असोज ४, २०८३ आइतबार September 20, 2026

आठ हजार पशुमा निःशुल्क कृत्रिम गर्भाधान

१४ वटै वडामा रहेका चार केन्द्रबाट नियमित रूपमा सञ्चालन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फिदिम, असोज ४ गते । फिदिम नगरपालिकाले पछिल्ला तीन आर्थिक वर्षमा नगर क्षेत्रको आठ हजारभन्दा बढी गाईभैँसीमा निःशुल्क कृत्रिम गर्भाधान गरेको छ । उन्नत पशुवंश विकास गर्दै  दैनिक  ५० हजार लीटर दूध उत्पादन गर्ने लक्ष्यले नगरपालिकाले कृतिम गर्भाधानमा जोड दिइरहेको छ ।

नगरपालिकाका अनुसार आर्थिक वर्ष २०८०–८१ मा एक हजार ३००, २०८१–८२ मा तीन हजार २१४ र २०८२–८३ मा तीन हजार १९१ पशुमा कृत्रिम गर्भाधान गरिएको थियो । चालु आर्थिक वर्षमा समेत हालसम्म ३०० भन्दा बढी पशुमा सेवा प्रदान गरिसकिएको छ ।

गाईमा होलिस्टिन र जर्सी साँढेको तथा भैँसीमा मुर्रा राँगाको वीर्य प्रयोग गरिन्छ । राष्ट्रिय पशु प्रजनन कार्यालय, लाहानबाट ल्याइएको वीर्य वैज्ञानिक विधिबाट विशेष उपकरणमार्फत गर्भाधान गरिने गरिएको छ । नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाका पशु सेवा प्राविधिक नारायणकुमार थापाका अनुसार सेवा १४ वटै वडामा रहेका चार केन्द्रबाट नियमित रूपमा सञ्चालन हुँदैआएको छ ।

निःशुल्क सेवा सुरु भएपछि किसानको कृत्रिम गर्भाधानप्रति आकर्षण उल्लेख्य रूपमा बढेको छ । उन्नत जातका बाछाबाछी उत्पादन समेत हुन थालेसँगै व्यावसायिक पशुपालन विस्तार हुने विश्वास किसानले गरेका छन् । फाइदाका हिसावले भैसीभन्दा गाईबाट बढी आम्दानी हुने भएकाले गाईकै कृत्रिम गर्भाधानतर्फ किसानको आकर्षण बढी छ ।

फिदिम–२ साम्दिनका किसान भवानी काफ्लेका अनुसार उन्नत जातका गाईले दैनिक २० लिटरसम्म दुध दिन्छन् । स्थानीय जातका गाईबाट भने अधिकतम १० लिटर मात्रै उत्पादन हुन्छ । उन्नत बाछी छिट्टै हुर्किने, रोग प्रतिरोधी हुने र कम समयमा उत्पादन दिन थाल्ने उहाँले बताउनुभयो ।

नगरपालिकाका अनुसार हालसम्म निःशुल्क कृत्रिम गर्भाधानबाट करिब तीन हजार उन्नत जातका बाछी उत्पादन भइसकेका छन् । ती दुधालु गाई बनेपछि उत्पादनमा धेरै वृद्धि हुने अपेक्षा गरिएको छ । प्रतिगाई दैनिक २० लिटरका दरले दुध उत्पादन भए तीन हजार गाईबाट मात्रै दैनिक ६० हजार लिटर दुध बजारमा पुग्ने अनुमान गरिएको छ ।

यही सम्भावनालाई आधार मानेर नगरपालिकाले आर्थिक वर्ष २०८३–८४ सम्म दैनिक ५० हजार लिटर दुध उत्पादन गर्ने लक्ष्य लिएको हो । अभियान सुरु हुनुअघि नगर क्षेत्रमा दैनिक करिब १४ हजार लिटर दुध उत्पादन हुने गरेको थियो । अहिले उत्पादन बढेर करिब ३५ हजार लिटर पुगेको नगरपालिकाको तथ्याङ्क छ ।

नगरप्रमुख मित्रप्रसाद काफ्लेले किसानको आर्थिक सशक्तीकरणलाई केन्द्रमा राखेर कार्यक्रमअघि बढाइएको बताउनुभयो । स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै पशुपालनलाई आयआर्जनको मुख्य आधार बनाउने नीति लिइएको उहाँको भनाइ छ । उहाँका अनुसार तीन हजार उन्नत बाछी दुधालु गाई बनेपछि वार्षिक एक अर्बभन्दा बढी रकम किसानको घरमा भित्रिने आधार तयार भएको छ ।

प्रतिदिन ६० हजार लिटर दुध प्रतिलिटर ५० रुपियाँका दरले बिक्री हुँदा दैनिक करिब ३० लाख र वार्षिक करिब एक अर्ब आठ करोड रुपियाँ आम्दानी हुने नगरपालिकाको अनुमान छ ।

फिदिम क्षेत्रमा हाल दुई ठुला र १० साना डेरी उद्योग सञ्चालनमा छन् । यहाँ उत्पादन भएको दुधबाट छुर्पी, पनिर, चिज, घिउ, मोही, दही र कुराउनीलगायत परिकार उत्पादन गरिन्छ । डेरी उद्योगले किसानको सवै दुध खपत गरिरहेका छन् । माग अझै पूरा हुन सकेको छैन ।

डेरी उद्योगमार्फत दुधको सहज बजारीकरण भएपछि किसान बजारको अभावमा दुध खेर जान सक्ने समस्याबाट मुक्त छन् । दुध उत्पादन, प्रशोधन र सहज बजारीकरणसँगै फिदिम दुध तथा दुग्धजन्य उत्पादनको केन्द्रका रूपमा स्थापित हुने आधार बलियो बन्दै गएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया