काठमाडौँ । ‘स्वस्थ नागरिक, समृद्ध समाज’ भन्ने नारामा सभामुखको सचिवालय र प्रहरी अस्पतालको समन्वयमा काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा सहभागी महिलाहरूको पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणअन्तर्गत सामान्य स्वास्थ्य जाँचसँगै भीआईए तथा पाप स्मियर परीक्षण गरिएको थियो । पाठेघरको मुखबाट लिइएको नमूना प्रहरी अस्पतालको प्रयोगशालामा परीक्षणका लागि पठाइएको आयोजकले जनाएको छ ।
प्रहरी अस्पतालकी प्रहरी वरिष्ठ उपरीक्षक डा. दीपा न्हूच्छे प्रधानले परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएमा सम्बन्धित बिरामीलाई उच्च तहका स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यक उपचार तथा थप परीक्षणको व्यवस्था गरिने बताइन् । उनले स्तनसम्बन्धी स्वास्थ्य परीक्षणसमेत गरिएको र परीक्षणका क्रममा कुनै समस्या देखिएमा आवश्यकताअनुसार थप परीक्षण तथा उपचारका लागि समन्वय गर्ने प्रतिबद्धता जनाइन् ।
शिविरमा साँझ ५ः०० बजेसम्म स्वास्थ्य परीक्षण सञ्चालन गर्दा करिब ४०० जनाले स्वास्थ्य सेवा लिएको सभामुखका प्रमुख स्वकीयसचिव मुना कुँवरले जानकारी दिइन् । शिविरमा सहभागीलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो भने थप स्वास्थ्य परीक्षण तथा उपचारका लागि आवश्यक पर्ने अवस्थामा यातायातको समेत व्यवस्था गरिएको थियो ।
शिविर पुगेर सभामुख डीपी अर्यालले परीक्षणमा सहभागी दिदीबहिनीसँग भेटघाट गरेका थिए । उनले शिविरको स्वास्थ्य परीक्षणको अवस्था तथा सहभागीहरूले प्राप्त गरिरहेको सेवाका विषयमा जानकारी लिएका थिए । स्वास्थ्य शिविरमा सहभागी महिलाहरूले कार्यक्रम निकै उपलब्धिमूलक र प्रभावकारी भएको प्रतिक्रिया दिए । प्रारम्भिक चरणमै स्वास्थ्य समस्या पहिचान गर्न तथा आवश्यक परेमा थप उपचारका लागि समयमै पहल गर्न शिविरले महत्त्वपूर्ण सहयोग पुर्याएको भन्दै सहभागीहरूले सभामुखको सचिवालय तथा प्रहरी अस्पतालप्रति धन्यवाद व्यक्त गरेका थिए ।
महिलामा देखिन सक्ने पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरजस्ता स्वास्थ्य समस्याको समयमै पहिचान र उपचारका लागि यस्ता निःशुल्क स्वास्थ्य शिविर प्रभावकारी हुने सहभागीहरूको भनाइ थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया