भाद्र १०, २०८३ बुधबार August 26, 2026

गम्भीर घटनामा सरकारी निकायकै लापरबाही !

बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । तीन वर्षीया बालिका बलात्कार र हत्या प्रकरणमा सरकारी निकायबाटै गम्भीर लापरबाही भएको छ । बाराको सिमराकी पीडित बालिका र उनको परिवारको गोपनीयता भंग गर्नेदेखि हत्यामा संलग्न आरोपीको भिडियोसमेत सरकारी निकायकै संलग्नतामा सार्वजनिक भएको हो । बालिका बलात्कार र हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले घटनाबारे सिलसिलेवार बयान दिएको भिडियो सामाजिक सञ्जालमा छताछुल्ल भएसँगै अनुसन्धानकर्तामाथि गम्भीर प्रश्न उठेको हो । हतकडी लगाएका आरोपित किशोरले हाँस्दै घटनाबारे बताउँदा साथमा दुईजना प्रहरी सार्वजनिक भिडियोमा देखिन्छन् । उनीहरूसँगै अर्का दुई जनाले मोबाइलबाट भिडियो खिचिरहेको दृश्यमा देखिन्छ ।

अभियुक्त प्रहरीको नियन्त्रणमा हुँदा उनीहरूको गोपनीयता अनुसन्धान अधिकृतहरूले नै कायम राख्नुपर्छ । तर, प्रहरीले यो घटनामा आफ्नो प्रक्रिया र कानुनी मर्यादाको ठाडो उल्लंघन गरेको देखिएको छ । कानुनको सर्वमान्य सिद्धान्तअनुसार, अदालतबाट दोषी प्रमाणित नभएसम्म जुनसुकै अभियुक्त पनि ‘निर्दोष’ मानिन्छ । भिडियो अस्पतालमा खिचिएको प्रहरीले जनाएको छ । कसरी सार्वजनिक भयो ? भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

जघन्य प्रकृतिको घटनाको अनुसन्धान निकै सचेततापूर्वक र गोप्य रूपमा गर्नुपर्ने भए पनि प्रहरीले सो घटनाको अनुसन्धानमा गम्भीर लापरबाही गरेको सरोकारवालाहरू बताउँछन् । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ मा बालिका भदौ २ मा मृत भेटिएकी थिइन् । घरबाट हराएको तीन दिनमा अबोध बालिका मृत भेटिएकी हुन् । बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

यसअघि, घटनाको छैटौँ दिन सरकारले पीडित परिवारसँग सम्झौता गर्दा पनि मृतक बालिकाको गोपनीयता सरकारकै मन्त्रीहरूबाट भंग भएको थियो । पीडित परिवारसँग भएको सम्झौतापत्र सरकारी पक्षबाटै सार्वजनिक भएको हो । त्यसमा पनि पीडित बालिकाको गोपनीयता उल्लंघन गरिएको छ । गृहमन्त्री सुधन गुरुङ, कानुनमन्त्री सोविता गौतम, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, महिला तथा बालबालिका मन्त्री सीता बादी र कृषि वन तथा वातावरणमन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित आधिकारिक सम्झौतापत्रमै पीडित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ । पाँच–पाँचजना मन्त्रीले हस्ताक्षर गरेको दस्ताबेजमै कानुनी प्रावधानको उल्लंघन गरिएको हो ।

नेपालको ‘अपराध पीडित संरक्षण ऐन-२०७५’ को दफा ६ ले गम्भीर प्रकृतिका अपराधको अनुसन्धान चलिरहँदा पीडितको गोपनीयता पूर्णरूपमा कायम गर्नुपर्ने व्यवस्था छ । जबरजस्ती करणी, हाडनाता करणी, मानव बेचबिखन र यौन दुर्व्यवहार जस्ता घटनाको अनुसन्धान, तहकिकात, अभियोजन र अदालती कारबाहीको सिलसिलामा पीडितको गोपनीयता ख्याल गर्नुपर्ने कानुनी बाध्यता छ । तर, कानुनी व्यवस्थाविपरीत मन्त्री र उच्च अधिकारीहरूले नै सामाजिक सञ्जालमा पीडित परिवारको तस्बिर छ्यापछ्याप्ती बनाएका हुन् । गृहमन्त्री सुधन गुरुङको सामाजिक सञ्जालमा पीडित बालिकाको नाम र उमेर नै उल्लेख गरिएको छ ।

बालिका हराएको सूचनालाई बेवास्ता गरेको र अनुसन्धानमा लापरबाही गरेको भन्दै स्थानीयले प्रदर्शन गरेपछि बारास्थित इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत डिएसपी दिलीप क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएर अर्का डिएसपी दयाकृष्ण भट्टलाई पठाइएको छ । राज्यको माथिल्लो निकायले घटनालाई गम्भीर रूपमा लिए पनि जिल्लामा कार्यरत अनुसन्धान अधिकृतहरू र प्रहरी कर्मचारीले घटनालाई ‘यस्तै त हो नि’ भनेजसरी बुझ्ने गरेको प्रहरीका अधिकृतहरू बताउँछन् । घटनामा संलग्न भएको आरोपमा भिडियो बयान दिने किशोर र प्रदीप खड्कासहित अहिलेसम्म नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी मीनबहादुर घलेले जानकारी दिनुभयो ।

बयानको भिडियो खिच्ने प्रहरी पक्राउ

बाराकी बालिकाको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका छन् । भिडियो खिच्ने व्यक्तिबाटै त्यो बाहिरिएको हुनसक्ने देखिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । भिडियो खिच्ने प्रहरीलाई पक्राउ गरी हिरासतमा राखिएको बारा प्रहरीका एसपी नरेन्द्र कुँवरले जानकारी दिनुभयो । उनलाई फौजदारी कुसरमा नै कारबाही अघि बढाउने तयारी भएको छ । किशोरको बयान चलिरहेको बेलामा बयान कक्षमा खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रहरीसमक्ष गरेको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि नै प्रश्न उठेको थियो । भिडियो खिच्ने समूहमा पाँचजना प्रहरी देखिएको र अन्यमाथि पनि अनुसन्धान भइरहेको छ ।

सांसदहरूको प्रश्न- अनुसन्धानको गोप्य भिडियो कसरी बाहिरियो ?

प्रतिनिधिसभामा सांसदहरूले यो घटनामा सरकारको भूमिकालाई लिएरसमेत प्रश्न उठाएका छन् । नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले तीन वर्षकी अवोध बालिकामाथि बलात्कार र त्यसपछि हत्या तथा अनुसन्धानकै क्रममा रहेको अभियुक्तको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको घटनाले आफूलाई अत्यन्तै मर्माहत बनाएको बताउनुभयो । ‘अनुसन्धानको गोप्य भिडियो कसरी बाहिरियो ?’ उहाँले प्रश्न गर्नुभयो, ‘कसले खिच्यो ? कसले सार्वजनिक गर्‍यो ? यो विषयमा तत्काल छानविन गरी दोषीमाथि कारबाही हुनुपर्छ ।’ श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले यो विषयमा सरकारले जवाफ दिनुपर्ने माग गर्नुभयो । कठोर सजाय दिएर अन्य घटना हुन नदिन तयार हुनुपर्ने उहाँको भनाइ छ ।

नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले बाराकी बालिकाको बलात्कारपछि हत्या भएको विषयलाई आधार मानेर सरकारले यस्ता घटना किन घट्छन् ? भन्ने निर्क्योल गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उहाँले यौन पिपासु मानव भएर पशुजन्य व्यवहार गर्ने व्यक्तिलाई साहस कहाँबाट प्राप्त भएको छ ? भन्ने पत्ता लगाउन माग गर्नुभएको हो । ‘बारामा बालिकाको क्रूर हत्या भएको छ । अनुसन्धानको लागि सुरक्षा निकाय लागेको छ । केही मानिस अनुसन्धानमा तानिएका छन् । दोषीमाथि छिटो कारबाही होस्’, उहाँले भन्नुभयो, ‘परिवारले न्याय पाउनुपर्छ । यौन पिपासु मानव भएर पशुजन्य व्यवहार गर्ने व्यक्तिलाई त्यो साहस कहाँबाट प्राप्त भयो ? ठीक ढंगले कारबाही अघि बढाएनौँ भने त्यसखाले प्रवृत्ति बढ्ने देखिन्छ ।’

हामीले कस्तो समाज बनाइरहेका छौँ ?

रास्वपा महामन्त्री विपिनकुमार आचार्यले पनि पीडितको गोपनियता र आरोपितको भिडियो सार्वजनिक भएकोमा आपत्ति जनाउनुभयो । हामीले कस्तो समाज बनाइरहेको छौँ ? भन्दै उहाँले प्रश्नसमेत गर्नुभयो । ‘हत्याकाण्डबारे जे भयो त्यसका बारेमा धेरै बोलिनँ । तर, हामी सबै जनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेका छौँ ? जहाँ मृतकको बुवा-आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र कहीँ मेडिकल गर्दै गर्दा एउटा अक्युज्ड (आरोपित)ले बोलेको कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ । यस्तो समाज बन्द गरिनुपर्छ’, उहाँले भन्नुभयो ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुहुने
२०८३ भाद्र १०, बुधबार
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार