चितवन, ५ भदौः पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दो रहेको छ । गएको तीन आर्थिक वर्षमा बिरामीको सङ्ख्या निरन्तर बढ्दै आएको हो ।
गत आवमा यस अस्पतालको बहिरङ सेवामा मात्र तीन लाख १७ हजार २६६ जना बिरामीले सेवा लिएका छन् । अस्पतालको तथ्याङ्कअनुसार आव २०८१-८२ मा दुई लाख ९६ हजार ५३८ जना र आव २०८०÷८१ मा दुई लाख ४५ हजार ६९४ जनाले बहिरङ सेवाबाट उपचार लिएका थिए । यहाँ दैनिक एक हजार २०० ले बहिरङ सेवाबाट उपचार लिने गरेको अस्पतालका जनस्वास्थ्य निरीक्षक पुष्पराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार यस अस्पतालले अहिले बहिरङ सेवाबाट २० प्रकारका उपचार सेवा दिँदै आएको छ ।
अस्पतालमा आउने बिरामीमध्ये ८५ प्रतिशत बिरामी स्वास्थ्य बिमाका रहेका छन् । उहाँका अनुसार गत आवमा दुई लाख ९५ हजार ४९ जनाले स्वास्थ्य बिमाबाट सेवा लिएका छन् । अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आउने बिरामीको चाप पनि बढ्दै गएको छ । आकस्मिक कक्षमा आव २०८०÷८१ मा १८ हजार १०७ जनाले सेवा लिएकामा आव २०८१-८२ मा २३ हजार ४६० र गत आवमा २७ हजार ६६ जनाले सेवा लिएको आचार्यले बताउनुभयो ।
उहाँका अनुसार आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामीमध्ये आव २०८०÷८१ मा तीन हजार ९८० जना, आव २०८१-८२ मा चार हजार ५२० जना र गत आवमा चार हजार ६८५ जनाले भर्ना भएर सेवा लिएका छन् ।
यस अस्पतालमा प्रसूति सेवा लिने बिरामीको सङ्ख्या पनि बढ्दो क्रममा रहेको छ । अस्पतालका अनुसार आव २०८०-८१ मा ७५५ जना, आव २०८१-८२ मा ७५२ जना र गत आवमा ९२५ जनाले प्रसूति सेवा लिएका छन् । अस्पतालमा प्रसूति सेवा सुरु भएपछि यस क्षेत्रका प्रसूति गराउने महिलालाई भरतपुर अस्पतालसम्म आउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
यस अस्पतालमा आएका बिरामीको गत आवमा एक हजार २७१ जनाको गम्भीर शल्यक्रिया गरिएको छ । जुन सङ्ख्या आव २०८१-८२ मा एक हजार ३४ र आव २०८०÷८१ मा एक हजार १८० जनाको गम्भीर शल्यक्रिया गरिएको थियो ।
प्रादेशिक अस्पतालका रुपमा रहेको यस अस्पतालमा बिरामीको चाप बढ्दै गएको हो । अस्पतालले दिने विशेषज्ञ सेवासहितका अन्य सेवाले गर्दा यस क्षेत्रको जनताको विश्वास बढ्दै गएको उहाँले बताउनुभयो । अस्पतालमा मुख्य रुपमा रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकाबाट धेरै बिरामी आउने गर्दछन् । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया