भद्रपुर, झापा । वर्षायाम सुरु भएयता झापामा जापानीज इन्सेफ्लाइटिस (जेई) संक्रमणबाट ९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाँचजनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
मृत्यु हुनेमा तीन पुरुष र दुई महिला छन्। संक्रमितमध्ये एकजना उपचाररत छन् भने तीनजना उपचारपछि डिस्चार्ज भएका छन्।
स्वास्थ्य कार्यालयका अनुसार मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एकजनामा संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये पाँच पुरुष र चार महिला छन्।
संक्रमित अधिकांश ५० वर्षभन्दा माथिका छन्। संक्रमितमध्ये सात महिनाका एक बालक र ४० वर्षीय एक व्यक्ति पनि रहेको जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो।
जापानीज इन्सेफ्लाइटिस क्युलेक्स जातका संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो। लामखुट्टेको टोकाइपछि भाइरसले मस्तिष्कमा संक्रमण गराउन सक्छ।
स्वास्थ्य विज्ञका अनुसार सुँगुर र हाँस जेई भाइरसका मुख्य स्रोत मानिन्छन्। विशेषगरी सुँगुर पाल्ने व्यक्ति तथा धानखेत र पानी जम्ने क्षेत्र आसपास बसोबास गर्नेहरू संक्रमणको उच्च जोखिममा हुन्छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया