भाद्र २०, २०८३ शनिबार September 5, 2026

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

गौरा देवी अर्थात् पार्वती र महेश्वर अर्थात् शिवको मूर्ति बनाउने र विधिपूर्वक पूजा गर्ने चल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २० भदौः सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व गौराका अवसरमा काठमाडौँको खुलामञ्चमा देउडा सुरु भएको छ । गौरा पर्व मनाउन काठमाडौँ उपत्यकामा रहेका सुदूरपश्चिमेली, कर्णालीवासी तथा अन्य सर्वसाधारणको खुलामञ्चमा उल्लेख्य सहभागिता देखिएको छ ।

गौराको उल्लाससँगै खुलामञ्चमा परम्परागत पहिरनमा सजिएका युवायुवती तथा वृद्धवृद्धा हात समातेर गोलाकार घेरा बनाइ देउडा खेलिरहेका छन् । देउडा गीत र नृत्यमा सहभागीहरू रमाइरहेका छन् भने उनीहरूको प्रस्तुति हेर्न खुलामञ्चमा सर्वसाधारणको बाक्लो भीड लागेको छ । यही शुक्रबारदेखि सुरु देउडा भएको यो पर्व यहाँ आइतबारसम्म चल्नेछ ।

सुदूरपश्चिम र कर्णालीको मौलिक लोकसंस्कृतिको महत्त्वपूर्ण पहिचानका रूपमा रहेको देउडा गौरा पर्वको प्रमुख आकर्षण मानिन्छ । देउडाका माध्यमबाट विभिन्न सामाजिक, सांस्कृतिक तथा समसामयिक विषयलाई गीतका रूपमा प्रस्तुत गर्दै सुखदुःख साटासाट गर्ने र आपसी सम्बन्धलाई थप आत्मीय बनाउने गरिन्छ ।

देउडा खेलमा सहभागी सुदूरपश्चिम घर भई अध्ययनका सिलसिलामा काठमाडौँमा रहनुभएका शमशेर रोकायाले गौरा पर्व आफूहरूका लागि धार्मिक पर्व मात्र नभई आफ्नो मौलिक संस्कृति र पहिचानसँग जोडिएको पर्व भएको बताउनुभयो । “गौरा भनेको हाम्रो मौलिक पर्व हो । यो पर्व हाम्रा लागि सुखदुःख साटासाट गर्ने र सांस्कृतिक भावना साट्ने माध्यम हो”, उहाँले भन्नुभयो ।

गौरा पर्वका अवसरमा यस वर्ष काठमाडौँमा रहेका सुदूरपश्चिम तथा कर्णालीवासी एकैठाउँमा भेला भएर आफ्नो मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिइरहेका छन् । विशेषगरी युवापुस्ताको देउडा खेलप्रतिको उत्साहले खुलामञ्चमा गौरा पर्वको रौनक थपिएको छ ।

आज खुलामञ्चमा सुदूरपश्चिम र कर्णालीका युवायुवतीले उत्साहपूर्वक देउडा खेलिरहेका छन् । देउडा हेर्न र सहभागी हुन पुगेका सर्वसाधारणका कारण खुलामञ्चमा निकै चहलपहल देखिएको छ । लामो समयदेखि काठमाडौँमा बस्दै आएका तथा रोजगारी, अध्ययन र विभिन्न पेसा, व्यवसायका सिलसिलामा राजधानीमा रहेका सुदूरपश्चिमेली र कर्णालीवासीका लागि गौरा पर्व आपसमा भेटघाट गर्ने महत्त्वपूर्ण अवसर बनेको छ ।

डोटीको गड्सेरा घर भई अध्ययनका लागि काठमाडौँ आउनुभएका नवीन सार्कीले गौरा पर्वले राजधानीमा रहेका सुदूरपश्चिमवासीलाई एकैठाउँमा भेला हुने अवसर प्रदान गर्ने बताउनुभयो । “गौरा हाम्रो भेटघाट गराउने तथा सांस्कृतिक र मौलिक पर्व हो । यसलाई हामी आपसमा मिलन गराउने पर्वका रूपमा लिने गरेका छौँ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार रोजगारी, अध्ययन तथा विभिन्न कामका कारण आफ्नो जन्मथलोबाट टाढा रहेका व्यक्ति गौरा पर्वका अवसरमा एकैठाउँमा भेला हुँदा गाउँघरको सम्झना ताजा हुनुका साथै आपसी आत्मियता बढ्ने गरेको छ । राजधानीमा रहेका आफन्त, साथीभाइ तथा गाउँठाउँका चिनजानका व्यक्तिसँग भेटघाट हुने भएकाले गौरा पर्वको दिन खुला मञ्चमा ठूलो सङ्ख्यामा मानिस जम्मा हुने गरेका छन् ।

गौरा पर्व धार्मिक आस्था र सांस्कृतिक परम्परासँग गहिरोसँग जोडिएको पर्व हो । यस पर्वमा व्रतालु महिलाले धार्मिक परम्पराअनुसार धान, साउँ, तिल, अपामार्गलगायत सामग्री प्रयोग गरी गौरा देवी अर्थात् पार्वती र महेश्वर अर्थात् शिवको मूर्ति बनाउने र विधिपूर्वक पूजा गर्ने चलन छ ।

गौरा पर्वमा बिरुडाको विशेष महत्त्व रहेको छ । पाँच प्रकारका गेडागुडी मास, गहत, गहुँ, केराउ तथा चना/गुराँस मिसाएर बिरुडा बनाउने गरिन्छ । बिरुडालाई प्रसादका रूपमा ग्रहण गर्ने, आफन्त तथा छरछिमेकमा बाँड्ने र पूजाआजापछि टाउकोमा राख्ने परम्परा रहेको महिला खिमादेवी विष्टले जानकारी दिनुभयो ।

गौरा पर्वका धार्मिक तथा सांस्कृतिक गतिविधिसँगै देउडा खेलले पर्वको रौनक बढाउने गरेको छ । देउडामा सहभागी महिला तथा पुरुषले हातमा हात समाएर गोलाकार घेरा बनाउँदै गीत गाउने र ताल मिलाएर नाच्ने गर्छन् । देउडामा प्रेम, संस्कृति, सामाजिक सम्बन्ध, दुःखसुख, गाउँघर तथा समसामयिक विषयसमेत समेटिने भएकाले यसलाई सुदूरपश्चिम र कर्णालीको मौलिक लोकसंस्कृतिको महत्त्वपूर्ण अभिव्यक्तिका रूपमा लिने गरिन्छ ।

काठमाडौँमा आयोजना हुने गौरा पर्वले राजधानीमा रहेका सुदूरपश्चिम तथा कर्णालीवासीलाई आफ्नो मौलिक संस्कृति संरक्षण र पुस्तान्तरण गर्ने अवसरसमेत प्रदान गरेको छ ।

विशेषगरी नयाँ पुस्ताका युवायुवती देउडा खेलमा उत्साहपूर्वक सहभागी हुन थालेपछि आफ्नो भाषा, वेषभूषा, कला, संस्कार र परम्परालाई राजधानीमै निरन्तरता दिने वातावरण बनेको सहभागीको भनाइ छ ।

गौरा पर्वका अवसरमा परम्परागत पहिरनमा सजिएका महिला तथा पुरुषको उपस्थितिले खुलामञ्च थप आकर्षक बनेको थियो । देउडाको लयमा रमाइरहेका युवायुवती तथा उनीहरूको प्रस्तुति हेर्न पुगेका दर्शकका कारण खुलामञ्चमा दिनभरजसो उत्सवमय वातावरण देखिएको छ ।

गौरा पर्वले धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई जोड्नुका साथै आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई बलियो बनाउने सहभागीको विश्वास छ । काठमाडौँमा रहेका सुदूरपश्चिम र कर्णालीवासीले राजधानीमा सामूहिक रूपमा गौरा मनाउँदा आफ्नो जन्मभूमि, संस्कृति र परम्परासँगको सम्बन्ध अझ प्रगाढ हुने गरेको बताउँछन् ।

यसरी रोजगारी, अध्ययन र विभिन्न पेसा, व्यवसायका कारण आफ्नो थातथलोबाट टाढा रहेका सुदूरपश्चिम तथा कर्णालीवासीका लागि गौरा पर्व केबल धार्मिक अनुष्ठानमा सीमित नभई आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राख्ने महत्वपूर्ण अवसरका रूपमा स्थापित हुँदै गएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १ हजार ३३१ पुग्यो, १३ हजार १०१ जनाको सकुशल उद्धार
२०८३ भाद्र २०, शनिबार
ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा
२०८३ भाद्र २०, शनिबार
बाढी प्रभावित घाइतेको उपचारमा सहयोग गर्न एमालेको रक्तदान कार्यक्रम
२०८३ भाद्र २०, शनिबार
हालैको प्राकृतिक विपत्तिबाट भएको क्षति अकल्पनीय : अध्यक्ष ओली
२०८३ भाद्र २०, शनिबार
युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने
२०८३ भाद्र २०, शनिबार
वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
२०८३ भाद्र २०, शनिबार
नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
२०८३ भाद्र २०, शनिबार