काठमाण्डाैंः रुसले अर्मेनिया र अजरबैजानबीचको विवादास्पद नागोर्नो कारावाख क्षेत्रमा गरिएको युद्धविरामको पालना गर्न रुसले दुवै पक्षलाई आग्रह गरेको छ ।
रुसका रक्षामन्त्री सेर्गेइ सउगीले सो आग्रह गर्नुभएको हो । उहाँले आज अर्मेनिया र अजरबैजानका रक्षामन्त्रीहरुलाई फोन गरेर रुसको पहलमा भएको उक्त युद्धविरामका शर्त पालना गर्न आग्रह गर्नुभएको बताइएको छ ।
रुसको पहलमा एक हप्ता अघि रुसको राजधानी मस्कोमा यी दुई देशबीच काराबाख क्षेत्रको विषयलाई लिएर युद्ध विराम भएको थियो । तर पनि उक्त युद्ध विरामको उल्लंघन भइरहेको छ । रुसमा गरिएको अस्थायी युद्धविराम सहमतिलाई उल्लंघन गर्दै दुवै पक्ष आक्रमणमा उत्रिएका समाचारहरु पछिल्ला केही दिन यतादेखि नै आइरहेका छन् ।
नागोर्नो काराबाख प्रशासनले अजरबैजानले पछिल्लो पटक गरेको आक्रमणमा आफ्ना ४५ भन्दा बढी सैनिक मारिएको जनाएको छ । योसँगै गत सेप्टेम्बर २७ मा सुरु भएको युद्धका क्रममा ५ सय २५ सैनिक मारिएको दाबी स्थानीय प्रशासनले गरेको छ । उक्त क्षेत्रलाई अजरबैजानले दाबी गर्दै आएको छ तर पनि त्यहाँ अर्मेनियाली मुलका मानिसहरु बस्दै आएका छन् ।
अर्मेनियाली रक्षा मन्त्रालयले अजरबैजानका सैनिकले विवादास्पद क्षेत्रमा आक्रमण गरिरहेको जनाएका छन् । यस क्षेत्रमा पछिल्लो समयमा भएको युद्धविरामको उल्लंघनका विषयमा पनि एक आपसमा दोषारोपण गर्दै आएका छन् । -एएनआई
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया