धनुषा, १० भदौः साउन शुक्ल पूर्णिमा नजिकिँदै जाँदा तराई–मधेसका गाउँ–बस्ती र बजारमा रक्षाबन्धनको रौनक बढ्दै गएको छ ।
दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको प्रतीक मानिने यस पर्वको तयारीसँगै गाउँ–टोलदेखि बजारसम्म रक्षाबन्धनसँग सम्बन्धित गीत र धुन गुञ्जिन थालेका छन् ।
सहरदेखि गाउँसम्मका पान, किराना पसल तथा सार्वजनिक स्थलमा केही दिनयता रक्षाबन्धनका गीत बज्न थालेका हुन् । सामान्य दिनमा विभिन्न प्रकारका गीत तथा सङ्गीत सुनिने पसलमा समेत अहिले पर्वको माहोल झल्काउने गीतले प्राथमिकता पाउन थालेपछि बजारको वातावरण नै बदलिएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका–५ का रमेश गुप्ताका अनुसार रक्षाबन्धन नजिकिएसँगै बजार क्षेत्रमा पर्वसँग सम्बन्धित गीतको माग बढेको छ । “पसलमा आउने ग्राहकले पनि रक्षाबन्धनकै गीत सुन्न रुचाउँछन् । पर्व नजिकिएसँगै गीतका धुनले बजारको वातावरण नै रमाइलो बनेको छ”, उहाँले भन्नुभयो ।
स्थानीय एफएम रेडियो र मोबाइलमा समेत रक्षाबन्धनका गीत सुन्ने क्रम बढेको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित दुधमती एफएमका सञ्चालक अनिल कुशवाहाले श्रोताको रुचि रक्षाबन्धनका गीततर्फ बढेको बताउनुभयो ।
मिथिला नगरपालिका–६ ढल्केवरकी रुबि कुमारी रक्षाबन्धनका लागि आवश्यक सामग्रीको जोहोमा व्यस्त हुनुहुन्छ । दिदीबहिनीले भाइका लागि राखी, मिठाइ तथा अन्य सामग्रीको तयारी गर्ने र भाइले पनि दिदीबहिनीलाई उपहार दिने भएकाले रक्षाबन्धनको छुट्टै उत्साह हुने उहाँको भनाइ छ ।
रक्षाबन्धन लक्षित सामग्रीको कारोबारसमेत बजारमा बढ्न थालेको छ । व्यवसायीले विभिन्न रङ, आकार र डिजाइनका रेडिमेड राखी बिक्रीका लागि ल्याएका छन् । आकर्षक डिजाइनका राखी तथा सजावटी सामग्रीले बजारका पसलहरू सजिन थालेका छन् ।
महेन्द्रनगरका व्यवसायी दिपेन्द्र मण्डलका अनुसार पछिल्ला वर्षमा ग्राहकको रोजाइमा समेत परिवर्तन आएको छ । विभिन्न डिजाइन, रङ र आकारका रेडिमेड राखीप्रति ग्राहकको आकर्षण बढेको छ भने परम्परागत धागोबाट बनाइने राखीको बिक्री तुलनात्मक रूपमा कम हुने गरेको उहाँले बताउनुभयो ।
“पहिले साधारण धागोका राखी बढी बिक्री हुन्थे । अहिले बालबालिका तथा युवाको रोजाइमा आकर्षक डिजाइनका राखी पर्ने गरेका छन्”, उहाँले भन्नुभयो ।
रक्षाबन्धनका अवसरमा दिदीबहिनीले भाइको हातमा राखी बाँधेर दीर्घायु, सुख, समृद्धि र सफलताको कामना गर्ने परम्परा छ । भाइले पनि दिदीबहिनीको संरक्षण, सम्मान र सहयोग गर्ने प्रतिबद्धता जनाउने गर्छन् । राखी बाँधेपछि दाजुभाइले आफ्नो गच्छेअनुसार दिदीबहिनीलाई मिठाइ, कपडा, नगद तथा अन्य उपहार दिने चलन छ ।
समयसँगै उपहारको स्वरूप र राखीको डिजाइनमा परिवर्तन आए पनि पर्वको मूल भाव भने उस्तै रहेको स्थानीय बताउँछन् । रक्षाबन्धनले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने र टाढा रहेका आफन्तलाई समेत भेटघाटको अवसर प्रदान गर्ने गरेको छ ।
मधेसमा रक्षाबन्धनको आफ्नै सामाजिक तथा सांस्कृतिक विशेषता छ । विभिन्न समुदायले आ–आफ्नो परम्परा र संस्कृतिअनुसार पर्व मनाए पनि दाजुभाइ तथा दिदीबहिनीबीचको स्नेह, विश्वास र पारिवारिक आत्मीयतालाई प्राथमिकता दिने साझा विशेषता देखिन्छ ।
पण्डित लालबाबु झाका अनुसार साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन यस वर्ष भदौ १२ गते शुक्रबार परेको छ । पर्वको मिति नजिकिँदै जाँदा बजारमा राखी, मिठाइ तथा उपहारका सामग्रीको कारोबार बढेको उहाँले बताउनुभयो ।
“रक्षाबन्धन धार्मिक र सांस्कृतिक पर्व मात्र नभई पारिवारिक सम्बन्धलाई थप मजबुत बनाउने अवसर पनि हो”, उहाँले भन्नुभयो ।
७० वर्षीय अवकाशप्राप्त शिक्षक सोन्फी दासका अनुसार आधुनिकतासँगै राखीको स्वरूप र उपहार दिने शैलीमा परिवर्तन आए पनि पर्वले बोकेको प्रेम, विश्वास र आत्मीयताको भावना पुस्तौँदेखि निरन्तर छ ।
“पहिले हातैले बनाएका साधारण धागाका राखी बाँधिन्थे, अहिले बजारमा विभिन्न डिजाइनका राखी आएका छन् । उपहारको स्वरूप पनि फेरिएको छ”, उहाँले भन्नुभयो, “तर दिदीबहिनी र दाजुभाइबीचको माया र आत्मीयता उस्तै छ ।”
मधेसका बजार र बस्तीमा गुञ्जिन थालेका रक्षाबन्धनका गीतले पुरानो सांस्कृतिक स्मृतिलाई नयाँ पुस्तासँग जोडिरहेका छन् । बजारमा बढेको राखीको कारोबार, घर–परिवारमा सुरु भएको तयारी र गाउँ–टोलमा गुञ्जिन थालेका पर्वका गीतले रक्षाबन्धनको आगमनसँगै मधेशको सामाजिक जीवनमा उल्लास थपिएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया