सुलीकोट (गोरखा), भदौ १४ गते । गोरखा कारागारमा डेंगु र भाइरल ज्वरो फैलिएको छ । कैदीबन्दीमा लगातार ज्वरो आउने तथा स्वास्थ्य समस्या देखिएपछि आइतबार गरिएको स्वास्थ्य परीक्षणका क्रममा १० जनामा डेंगु र २० जनामा भाइरल ज्वरोको संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये एक जनालाई प्रदेश अस्पताल गोरखामा भर्ना गरिएको छ भने अन्यलाई कारागारभित्रै उपचारको व्यवस्था मिलाइएको कारागार प्रशासक बसन्त खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार डेंगु संक्रमित सबै पुरुष कक्षका कैदीबन्दी हुन् ।
कारागारभित्र डेंगुको संक्रमण देखिएपछि प्रदेश अस्पताल गोरखा, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखा र गोरखा नगरपालिकाका स्वास्थ्यकर्मीले कारागार पुगेर कैदीबन्दीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
‘‘गोरखामा तत्कालका लागि कारागारभित्रै उपचारको व्यवस्था गरिएको छ,’’ गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले भन्नुभयो, ‘‘एक जनाबाहेक संक्रमित सबै कैदीबन्दीलाई आवश्यक चिकित्सक र स्वास्थ्यकर्मीको सहयोगमा कारागारभित्रै व्यवस्थापन गरी उपचारको व्यवस्था मिलाइएको छ ।’’
तर कारागारमा अत्यधिक भिडभाडका कारण संक्रमितलाई अन्य कैदीबन्दीबाट छुट्टै राखेर उपचार गर्न कठिन भएको छ । ३५ जना क्षमताको पुरुष कक्षमा अहिले १०१ जना कैदीबन्दी छन् । क्षमताभन्दा झन्डै तीन गुणा बढी कैदीबन्दी एउटै ठाउँमा बस्नुपर्ने अवस्थाले संक्रमण थप फैलिन सक्ने जोखिम बढाएको छ ।
ठाउँ अभावका कारण कैदीबन्दीलाई कोचिएर सुत्नुपर्ने अवस्था रहेको छ । शौचालय तथा खानेपानीको समेत पर्याप्त सुविधा नभएको कैदीबन्दीको गुनासो छ । यस्तो अवस्थामा डेंगु तथा भाइरल ज्वरो फैलिँदा संक्रमण नियन्त्रण र बिरामीको व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ ।
गोरखा कारागारको पुरुष कक्षमा १०१ जना र महिला कक्षमा सात जना कैदीबन्दी छन् । हाल डेंगुको संक्रमण पुरुष कक्षमा मात्र देखिएको कारागार प्रशासनले जनाएको छ ।
२०७२ सालको विनाशकारी भूकम्पपछि पनि गोरखा कारागारको पुनर्निर्माण हुन सकेको छैन । भूकम्पले कारागारको सुरक्षाका लागि निर्माण गरिएको पर्खालमा क्षति पुगेको थियो । अन्य सरकारी कार्यालयको पुनर्निर्माण भए पनि कारागार भवन निर्माणको प्रक्रिया अघि बढ्न सकेको छैन । हाल प्रयोग भइरहेको कारागार भवन २०४६ सालमा निर्माण भएको हो ।
पुरानो र जीर्ण संरचना, क्षमताभन्दा अत्यधिक बढी कैदीबन्दी तथा स्वास्थ्यसम्बन्धी सीमित सुविधाबीच डेंगु र भाइरल ज्वरोको संक्रमण देखिएपछि कारागारको भौतिक तथा स्वास्थ्य व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया