुनेछ ।
यसैगरी, राखेपको चालु आर्थिक वर्षको बजेट, राखेपको आन्तरिक अनुमानित आयव्यय, ग्रासरुट कार्यक्रम सञ्चालन, खेल संघहरुलाई दिइने अनुदान लगायतका विषयमा बोर्ड बैठकमा छलफल गरिने अर्को एजेन्डामा उल्लेख छ ।
एजेन्डाको ५ र ६ नम्बरमा कर्मचारी नियुक्तिका विषय राखिएको छन् । जसअनुसार उपसचिवसरहको सुविधा हुने गरि १ जना सिभिल इन्जिनियर, सिभिल, आर्किटेक्ट, इलेक्ट्रिकल, स्ट्रक्चरल इन्जिनियर ४ जना, अधिकृत तृतीय श्रेणीको सुविधा हुने गरि २ जना आइटी विज्ञ र कानूनी सल्लाहकारको सेवा करारमा लिने विषयमा बोर्डले निर्णय गर्नेछ ।
साथै, सरकारी हस्तक्षेपको कारण इतिहासमै पहिलो पटक एन्फा अन्तर्राष्ट्रय निलम्बनमा परेको एन्फाका बारेमा पनि छलफल हुने बुझिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया