खलङ्गा (दार्चुला), भदौ २ गते । दार्चुलाको शैल्यशिखर नगरपालिका–९, गोकुलेमा रहेको गोकुलेश्वर अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारमातहतको प्रादेशिक अस्पताल बनाउन ढिलाइ भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा नै यो अस्पताललाई प्रादेशिक अस्पताल बनाउने उल्लेख गरेको थियो तर यो कार्यक्रममा ढिलाइ हुँदा यहाँका नागरिकलाई सामान्य किसिमको उपचारमा पनि रेफर हुनुपर्ने बाध्यता रहँदै आएको छ । यो अस्पतालले सुदूर पहाडका दार्चुला, बैतडी र बझाङका हजारौँ नागरिकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
सरकारले गोकुलेश्वर अस्पतालसँगै डडेलधुराको जोगबुढा अस्पताल, कैलालीको लम्कीचुहा र बाजुराको कोल्टी अस्पताललाई पनि प्रदेशस्तरीय अस्पताल बनाउने नीति लिएको थियो । हाल डडेलधुराको जोगबुढा अस्पताल र कैलालीको लम्कीचुहा अस्पताललाई प्रदेशस्तरीय अस्पतालका रूपमा सञ्चालन गरिरहेको छ ।
गोकुलेश्वर अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरेर तत्काल सञ्चालन गर्नुपर्ने बैतडीको डिलासैनी गाउँपालिकाका स्थानीय जयानन्द जोशी (जयराज) ले बताउनुभयो ।
उहाँले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई भेटेर गोकुलेश्वर अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्न माग गरेको पनि बताउनुभयो । दुर्गम पहाडी क्षेत्रका सर्वसाधारणले चालु आव २०८३/८४ भित्रै गोकुलेश्वर अस्पतालबाट सेवा प्राप्त गर्ने गरेर अस्पताल सञ्चालनका लागि मुख्यमन्त्री भट्टको ध्यानाकर्षण गराएको उहाँको भनाइ छ ।
मुख्यमन्त्री भट्टले सबैसँग सल्लाह गरी अस्पताल सञ्चालनको तयारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गोकुलेश्वर अस्पताललाई अहिले शैल्यशिखर नगरपालिकाले सञ्चालन गर्दै आइरहेको छ । नगरपालिकामातहतमा रहेको अस्पताल सञ्चालनमा कठिनाइ भइरहेको अस्पतालका सिनियर अहेव माधवप्रसाद लेखकले जानकारी दिनुभयो ।
उहाँका अनुसार बजेट र जनशक्ति अभावमा अस्पताल सञ्चालनमा कठिनाइ भइरहेको हो । बैतडी र दार्चुलाको मुख्य केन्द्रविन्दुमा पर्ने सो अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट नवौँ तहको दरबन्दी रहेको भए पनि स्थापनादेखि नै ती पद रिक्त छन् । अस्पतालमा आठौँ तहका डाक्टर दुई जना, एचए पाँच जना स्टाफ नर्सलगायतको दरबन्दी छ । अहिले आठौँ तहका दुई जना डाक्टर करारमा कार्यरत छन् । अस्पतालसँग पर्याप्त भौतिक पूर्वाधार नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा सञ्चालनमा रहेको छ ।
पाँच शøयाको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै अहिले १५ शøयामा पु¥याइएको भए पनि सञ्चालनमा निकै समस्या रहेको शैल्यशिखर नगरपालिकाका जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी शिवदत्त जोशीले जानकारी दिनुभयो । वार्षिक १० हजारभन्दा बढी नागरिकलाई सेवा प्रदान गर्दै आइरहेको अस्पताललाई प्रादेशिक अस्पताल बनाइनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “नगरपालिकाको स्रोतले मात्रै अस्पताल सञ्चानल गर्न समस्या भइरहेको छ । नागरिकलाई थप स्वास्थ्यसेवा प्रदान गर्न प्रदेश सरकारले सञ्चालन गर्नु पर्छ ।”
अस्पतालले हाल एक्सरे, अल्ट्रासाउन्ड, प्रसूति सेवालगायतका सेवा प्रदान गर्दै आइरहेको छ । महाकाली राजमार्गसँग जोडिएको गोकुलेश्वरबाट जिल्ला अस्पतालसम्म पुग्न तीन घण्टा लाग्छ । यहाँ उपचार सम्भव नभएका बिरामी डडेलधुरा अस्पताल वा धनगढी रेफर गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया