लहान, साउन ३० गते । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मधेश प्रदेशमा आवश्यकता अनुसार ट्रमा इकाइ (युनिट) सञ्चालन गरिने बताउनुभएको छ। लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका (राउ) प्रादेशिक अस्पताल लहानको अनुगमनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो।
लहानमा रक्तसञ्चार पूर्वाधार तथा सिटी स्क्यान लगायतका पूर्वाधारहरू उपलब्ध रहेकाले तत्कालै ट्रमा इकाइ सञ्चालनमा ल्याइने मन्त्री मेहताले स्पष्ट पार्नुभयो।
“सहरी तथा ग्रामीण हरेक क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने सरकारको योजना छ। मधेश प्रदेशको लहान र धनुषाको ढल्केबरमा मात्रै होइन, आवश्यकता अनुसार अन्य ठाउँमा पनि ट्रमा युनिट सञ्चालनमा आउने छ। कुनै पनि ठाउँलाई वेवास्ता गर्ने सरकारको सोच छैन,” उहाँले भन्नुभयो।
स्वास्थ्य बिमाका सम्बन्धमा सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै मन्त्री मेहताले बिमा बन्द नगरिएको स्पष्ट पार्नुभयो। “तत्काल निजी अस्पतालमा बन्द गरिए पनि सरकारी अस्पतालमा सेवा निरन्तर छ। सरकारले गएको फागुन महिनासम्ममा १८ अर्ब रुपियाँ बिमा बापत भुक्तानी गरिसकेको छ,” उहाँले जानकारी दिनुभयो। साथै राउ प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सञ्चालनका लागि रेडियोलोजिस्टको व्यवस्थापन तत्कालै गरिने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो।
अनुगमनका क्रममा राउ प्रादेशिक अस्पताल लहानका मेडिकल सुपरिटेन्डेन्ट डा. वर्षा प्रकाशले बिरामीको चाप अनुसार चिकित्सकको दरबन्दी र नयाँ भौतिक पूर्वाधार निर्माणमा मन्त्री मेहताको ध्यानाकर्षण गराउनुभयो। उहाँले २०३९ सालमा बनेको अस्पतालको भवन चालिस वर्षभन्दा पुरानो भइसकेकाले सम्भावित भूकम्पका दृष्टिले जोखिमपूर्ण रहेको इन्जिनियरहरूको सल्लाह उद्धृत गर्दै जानकारी दिनुभयो।
सो क्रममा सिरहा क्षेत्र नं. १ का सांसद बब्लु गुप्ताले लहान र वरपरका जिल्लाका गरी करिब बीस लाख जनताले स्वास्थ्य सेवा लिने केन्द्रका रूपमा लहान रहेकाले यहाँ ट्रमा सेन्टर अत्यावश्यक रहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराउनुभयो। अस्पतालका नाममा एक बिघा १५ कट्टा दस धुर जग्गा दर्ता भइसकेको जानकारी गराउँदै उहाँले लहानमा पनि ट्रमा सेन्टर स्थापना हुनुपर्नेमा जोड दिनुभयो।
मन्त्री मेहताले राउ प्रादेशिक अस्पतालका साथै सोही परिसरसँग जोडिएको सगरमाथा चौधरी आँखा अस्पतालको समेत अनुगमन गर्नुभयो। मन्त्री मेहताले लहान नगरपालिका–३ मा अलपत्र रहेको बाल अस्पताल र धनगढीमाई नगरपालिका–११ स्थित महेन्द्र गेनाई बाल तथा प्रसूति अस्पतालको समेत अनुगमन गर्ने कार्यक्रम रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया