काठमाडौँ। जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाली राष्ट्रिय टोलीले लगातार दोस्रो हार व्यहोरेको छ। बिहीबार भएको समूह ‘ए’को दोस्रो खेलमा नेपाल इन्डोनेसियासँग ३–० को सोझो सेटमा पराजित भएको हो।
पार्क एरिना कोमाकीमा भएको खेलमा नेपालले पहिलो सेट २५–१२ ले गुमाएको थियो। दोस्रो सेटमा भने नेपाली टोलीले सुधारिएको प्रदर्शन गर्दै इन्डोनेसियालाई दबाबमा राखे पनि २५–२१ ले पराजित भयो। तेस्रो सेटमा पनि इन्डोनेसियाले २५–२० को जित निकाल्दै खेल आफ्नो पक्षमा पार्यो।
यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पनि ३–० को सोझो सेटमा पराजित भएको थियो। जापानले नेपाललाई २५–८, २५–१२ र २५–११ ले हराएको थियो। लगातार दुई हारसँगै तीन टोली रहेको समूह ‘ए’बाट नेपालको क्वार्टरफाइनल यात्रा समाप्त भएको छ। जापान र इन्डोनेसिया भने शीर्ष दुईमा रहँदै क्वार्टरफाइनलमा पुगेका छन्।
अब नेपालले नवौँदेखि १४औँ स्थानसम्मको वरीयता निर्धारणका लागि क्लासिफिकेसन खेल खेल्नेछ। नेपालको अर्को प्रतिद्वन्द्वी समूह चरणका बाँकी खेल सकिएपछि टुंगो लाग्नेछ।
एसियाली खेलकुदको महिला भलिबलमा १४ टोली सहभागी छन्। नेपालले यसअघि सन् २०२३ मा चीनको हाङ्झाउमा भएको १९औँ एसियाली खेलकुदमा सहभागिता जनाउँदै ११औँ स्थान हासिल गरेको थियो।
यसपटकको एसियाडमा महिला भलिबल प्रतियोगिता औपचारिक उद्घाटनअघि नै सुरु भएको हो। २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन सेप्टेम्बर १९ मा हुने कार्यक्रम छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया