असोज १२, २०८३ सोमबार September 28, 2026

अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता सुरु हुँदै

प्रतियोगिताको विजेताले सात लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रुपन्देही । बुटवलमा आजदेखि मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता-२०८३ सुरु हुँदैछ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने प्रतियोगिता असोज १७ गतेसम्म बुटवल मण्डपमा सञ्चालन हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ३ बजे बुटवल मण्डपमा गर्ने कार्यक्रम रहेको अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो । लगातारको वर्षा र प्रतिकूल मौसमका बाबजुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय भलिबल विभागका उपप्रमुख बुद्धि बश्यालले जानकारी दिनुभयो  । उहाँका अनुसार प्रतियोगिताका लागि बुटवल मण्डपमा करिब चार हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ ।

खेलमैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको म्याट बिछ्याउने तथा खेलाडी र प्राविधिक व्यवस्थापनलगायतका तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालका पाँच, भारतका दुई र श्रीलङ्काको एक गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, मणिमुकुन्द भलिबल क्लब, सभापोखरी भलिबल क्लब र गल्कोट भलिबल क्लब सहभागी हुनेछन् ।

त्यस्तै, भारतबाट गुजरात स्टेट भलिबल एसोसिएसन र खैरा क्लब पञ्जाब तथा श्रीलंकाबाट श्रीलंका पुलिस क्लबले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार प्रतियोगिताको विजेताले सात लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ७५ हजार र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, ब्लकर र डिफेन्डरलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई पनि पाँच हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।

ट्रफी, मेडल, प्रमाणपत्र तथा विभिन्न विधाका पुरस्कारसहित प्रतियोगितामा पुरस्कार तथा सम्मानतर्फ कुल ३१ लाख ६१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सहभागी खेलाडी, निर्णायक तथा प्राविधिक जनशक्तिका लागि दुर्घटना बीमाको व्यवस्थासमेत गरिएको अध्यक्ष आचार्यले बताउनुभयो  ।

प्रतियोगिता सञ्चालनका लागि एक करोड ५३ लाख ४४ हजार ९ सय रुपैयाँको बजेट अनुमान गरिएको छ । जसमध्ये खेलाडी, अफिसियल तथा आयोजक व्यवस्थापनतर्फ ५६ लाख २३ हजार ९ सय रुपैयाँ, यातायातमा १० लाख रुपैयाँ, कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा २७ लाख ६० हजार रुपैयाँ, प्रचारप्रसार तथा सञ्चारमा १३ लाख ७५ हजार रुपैयाँ र विविधतर्फ १४ लाख २५ हजार रुपैयाँ छुट्याइएको छ ।

प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, स्थानीय सरकार, कर्पोरेट प्रायोजक, बैङ्क तथा वित्तीय संस्थालगायतका स्रोतबाट आर्थिक व्यवस्थापन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय रेफ्री चन्द्र बदना राई रेफ्री डेलिगेटका रूपमा रहनेछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीको सहभागिताले बुटवलमा भलिबल खेलको वातावरण थप विस्तार हुने आयोजकको अपेक्षा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै
२०८३ असोज १२, सोमबार
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार
पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु
२०८३ असोज १२, सोमबार
अविरल वर्षाले विद्युत् संरचनामा क्षति
२०८३ असोज १२, सोमबार