काठमाडौं। वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा परम्परागत इन्द्रजात्रा पर्व मनाइँदै छ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो ऐतिहासिक तथा सांस्कृतिक पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका क्षेत्रमा भव्यताका साथ मनाउने गरिन्छ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि (इन्द्रध्वजोत्थान) औपचारिक रूपमा प्रारम्भ हुने यो जात्रा आठ दिनसम्म मनाउने प्रचलन रहेको छ। इन्द्रजात्रका अवसरमा सरकारले काठमाडौं उपत्यकामा आज सार्वजनिक विदा पनि दिएको छ।
सो क्रममा लिंगोको फेदमा भैरवको पूजाआजा गर्नुका साथै विभिन्न प्रकारका परम्परागत नाचगान, जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा तथा देवीदेवताको पूजा-आराधना गर्ने गरिन्छ।
पौराणिक मान्यता अनुसार शत्रुमाथि विजय प्राप्त गरेपछि खुसीयाली मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउन थालिएको विश्वास गरिन्छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया