असोज १४, २०८३ बुधबार September 30, 2026

वन्यजन्तु अपराध नियन्त्रणका लागि पत्रकार र संरक्षणकर्मीबीच छलफल

वन्यजन्तुसम्बन्धी समाचार सङ्कलनका विभिन्न पक्षमा प्रशिक्षण तथा अन्तरक्रिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ललितपुर, १३ असोजः मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुको अवैध व्यापार र चोरी, सिकार नियन्त्रणका विषयमा सञ्चारकर्मी र संरक्षणकर्मीबीच छलफल भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सोमबार आयोजना गरेको छलफलमा पत्रकार तथा संरक्षण क्षेत्रमा कार्यरत विज्ञ र अभ्यासकर्तालाई एकै ठाउँमा ल्याई वन्यजन्तु संरक्षणसम्बन्धी समाचार लेखन, सूचना सम्प्रेषण, अनुभव आदानप्रदान तथा जनचेतना अभिवृद्धिका उपायबारे विचार विमर्श गरिएको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका कायममुकायम निर्देशक एवं जलवायु परिवर्तन विभागका प्रमुख डाक्टर मनिषराज पाण्डेले वन्यजन्तुसम्बन्धी विषय गहन भएको बताउँदै संरक्षणका क्षेत्रमा राष्ट्रिय क्षमता विकास गर्नुपर्ने बताउनुभयो । उहाँले ज्ञान आदानप्रदानले महत्त्वपूर्ण सफलता हासिल गर्ने उल्लेख गर्नुभयो । वन्यजन्तु चोरी सिकारी ठूलो अपराध हो भन्दै यसलाई बृहत् रुपले हेर्नुपर्ने स्पष्ट पार्नुभयो । “यसलाई वातावरणीय अपराधका दृष्टिले हेर्नुपर्छ कसरी अपराध न्यूनीकरण गर्न सक्छौँ भनेर ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ संरक्षण अधिकृत विष्णुसिंह ठकुरीले मानव–वन्यजन्तु द्वन्द्व, वन्यजन्तुको अवैध व्यापार र चोरी, सिकारका विषयलाई सञ्चारमाध्यमले कसरी तथ्यपरक, जिम्मेवार र प्रभावकारी ढङ्गले उठाउन सक्छ भन्ने विषय नै महत्वपूर्ण र प्राथमिकताको विषय रहेको बताउनुभयो ।

कार्यक्रममा वन्यजन्तु संरक्षणमा कोषले गर्दै आएका काम तथा संस्थाको भूमिकाबारे जानकारी गराउनुका साथै वन्यजन्तुसम्बन्धी समाचार सङ्कलनका विभिन्न पक्षमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो ।

कार्यशालामा कोषका संरक्षण एवं सूचना अधिकारी गोविन्दप्रसाद पोखरेलले वन्यजन्तुसम्बन्धी समाचार सङ्कलन, विषय छनोट, स्रोतको प्रयोग तथा संरक्षणका संवेदनशील विषयलाई समाचारमा प्रस्तुत गर्ने तरिकाबारे सहजीकरण गर्नुभएको थियोे ।

वन्यजन्तु अपराध नियन्त्रण कानुन कार्यान्वयन गर्ने निकाय वा संरक्षण संस्थाको प्रयासबाट मात्र सम्भव नहुने भएकाले सर्वसाधारणमा सचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहनेमा सरोकारवालाले जोड दिनुभएको थियो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया