भाद्र २२, २०८३ सोमबार September 7, 2026

एनभीएलमा अन्नपूर्णको लगातार दोस्रो जित, मधेश वारियर्सको लगातार तेस्रो हार

एनभिएलको फाइनल भदौ २८ गते हुने तालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित निकालेको छ। सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा भएको खेलमा अन्नपूर्णले मधेश वारियर्सलाई ३–१ को सेटमा पराजित गरेको हो।

अन्नपूर्णले पहिलो सेट २५–१६ ले सहजै आफ्नो पक्षमा पार्दै खेलमा अग्रता बनाएको थियो। दोस्रो सेटमा भने मधेशले उत्कृष्ट पुनरागमन गर्दै ३१–२९ ले जित निकालेर खेल १–१ को बराबरीमा पुर्‍यायो।

त्यसपछि अन्नपूर्णले तेस्रो सेट २५–२२ र चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै खेल ३–१ ले जित्यो। अन्नपूर्णका मंगोलियन खेलाडी उरानबायर ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनी लगातार दोस्रो खेलमा उक्त पुरस्कार जित्न सफल भएका हुन्।

यससँगै अन्नपूर्णले तीन खेलबाट दुई जित हात पारेको छ। प्रतियोगिताको पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसँग ३–१ ले पराजित भएको थियो। त्यसपछि आइतबार अन्नपूर्णले काठमाडौँ रेड्सलाई ३–० को सोझो सेटमा हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो।

उता, मधेश वारियर्सका लागि भने प्रतियोगिताको सुरुवात निराशाजनक बनेको छ। तीन खेल खेलेको मधेशले अहिलेसम्म कुनै खेल जित्न सकेको छैन। पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग ३–१ तथा दोस्रो खेलमा काठमाडौँ रेड्ससँग ३–२ ले पराजित भएको मधेश सोमबार अन्नपूर्णसँग पनि ३–१ ले पराजित भएपछि लगातार तेस्रो हार बेहोर्न पुगेको हो।

नेपाल भलिबल संघको सहयोग तथा केडिया ग्रुपको आयोजनामा भइरहेको एनभिएलमा ६ पुरुष टोली सहभागी छन्। प्रतियोगिता सिंगल राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन भइरहेको छ। लिग चरणमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।

प्रतियोगिताको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ। विजेता टोलीले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। एनभिएलको फाइनल भदौ २८ गते हुने तालिका रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया