काठमाण्डौं । जापानको नागोयामा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले थाइल्यान्डमाथि जित हासिल गरेको छ । जापानको टोकाइ सिटिजन जिम्नेसियममा आज भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ स्कोरले पराजित गर्दै जित हासिल गरेको हो । खेलको पहिलो हाफमा थाइल्यान्डसँग नेपाल २४–१५ ले पछि परेको थियो ।
त्यस्तै खेलको दोस्रो हाफमा त्यसमा सुधार गर्दै नेपालले थाइल्यान्डमाथि ३१–१९ ले खेल आफनो पक्षमा पा¥यो । त्यससँगै नेपालले थाइल्यान्डमाथि समग्रमा ४६–४३ अङ्कले जित्न आफनो पक्षमा ल्याउन सफल भयो । एसियाली खेलकुदमा आशा गरिएको खेलबाट सोचेअनुसारको नतिजा नआइरहेका बेला महिला कबड्डीको उक्त जित भने नेपालका लागि निकै महŒवपूर्ण मानिएको छ ।
अघिल्लो १९ औँ संस्करणको एसियाली खेलकुदमा पनि महिला कबड्डी टोलीले नेपाललाई कास्य पदक दिलाएको थियो । जारी प्रतियोगितामा नेपाल बी समूहमा छ । नेपालको समुहमा थाइल्यान्डसँगै श्रीलङ्का र चाइनिज ताइपे छन् । लिग चरणमा नेपालले अब श्रीलङ्का र चाइनिज ताइपेसँग खेल्नेछ । त्यस्तै समूह ए मा भने इरान, भारत, बङ्गलादेश र जापान रहेका छन् । प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइलनमा पुग्नेछन् ।
नेपाल पाकिस्तानसँग पराजित
पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो पराजय हो ।
सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको थियो । जापानको टोकाइ सिटिजन जिम्नेसियममा मंगलबार भएको समूह बिअन्तर्गतको खेलमा पाकिस्तानसँग नेपाल ५८–४३ अङ्कले पराजित भएको हो ।
खेलको पहिलो हाफ नेपालले १७–३० ले गुमायो भने खेलको दोस्रो हाफमा नेपाल पुनः २६–२८ ले पछि प¥यो । नेपालले दुवै हाफमा कूल ४३ अङ्क बनाउँदा पाकिस्तानले ५८ अङ्क जोड्दै १५ अङ्कको जित निकालेको थियो । नेपालले समूह चरणकै अर्को खेल इरानसँग आजै खेल्दैछ ।
आर्या महर्जन हिट चरणबाटै बाहिरिन
पौडीको महिलातर्फको १०० मिटर फ्रिस्टाइल खेलमा नेपालकी आर्या महर्जन हिट चरणबाटै बाहिरिएकी छन् । जापानको टोक्यो एक्वाटिक सेन्टरमा आज भएको प्रतिस्पर्धामा आर्याले १ मिनेट ४.३५ सेकेन्डको समय निकालिन् । पैतीस खेलाडी सहभागी यस स्पर्धामा उनी समग्रमा ३०औँ स्थानमा रहिन् ।
यसअघि हिजो भएको खेलमा पनि आर्या ५० मिटर ब्याकस्ट्रोकमा ३३.४० सेकेन्डसहित ३१ खेलाडीमध्ये २७ औँ स्थानमा रहेकी थिइन् । हिजै भएको खेलमा नेपालका डुवाना लामा, जादेन श्रेष्ठ र एर्भिन श्रेष्ठ पनि आ–आफ्ना स्पर्धाबाट बाहिरिएका थिए । अब एसियाडमा २०२६ को पौडीतर्फ नेपालको तीन स्पर्धा मात्र बाँकी छन् । अब डुवानाले १०० मिटर ब्याकस्ट्रोक, अभिव प्रधानले ५० मिटर बटरफ्लाइ तथा जादेनले ५० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।
चन्द्रबहादुर बाहिरिए
पुरुष बक्सिङतर्फ ५५ किलो तौल समूहमा नेपाली खेलाडी चन्द्रबाहदुर थापा पराजित भएका छन् । उनी भारतीय खेलाडीसँग पराजित भएका हुन् ।
जापानको नागोयास्थित निशिओ जिम्नेसियममा आज भएको खेलमा नेपाली बक्सर थापा पहिलो चरणमै पराजित भए । उनी भारतीय खेलाडी जादुमनी सिंह मन्डेङगबामसँग ५–० अङ्कले पराजित भएका हुन् । योसँगै जारी एसियाली खेलकुदमा उनको यात्रा टुङ्गिएको छ । बक्सर थापाले गत वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न आइबा विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाललाई कास्य पदक दिलाएका थिए ।
यसैगरी सोही स्थानमा आजै भएको महिला बक्सिङतर्फ ५१ किलो तौल समूहमा नेपालकी रमिशा श्रेष्ठ पराजित भइन् । उनी भियतनामकी खेलाडी एनगुयीन थी टमसँग ५–० अङ्कले नै पराजित भइन् । अब बक्सिङमा नेपालका रविन नेपाल (९० किलो), खगेन्द्र रोकामगर (६० किलो), चन्द्रबहादुर थापा (५५ किलो), अस्मिता दुवाल (५४ किलो) र कुसुम तामाङ (६५ किलो)ले प्रतिस्पर्धा गर्न बाँकी छ ।
महिला भलिबलमा नेपाल १२औँ
महिला भलिबलमा नेपाल १२औँ स्थानमा सीमित बनेको छ । योसँगै जारी प्रतियोगितामा नेपालको महिला भलिबलको यात्रा टुंगिएको छ । यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले महिला भलिबलतर्फ ११औँ स्थान प्राप्त गरेको थियो ।
जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा आज भएको खेलमा नेपाल मङ्गोलियासँग ३–० सोझो सेटमा पराजित भएको हो । मङ्गोलियाले पहिलो सेट २५–२३ अङ्कले जित्यो । मङ्गोलियाले दोस्रो सेट २५–१७ अङ्क तथा तेस्रो सेट २५–१३ अङ्कले जित्यो ।
प्रतियोगितामा नेपालले पाँचवटा खेल खेलेको थियो । जसमध्ये एउटामा जित तथा चारवटामा पराजित भयो । समूह चरणको खेलमा नेपाल जापान र इन्डोनेसियासँग पराजित भएको थियो भने त्यसपछि नवौँदेखि १४औँ स्थानका लागि भएका खेलमा नेपालले कजाकिस्तानलाई मात्र पराजित गर्न सफल भएको थियो । हङकङसँगको खेलमा नेपाल पराजित भएको थियो ।
शारीरिक सुगठनमा भाग लिन थाइल्याण्ड जाँदै
मंगलबारदेखि सुरु हुने ५८औँ एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली शारीरिक सुगठन टोली मंगलबार थाइल्याण्ड प्रस्थान ग¥यो । असोज १२ गतेसम्म बैङ्ककमा हुने उक्त प्रतियोगितामा नेपालकातर्फबाट जुनी राई, रिपु घर्ती, सगेन्द्र सिंह, परिस श्रेष्ठ, रेशम राणा, विप्लव थापा मगर र प्रनेश श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले सोमबार नै बिदाइ गरेका थिए ।
उक्त प्रतियोगिताका लागि टोली प्रमुखमा राजेशबाबु श्रेष्ठ, अफिसियलमा विजयलाल कायस्थ र दिनेशकुमार राजभण्डारी तथा प्रशिक्षकमा रुजेश शाही, टिम व्यवस्थापकमा राजेशबहादुर श्रेष्ठ र निर्णायकमा प्रतापकाजी बरिया सहभागी छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया