ताप्लेजुङ, १४ भदौः पाँचथरको फिदिम स्पोर्टिङ क्लब ताप्लेजुङमा जारी अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा काठमाडौँको चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा पाँचथरका निरोज लिङ्देन, सुसन जबेगु, हितेन लिम्बू र अनिस परियारले गोल गरे । चित्लाङका तर्फबाट मिक्सो लिम्बू, चेतन थारू र किरण सुनारले गोल गरेका थिए । खेलमा पाँचथरका गोलरक्षक मिराक खजुम म्यान अफ द म्याच घोषित भए ।
यसअघि शुक्रबार भएको खेलमा आयोजक ताप्लेजुङ–११ लाई २–१ गोलअन्तरले पराजित गर्दै भारतको जर्जियन युनाइटेड फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
लाखेजात्रा पर्वको अवसर पारेर लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको उक्त प्रतियोगिता यही भदौ १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । आजको क्वाटरफाइनल खेलमा सातदोबाटो फुटबल क्लब र साबिक विजेता सलहेश युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार र उपविजेताले रु तीन लाख ५२ हजार नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिनेछ । विसं २०२२ देखि विभिन्न नाममा आयोजना हुँदै आएको यो प्रतियोगिता केही वर्षयता ताप्लेजुङ गोल्डकपका नाममा सञ्चालन हुँदै आएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया