असोज २, २०८३ शुक्रबार September 18, 2026

१५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

अस्पतालको उद्घाटनसँगै स्वास्थ्य सेवा पनि सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बिजुवार, असोज २ गते । प्यूठानको गौमुखी गाउँपालिकामा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा आएको छ ।

१९ करोड ३ लाख ४५ हजार ५५२ रुपियाँको लागतमा निर्माण भएको अस्पताल सञ्चालनका लागि चालु आर्थिक वर्ष २०८३।८४ मा गाउँपालिकाले एक करोड रुपियाँ विनियोजन गरेको छ ।

गाउँपालिकाले अस्पतालमा एक जना मेडिकल अधिकृत (एमबीबीएस), तीन जना स्टाफ नर्स र ल्याब टेक्निसियन नियुक्त गरेको छ । फार्मेसी सेवा सञ्चालनका लागि आवश्यक प्रबन्धसमेत गरिएको गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले जानकारी दिनुभयो । अस्पतालको उद्घाटनसँगै स्वास्थ्य सेवा पनि सुरु भएको छ ।

शुक्रबार अस्पतालको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारलाई प्राथमिकता दिएको बताउनुभयो ।

अस्पतालका लागि आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण र औषधि व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले जनाउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र पुनले अस्पताल सञ्चालनसँगै जनशक्ति र उपकरण व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभयो ।

प्यूठानका नौ स्थानीय तहमध्ये तीन स्थानीय तहमा आधारभूत अस्पतालका भवन निर्माण सम्पन्न भएका छन् भने थप तीन स्थानीय तहमा अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

कार्यक्रममा गाउँपालिकाले अस्पतालका लागि आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन गर्नुका साथै विभिन्न आयोजनालाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गर्न मुख्यमन्त्रीसमक्ष माग गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया