भाद्र ४, २०८३ बिहिबार August 20, 2026

सदियौँ पुरानो भुवनेश्वरी मन्दिरः तान्त्रिक साधनादेखि धार्मिक पर्यटनको केन्द्रसम्म

सुदूरपश्चिमको तान्त्रिक सम्पदा भुवनेश्वरी मन्दिर पुनर्निर्माणपछि आकर्षक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

डडेल्धुरा । भागेश्वर गाउँपालिका–४ डुङरी गाउँको मध्य भाग, बगरकोट–बोगटा सडकको छेउमा शताब्दीयौँदेखि श्रद्धाको केन्द्रका रूपमा उभिएको छ भुवनेश्वरी मन्दिर । पुरानो पिपलको चौतारोसँगै अवस्थित यो मन्दिर स्थानीय जनविश्वासअनुसार सिद्ध योगी तथा तान्त्रिक साधकहरूले स्थापना गरेको धार्मिक स्थल मानिन्छ ।

स्थानीयवासीको अनुसार करिब आठौँ शताब्दीदेखि अस्तित्वमा रहेको मानिने यो मन्दिरको गत आर्थिक वर्ष २०८२-८३ मा परम्परागत नेपाली वास्तुकलालाई जोगाउँदै पुनर्निर्माण गरिएको छ ।

भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतका अनुसार सुदूरपश्चिम प्रदेशको पर्यटन मन्त्रालयबाट प्राप्त १० लाख रुपैयाँ र स्थानीय श्रद्धालुले सङ्कलन गरेको भेटीसमेत गरी करिब ४० लाख रुपैयाँको लागतमा मन्दिर पुनर्निर्माण गरिएको हो । मन्दिरलाई परम्परागत प्यागोडा शैलीमा काठको कलात्मक बुट्टा र तामाको छानासहित निर्माण गरिएको छ । परिसरमा ढुङ्गाको पर्खाल, घेराबार तथा अन्य संरचनासमेत निर्माण गरिएको छ ।

अध्यक्ष चटौतका अनुसार स्थानीय जनश्रुतिमा सिद्ध तान्त्रिक साधकहरूले पूर्ण तान्त्रिक विधिअनुसार भुवनेश्वरी माताको प्रतिष्ठा गरेको विश्वास गरिन्छ । मन्दिरमा महाकाली, महालक्ष्मी, महासरस्वती र भुवनेश्वरीको पूजा गरिन्छ भने बाहिरी परिसरमा अष्ट भैरवको पनि पूजा हुने परम्परा छ ।

स्थानीय परम्पराअनुसार तत्कालीन डोटीका राजा नागी मल्लका सन्तान मानिने बोगटा क्षेत्रका शाही थरीको पहलमा मन्दिर स्थापना भएको भन्ने जनविश्वास पनि रहिआएको अध्यक्ष चटौतले बताउनुभयो । यद्यपि यसको पुष्टि गर्ने समकालीन लिखित ऐतिहासिक अभिलेख भने उपलब्ध छैन ।

वरिष्ठ पत्रकार डीआर पन्तका अनुसार भुवनेश्वरी मन्दिरको सबैभन्दा विशिष्ट पक्ष यसको पूजा–विधि हो । स्थानीय परम्पराले यस मन्दिरलाई अष्ट भैरवको सिद्धि प्राप्त गरेका तान्त्रिक साधकहरूले स्थापना गरेको मान्छ ।

हामीले बुबा र बाजेबाट सुन्दै आएको कुरा हो, पन्त भने, देवी–देवताको पूजा मुख्यतः वैदिक मन्त्र–विधि र तान्त्रिक विधिबाट गरिन्छ । भुवनेश्वरीमा आज पनि विशेष अवसरमा तान्त्रिक परम्पराअनुसार पूजा गरिन्छ ।

उनका अनुसार विशेष गरी कार्तिक शुक्ल अष्टमीका दिन यहाँ परम्परागत तान्त्रिक विधिबाट विशेष पूजा–अनुष्ठान गर्ने चलन अहिले पनि जीवित छ । सुदूरपश्चिमका धेरै प्राचीन मन्दिरहरूमा स्वयम्भू शिला, ज्योतिर्लिङ्ग वा खेतीपातीका क्रममा भेटिएका देवदेवी स्वरूपको पूजा हुने किंवदन्ती पाइन्छ । उनले भने, तर भुवनेश्वरी मन्दिर भने तान्त्रिक साधनाबाट प्रतिष्ठा गरिएको जनविश्वासका कारण फरक पहिचान बोकेको मानिन्छ ।

मन्दिर परिसरबाहिर रहेका साना ढुङ्गे देवलहरूलाई स्थानीयले भैरवका रूपमा पूजा गर्दै आएका छन् । डुङरी गाउँका विभिन्न बस्तीका चटौत ब्राह्मण, भट्ट भ्रणिया र करियाका रूपमा मडै समुदायले पुस्तौँदेखि यस मन्दिरको संरक्षण र पूजा व्यवस्थापन गर्दै आएका छन् ।

स्थानीयवासीको अनुसार वि.सं. २०५३ सालतिर भारतको गंगोत्री क्षेत्रमा साधनारत रहेका बर्फानी बाबा केही समयका लागि भुवनेश्वरी मन्दिरमा आएर साधना गरेका थिए भन्ने स्मरण अझै गाउँमा जीवित छ । वरिष्ठ पत्रकार पन्तका अनुसार त्यति बेला बर्फानी बाबाको परिचय स्थानीय स्तरमा धेरैलाई थिएन । उनी केही दिन बसे र फेरि गए । मैले पनि उहाँको दर्शन गर्ने मौका पाएको थिए । पछि उहाँका शिष्यहरूबाट उहाँको आध्यात्मिक प्रभाव’bout थप जानकारी पायौँ, उनले भने ।

पन्तका अनुसार बर्फानी बाबाका शिष्यहरूले भुवनेश्वरी मन्दिरसँगै बझाङस्थित सुर्मा सरोवर क्षेत्रमा पनि साधना गरेको बताएका थिए ।

उनका अनुसार भुवनेश्वरी मन्दिर केवल आस्थाको केन्द्र मात्र नभई सुदूरपश्चिमको तान्त्रिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको अध्ययनका लागि पनि महत्त्वपूर्ण स्थल हो । यसको इतिहास, पूजा–विधि, काठकला, स्थानीय जनश्रुति र धार्मिक परम्परा’bout थप अनुसन्धान हुन सके यसले धार्मिक पर्यटन र सांस्कृतिक अध्ययन दुवै क्षेत्रमा नयाँ आयाम थप्न सक्ने विश्वास स्थानीयको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १५ जना पक्राउ
२०८३ भाद्र ४, बिहिबार
‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ : सभापति लामिछाने
२०८३ भाद्र ४, बिहिबार
कोशी प्रदेशसभाः विधेयक माथि सैद्धान्तिक छलफल
२०८३ भाद्र ४, बिहिबार
सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड
२०८३ भाद्र ४, बिहिबार
गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै
२०८३ भाद्र ४, बिहिबार
पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार्न सञ्चारमन्त्रीको निर्देशन
२०८३ भाद्र ४, बिहिबार
कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलायो
२०८३ भाद्र ४, बिहिबार