जुम्ला । जुम्लाको खेलकुद इतिहासमा पहिलो पटक ओपन टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा चलिरहेको बेला प्रदेश राजधानी सुर्खेतलाई छोडेर पहिलो पटक जुम्लामा ओपन टी–२० क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
‘कर्णाली प्रिमियर लिग (केपीएली)’ नाम दिइएको प्रतियोगिता युथ फर कर्णाली क्लबको आयोजनामा जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ४ स्थित हाँकु चौरमा सञ्चालन हुने भएको छ ।
यूथ फर कर्णाली क्लबद्वारा मङ्गलवार आयोजित पत्रकार सम्मेलन मार्फत खेल पर्यटनलाई प्रवर्द्धन, खेल सम्भावनाको उजागर गरी जुम्लामा पनि प्रदेश स्तरको क्रिकेट प्रतियोगिता सम्भव छ भन्ने सन्देश दिन केपीएल प्रतियोगिता जुम्लामा गर्न लागिएको आयोजकले बताएको छ ।
जुम्लामा तीन वर्ष अघि प्रदेश स्तरीय फुटबल प्रतियोगिता सदरमुकाम निर्माणाधीन राजासिममा सञ्चालन भएको थियो । त्यसयता कुनै प्रदेश स्तरका प्रतियोगिता भएका छैनन् । हालसम्म नभएको क्रिकेट प्रतियोगिता हुने कुराले जुम्लामा उत्साह छाएको छ ।
प्रतियोगिता सदरमुकाम भन्दा करिब १० किमी पश्चिम तर्फ रहेको हाकुँ मैदानमा सञ्चालन गरिने आयोजकले जनाएको छ । जुम्ला तथा समग्र कर्णालीमा क्रिकेट खेलको विकास, स्थानीय प्रतिभाको पहिचान तथा प्रवद्र्धन र देशभरका खेलाडी तथा टोलीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको छ ।
युथ फर कर्णालीका अध्यक्ष मनोज भारतीले जुम्लामा पहिलोपटक ओपन टी–२० प्रतियोगिता आयोजना गर्न लागिएकाले यसलाई खेलकुदसँगै जुम्लाको पहिचान र पर्यटन प्रवर्द्धनको आयामका रुपमा हेरिएको बताउनुभयो । प्रतियोगितामा देशभरिबाटै सहभागिता जनाउन पाउने छन् । टी–२० फर्म्याटमा सेतो बल प्रयोग गरी खेलाइने प्रतियोगिताका लागि टिम दर्ताका लागि ५ हजार शुल्क तोकिएको छ । असोज २० गतेदेखी सुरु हुने प्रतियोगितामा टिम दर्ता असोज १७ गतेभित्र गर्नुपर्ने आयोजकले जनाएको जानकारी दिएको छ ।
प्रतियोगिताको विजेता टिमले १ लाख रुपैयाँ, मेडल लगायत आकर्षक पुरस्कार पाउने छ । भने, उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेता तथा उपविजेता टोलीका खेलाडीलाई पदक प्रदान गरिनेछ भने उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि थप पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी दर्ता भएका खेलाडीलाई नियमानुसार ५० हजार रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराइनेछ ।
प्रतियोगिताका खेलहरू नेपाल लाइभ मार्फत प्रत्यक्ष प्रसारण गर्ने तयारी समेत गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया