काठमाडौँ। ‘इमाजिन वन एसिया’ नारासहित २०औँ एसियाली खेलकुद आजदेखि जापानको नागोयामा औपचारिक रूपमा सुरु हुँदैछ।
आइची–नागोया एसियाडको उद्घाटन समारोह नागोयास्थित पालोमा मिजुहो रङ्गशालामा हुनेछ। उद्घाटन समारोहमा जापानका सम्राट् नारुहितो र साम्राज्ञी मासाकोको पनि उपस्थिति रहने बताइएको छ। उद्घाटनका लागि जापानले १० हजार प्रहरी तथा सुरक्षाकर्मी परिचालन गरेको छ।
एसियाली खेलकुदमा एसियाका १७ हजारभन्दा बढी खेलाडी सहभागी हुँदैछन्। यसपटक ४३ खेलका ७१ विधामा ४ सय ६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। नागोयाबाहेक टोकियो, सिजोका, गिफु र ओसाकामा पनि केही खेल आयोजना गरिनेछ।
महिला क्रिकेट, महिला फुटबल, टेकबल, बास्केटबल, आधुनिक पेन्टाथलन, महिला भलिबल र सफ्ट टेनिसका खेल भने उद्घाटनअघि नै सुरु भइसकेका छन्।
नेपालले आइची–नागोया एसियाडमा २१ खेलमा सहभागिता जनाउँदैछ। नेपालका १ सय ३५ खेलाडी जापान पुगेका छन्। यसपटक नेपालले स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्य राखेको छ।
नेपाली खेलाडीले पछिल्ला तीन वर्षदेखि एसियाडका लागि तयारी गर्दै आएका छन्। पछिल्लो दुई महिनादेखि अधिकांश खेलका खेलाडी उच्चस्तरीय बन्द प्रशिक्षणमा थिए। केही खेलाडी वैदेशिक प्रशिक्षणपछि जापान पुगेका छन्।
उद्घाटन समारोहमा राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मानमती विष्ट र बक्सर चन्द्रबहादुर थापामगरले नेपालको राष्ट्रिय झन्डा बोक्नुहुनेछ।
नेपाल पहिलो एसियाली खेलकुददेखि नै सहभागी हुँदै आएको छ। दोस्रो संस्करणबाहेक नेपालले सबै संस्करणमा सहभागिता जनाएको छ। नेपालले सन् १९८६ को सोल एसियाडदेखि लगातार पदक जित्दै आएको छ।
एसियाली खेलकुदमा नेपालले अहिलेसम्म स्वर्ण पदक भने जित्न सकेको छैन। नेपालले तीन रजत र २३ कांस्य गरी कुल २६ पदक जितेको छ। पछिल्लो संस्करणमा कराँतेकी एरिका गुरुङले जितेको रजत नेपालका लागि एसियाडको सबैभन्दा ठूलो उपलब्धिमध्ये एक हो।
यसपटक नेपालले कराँते, उसु, बक्सिङ र क्रिकेटलगायत खेलबाट पदकको अपेक्षा गरेको छ। नेपाली टोलीको मुख्य लक्ष्य पहिलो पटक स्वर्ण पदक जित्नु र पदक जित्ने क्रमलाई निरन्तरता दिनु रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया