भाद्र ३१, २०८३ बुधबार September 16, 2026

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङमा यो वर्षको साउनयता मात्रै २८२ जनामा पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागलुङ, ३१ भदौः नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन् ।

जिल्ला सदरमुकाम बागलुङ बजारमा तीव्र रुपमा डेङ्गु फैलिएको छ । बागलुङमा साउनयता मात्रै एक हजार ४०३ जनामा डेङ्गु फैलिएको छ । जुन तथ्याङ्क नेपालमा नै उच्च रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

बागलुङ जिल्ला सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा मात्रै एक हजार २२४ जनामा सङ्क्रमण पुष्टि भएको हो । सदरमुकाममा हाल घरैपिच्छे डेङ्गु सङ्क्रमण फैलिएपछि उच्च सतर्कता अपनाइएको छ । दैनिकजसो डेङ्गु फैलाउने लामखुट्टे खोज र नष्ट गर अभियान चलाइए पनि सङ्क्रमण बढिरहेको पाइएको छ ।

गत वर्ष पाँच जनामा देखिएको स्क्रब टाइफसको सङ्क्रमण बागलुङमा यो वर्षको साउनयता मात्रै २८२ जनामा पुष्टि भएको छ । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङ्कले देखाउँछ । स्क्रब टाइफसको ५० प्रतिशत सङ्क्रमित गलकोट नगरपालिकामा देखिएको छ ।

नेपालमै सबैभन्दा बढी डेङ्गु फैलिएको जिल्लाका रुपमा बागलुङ र पालिकाका रुपमा बागलुङ नगरपालिका रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो । उहाँले बागलुङ डेङ्गुसहित स्क्रब टाइफसको उच्च जोखिममा रहेको छ ।

“हामीले उच्च सतर्कता अपनाउँदै गए पनि सङ्क्रमणको दर उच्च रहेको छ भने धौलागिरि अस्पतालमा डेङ्गुका बिरामीको चाप उच्च रहेको छ,” शर्माले भन्नुभयो, “बागलुङ बजारमा लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्नेसँगै ग्यारेजका टायरसमेत जफत गर्न थालिएको छ ।”

जिल्ला सदरमुकाममा दैनिक ३० देखि ५० जना सम्ममा डेङ्गु देखिन थालेको धौलागिरि अस्पताल बागलुङका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिनुभयो । डेङ्गु नियन्त्रणमा तदारुकता नदेखाउने ग्यारेजबाट चार ट्याक्टर टायर जफत गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । राससबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया